राष्ट्र बैंकले रोक्यो स्वावलम्बनको एफपीओ, संस्थापक सेयर स्वामित्व पनि परिवर्तन नहुने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले निष्कासन गर्न लागेको थप सार्वजनिक निष्कासन(एफपीओ) प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोकेको छ । संस्थाले तत्काल जारी गर्न लागेको १० करोड ४८ लाख १४ हजार ८०० रुपैयाँ बराबरको एफपीओको अनुमतिलाई बैंकले रोक्का गरेको हो । संस्थाको संस्थापक र सर्वसाधारणको पुँजी अनुपात ७०ः३० रहेको छ । उक्त पुँजी अनुपातलाई परिर्वतन गरेर ५१ः४९ कायम गर्ने संस्थाको प्रस्तावलाई राष्ट्र बैंकले अस्वीकृत गरेको छ । यी दुबै प्रस्तावलाई यस वित्तीय संस्थाको गत पुस २६ मा सम्पन्न साधारणसभाले अनुमोदन गरिसकेको थियो । त्यसपछि अनुमतिका लागि राष्ट्र बैंकमा पेश गरेको उक्त प्रस्ताव अस्वीकृत भएको वित्तीय संस्थाले बुधबार एक सूचनाद्धारा जानकारी गराएको छ ।

बजारमा हरियाली टिक्न सकेन, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं । लामो समयपछि मंगलबार हरियाली भएको बजार बुधबार पुनः दोहोरो अंकले घटेर राताम्मे भएको छ । मंगलबार २२.४४ अंकले बढेको बजार बुधबार १२.७७ अंकले घटेर १११२.२३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि दिनानुदिन खुम्चिँदै गएको छ । बुधबारको बजारमा कुल १६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल १६२ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सेयर किनबेच भएको छ । हाइड्रोको ९३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, नबिल बैंकको ९० करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा उत्पादन मूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६७ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ८ अंकले बढेको छ ।

एकाएक किन बढ्यो मंगलबारको सेयर बजार ? यस्तो छ कारण

काठमाडौं । सेयर बजारमा लामो समयपछि हरियाली छाएको छ । निरन्तर ओरालो लागिरहेको परिसूचक मंगलबारको एकाएक २२.४४ अंकले बढेर ११२४.९६ अंकमा पुगेको छ । मंगलबार अर्थमन्त्रालयमा बसेको अर्थसमितिको बैठकमा पुँजीबजारको समस्या समाधान सम्बन्धी सकारात्मक कुराहरुमा छलफल भएकाले बजार बढेको इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । साथै, हाल बढिरहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्ने सम्बन्धि अर्थमन्त्रालयमा छलफल भइरहेकाले यसको असर बजारमा परेको उनले बताए । बजारमा कुल १६७ कम्पनीको २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको एक करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २५१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १५३ अंकले बढेर ५४३७ अंकमा पुगेको छ । उत्पादनमूलक र फाइनान्स समूह सामान्य एकल अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् । मंगलबारका बजारमा अधिकांश लघुवित्त संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता ८४९ रुपैयाँ पुगेको छ । त्यसैगरी, नयाँ नेपाल लघुवित्त विकास बैंक ७.५८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ७.१४, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.६७ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.७५ प्रतिशतले घटेको छ ।