नेप्से २० अंकले बढेर उच्चतम बिन्दुमा, एकदिनमै कारोबार रकममा १० करोडको वृद्धि
पछिल्लाे एक महिनायताकाे नेप्से सुचाङ्क काठमाडौं । मंगलबारको नेप्से परिसूचक २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ । जुन एकमहिना यताको उच्चतम बिन्दु हो । गत फागुन १ गते ११२१ अंकमा रहेको नेप्से फागुन ७ गते बढेर ११२४ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से केहि दिनयतादेखि बढ्ने क्रममा रहेको नेप्से मंगलबार ११६३.२६ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकमपनि वृद्धि हुने क्रममा रहेको छ । सो दिन कुल १७६ कम्पनीका ५० करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १० लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा कुल ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । जसमध्ये सबैभन्दा बढी एनसीसी बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, प्रभु बैंक, अपर तामाकोशी हाइड्रोपावरको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबैसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र हिमालयन पावर पार्टनरको सेयर मूल्य क्रमशः ९.८७ र ९.५५ प्रतिशतले बढेको छ । पुँजी बजारको समस्या सम्बन्धि सकारात्मक सुधारका कार्यक्रमहरु भइरहेकाले केहि दिनदेखि सेयर बजारले गति लिन थालेको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।
अर्थमन्त्रीलाई बर्खास्त गर्ने मूख्य मागसहित लगानीकर्ताले चैत ९ गतेदेखि आन्दोलन गर्ने
काठमाडौं । पुँजी बजारका सेयर लगानीकर्ता दबाब समूहले आगामी चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उक्त समूहले अर्थमन्त्रीलाई पुँजीबजार विरोधी भन्दै बर्खास्त गर्ने मूख्य मागसहित सो दिनदेखि चैत १६ गतेसम्म ८ दिने आन्दोलन गर्ने निर्णय गरेका हुन् । यस समूहले पुँजीबजार सुधार र विस्तारका साथै लगानीकर्ताको लगानी सुरक्षाको गर्न दिएको दबाबलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै एक विज्ञप्तिमार्फत आन्दोलनमा जाने तयारी गरेको जानकारी गराएका छन् । सरकारले गठन गरेको अध्ययन समतिले दिएको ५८ बुँदे सुझाव मध्ये अधिकांश बुँदाहरु नियमनकारी निकायले वेवास्ता गरेकोले सम्पत्तिको सुरक्षा गर्नको लागि आन्दोलनमा उत्रिने निर्णय गरिएको दबाब समूहका महासचिव नयन बास्ताेलाले विज्ञप्तिमार्फत बताएका छन् । त्यसमध्ये पनि सरकारको निर्णय अनुसार वैशाख १ गतेदेखि बजारमा प्यान अनिवार्य नभई स्वेच्छिक हुनुपर्ने र साथै, सेयर बजारमा खरिद बिक्री गर्दा लिने क्यापिटल गेन ट्याक्स अन्तिम हो भन्ने प्रष्ट बनाउन लगानीकर्ताको माग रहेको अध्यक्ष हरि ढकालले विज्ञप्तिमा भनेका छन् । साथै, धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीले लगानीकर्ताको मागलाई चासो नदिएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको लगानीकर्ता दबाब समूहको गुनासो छ ।
सर्पोट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, चैत ७ गतेदेखि बुक क्लोज
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको सभा सो दिन बिहान ११ बजे सुनसरीको आइतबारेस्थित माँ कामख्या होटल त्रियुगामा बस्दै छ । सभाले संचालक समितिको सेयरधनीलाई ३ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नाघ्ने छ ।