जेबिल्स फाइनान्सको १९ लाख ७० हजार कित्ता हकप्रद सूचिकृत
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको बुधबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको छ । काठमाडौंको न्युरोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ८० लाख ९० हजार ७७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।
नेप्से १३ अंकले घट्दा लगानी कोषको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण
काठमाडौं । साताको शुरुदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २० अंकले बढेको सूचक बुधबार १३ अंकले घटेर ११५० अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशत घटी हो । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार कुल १७३ कम्पनीको ३७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा आधा अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि नागरिक लगानी कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन एक करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कोषले बोनस घोषणा गरेसँगै सेयर लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । कोषले बुधबार सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । तर बोनस घोषणापछि काराेबारमा कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १९ रुपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता २६४४ रुपैयाँदेखि कारोबार शुरु भएको कोषको सेयर मूल्य घटेर प्रतिकित्ता २६२५ रुपैयाँमा झरेको छ ।
माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल धितोपत्र बोर्डमो आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।