४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।

कालिका पावरको फागुन २७ गतेदेखि बुक क्लोज

काठमाडौं । कालिका पावर कम्पनीको आगामी फागुन २७ गतेदेखि चार दिन बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन ३० गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको एघारौँ वार्षिक साधारणसभा चैत ८ गते बस्दै छ । उक्त सभा सो चितवनको भरतपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्दै छ । सभाले सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना संचालकहरु निर्वाचन गरि नियुक्त गर्दै छ ।

नेपाल इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्स लघुवित्तले ७३ करोडको हकप्रद बिक्री गर्दै, कहिलेदेखि भर्न पाइन्छ ?

काठमाडौं । बजारमा नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल ७३ करोड ३ लाख ६५ हजार १०० रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । नेपाल इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख १४ हजार ६५१ कित्ता र मेरो माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता गरी सो मात्राको सेयर निष्कासन गर्न लागेका हुन् । नेपाल इन्स्योरेन्सः नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । इच्छुक सेयरधनीले चैत २५ गतेसम्म आवेदन दिन पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सकाे हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् । मेरो माइक्रोफाइनान्सः त्यस्तै, मेरो माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि शतप्रतिशत अर्थात ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले सो मात्राको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् । संस्थाकाे हकप्रद भर्न इच्छुक सेयरधनीले आगामी चैत २४ गतेसम्म आवेदन दिन पाउने छन् । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम पनि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले नै गर्ने भएको छ ।