नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच
काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो । बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो । बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या
बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने
काठमाडौं । बुधबार ब्रोकर प्रणालीमा देखिएको समस्याको समाधान भई सेयर कारोबार शुरु भएको छ । उक्त समस्या समाधान भएसँगै बुधबार साँझ ६ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । बुधबार कारोबार खुलेको करिब साढे २ घण्टा पछि ब्रोकरले कारोबार गर्ने प्रणालीमा समस्या देखिएको थियो । उक्त समस्याले गर्दा कारोबारका लागि निर्धारित समय ४ घण्टा मध्ये झण्डै एक घण्टा २० मिनेट कारोबार भएको थिएन । हालै सो समस्या समाधान भएकाले ४ः४० देखि ६ बजेसम्म(अर्थात कारोबार हुन नसकेको समय थप गरी) पुनः कारोबार शुरु गर्न नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले जानकारी गराएका छन् ।
बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या
काठमाडौं । नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ । उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।