सेयर बजारमा छायो हरियाली, नेप्से ९ अंकले बढेर ११११ अंकमा
काठमाडौं । निरन्तर गिरावटले राताम्मे भएको बजार बुधबार भने बढेर हरियो देखिएको छ । सो दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढेको हो । परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ । सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनसीसी बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड १७ लाख र एनएमबि बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।
शिवम् सिमेन्टको आईपीओः ५ हजार २२० कित्तासम्म आवेदन दिनेले मागे जति पाए
काठमाडौं । शिवम् सिमेन्टको साधारण सेयर(आईपीओ) बाँडफाँट भएको छ । सिमेन्टले गत फागुन ६ गतेदेखि फागुन ९ गतेसम्म बिक्री गरेको उक्त आईपीओ बुधबार बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । त्यस्तै, योभन्दा बढी १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर बाडिएको क्यापिटलले जनाएको छ । यसरी बाँडफाँट गरे पश्चात ११५ कित्ता सेयर बाँकी रहेकोमा ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनाले १० कित्ता थप सेयर पाएका छन् । त्यस्तै, बाँकी ५ कित्ता सेयर पनि सोही रेन्जमा आवेदन दिएकामध्ये ५ जनाले १ कित्ताका दरले थप सेयर पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार आयोजना प्रभावित स्थानीय बासिन्दाले मागे जति नै सेयर पाएका छन् । १५ कित्तादेखि १ लाख १५ हजार कित्तासम्म सेयर हात पारेका छन् । स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता सेयर बिक्री भएको थिएन । त्यसैले उक्त बिक्री नभएको सेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको क्यापिटलले जनाएको छ ।
६० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । दिँउसोको सवा एक बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३८५ रुपैयाँ पुगेको छ ।