बुटवल पावरले किन्यो हिमताल हाइड्रोपावरको ६ लाख कित्ता सेयर
काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको सेयर किनेको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार कम्पनीले हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत सेयर किनेको हो । हिमताल हाइड्रोको स्वामित्वमा रहेको सो मात्राको सेयर गत पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा सेयर स्वामित्व कायम भएको नेप्सेले जनाएको छ ।
सामान्य अंकले घटेको बजारमा कालिका लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढ्यो
काठमाडौं । बैंकिङ् प्रणालीसँग आवद्ध भइ अनलाइन कारोबार शुरू भएकाे दिनकाे सेयर बजार सामान्य अंकले घटेको छ । सामान्य उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.३६ अंकले घटेर कारोबार बन्द भएको छ । समग्रमा मंगलबारको परिसूचक अघिल्लो दिनको तुलनाममा ०.११ प्रतिशतले घटेर ११८५.९१ अंकमा अडिएको छ । बजारमा कुल १५६ कम्पनीको २२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको पनि एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उतारचढाव देखिएको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य सोमबारको तुलनामा ९१ रुपैयाँले बढेर प्रतिकित्ता १००९ रुपैयाँमा कारोबार भएको छ । बजारमा जम्मा ९ समूह कारोबारमा आएका थिए । जसमध्ये निर्जीवन बीमा ९.७२, माइक्रोफाइनान्स ३.२४ र जीवन बीमा ०.६३ अंकले उकालो लागेका छन् । बाँकी समूह सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ३.८६ अंकले घटेको छ । सो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य २.९८ प्रतिशतले घटेको छ ।
एकैदिन ५ वटा कम्पनीको बोनस सेयर पछि मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । सो मध्ये नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०.७९ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको थियो । त्यस्तै, सिटिजन्स बैंकको ३.६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता २१० रुपैयाँमा शुरु भएको छ । ४ प्रतिशित बोनस पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार बैंकको सेयर कारोबार प्रतिकित्ता १८६ रुपैयाँबाट शुरु भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता १२७ रुपैयाँ रहेको थियो । त्यसैगरी, सुमीट माइक्रोफाइनान्सको २३.५३ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पछि मंगलबार संस्थाको सेयर प्रतिकित्ता ७३९ रुपैयाँमा खुलेको छ । मंगलबार यी ५ वटै कम्पनीको सेयर किन्नेले बोनस सेयर पाउने छैनन् ।