लगानीकर्ता भन्छन्- सेयर बजारमा प्यान अनिवार्य नभई ऐच्छिक हुनुपर्छ
काठमाडौं । सेयर बजारका लगानीकर्ताले धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) अनिवार्य रुपमा लागू नगरी ऐच्छिक रुपमा लिने व्यवस्था गरी चरणबद्ध रुपमा लागू गर्नुपर्ने बताएका छन् । सोमबार बोर्डद्धारा आयोजित ‘धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) को व्यवस्था’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा लगानीकर्ताले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच(५) वटा संस्थाका पदाधिकारीहरुका लगानीकर्ताले प्यान २०७६ वैशाख १ देखि अनिवार्य लागू नगर्न बताएका हुन् । लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षहरुलाई मध्यनजर गरी सबै लगानीकर्ताका संस्था पदाधिकारीले सो कुरा जनाएका हुन् । कार्यक्रममा सो पाँचै संघ संस्थाका पदाधिकारीहरुले लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगत लाभ कर अन्तिम कर हो कि होइन, अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा सेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वतस्फूर्त रुपमा लिने वातावरण र प्यान लिन सहज नभएको बताएका छन् । बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले कार्यक्रमबाट यसका सरोकारवाला पक्षहरुबीच स्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षको जानकारी भएको बताए । साथै, उनले सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषय समेत भएकोले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखेका छन् । नेपाल सरकारको आ.व. २०७५।७६ को बजेट कार्यान्वयन योजनाअन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीका प्रमुख कर अधिकृत टंकनाथ पौडेलले प्यान सम्बन्धी कानूनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र यो लिँदाका फाइदा सम्बन्धमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसनका साथै विभिन्न लगानीकर्ता संघ संस्थाका पदाधिकारी एवं सर्वसाधारण लगानीकर्ताहरुसहित करिब ७० जनाको उपस्थिती थियो ।
बुक क्लोज नजिकिँदै गर्दा नबिल बैंकको कारोबारमा वृद्धि, बजार ७ अंकले बढ्यो
काठमाडौं । नबिल बैंकको शेयरधनी किताब बन्द(बुक क्लोज) नजिकिँदै गर्दा कम्पनीको सेयर कारोबारमा वृद्धि भएको छ । बैंकको फागुन १४ गते(मंगलबार) बुक क्लोज हुने भएपछि सोमबार कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीको एकैदिन कूल ३ करोड ९० लाख ८३ हजार ९१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ करोड ५० लाख रुपैयाँ साधारण र एक करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) गरी सो मात्राको सेयर बिक्री भएको हो । बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । बजारमा कम्पनीको सेयर सस्तिँदै गएपछि लगानीकर्ताहरु सस्तो मूल्यमा सेयर किन्न झुम्मिएका हुन् । साथै, बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश(१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश) वितरण गर्ने भएपछि लगानीकर्ताहरुको बैंकको सेयरमा आकर्षण बढेको हो । कम्पनी आगामी फागुन २५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सोमबार पनि बैंकको साधारण सेयरको मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेर प्रतिकित्ता ७९४ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंकको संस्थापक सेयरको मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ । सोमबारको बजार ७.४१ अंकले बढेर ११०९.७३ अंकमा पुगेको छ । सो दिन कुल १६६ कम्पनीको २० करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
पाँचथर पावरको आईपीओ आजदेखि खुल्यो, एक हजारमै भर्न पाइने
काठमाडौं । पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता साधारण सेयर(आइपीओ) आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । निष्काशित सेयरमध्ये ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ । जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँकै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ६ सय २० कित्तासम्म आवेदन दिन सकिन्छ । उक्त आईपीओको बिक्री छिटोमा फागुन १६ गते र ढिलोमा चैत १२ गते निष्काशन बन्द हुनेछ । पावरको आईपीओ निष्कासनको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । केयर रेटिङ्गस् नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय विवरण औषतभन्दा कमजोर रहेको बताउँछ ।