बजार सिंगल अंकले घट्दा सबै समूह रातै, एनएमबिको सेयर मूल्य ९ प्रतिशतले घट्यो

काठमाडौं । मंगलबारको सेयर बजार सिंगल अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लाग्न शुरु गरेको मंगलबारको बजार ओरालो लागेरै बन्द भएको छ । समग्रमा सो दिनको नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३ अंकमा अडिएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । सोमबार ७९ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३७ करोड रुपैयाँले घटी हो । बजारमा १६५ वटा कम्पनीको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबि बैंकको प्रमोटर सेयर मूल्यमा गिरावट आएको छ । बैंकका संस्थापक लगानीकर्ताले एकैदिन ९.३३३३ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको साधारण सेयरको मूल्य पनि प्रतिकित्ता ४ रुपैयाँले घटेर ३३६ रुपैयाँमा झरेको छ । कारोबारमा आएका कुल १० वटा समूह सबैको सूचक राताम्मे भएका छन् । जीवन बीमा २९, निर्जीवन बीमा २४, माइक्रोफाइनान्स १३ र जलविद्युत समूह ११ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहहरु एकल अंकले घटेका छन् । उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.८५ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेपाल हाइड्रो डेभलपरले ४ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले एक करोड ९७ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो ।

तीन कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन, क-कसको कतिमा खुल्यो कारोबार ?

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै कम्पनीले बोनस पछिको सेयरको मूल्य समायोजन गरेका हुन् । मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । जसको सेयर कारोबार प्रतिकित्ता ९६९.३५ रुपैयाँमा खुलेको छ । सामायोजन पछिको पहिलो कारोबारमा संस्थाको मूल्य घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । मंगलबार संस्थाको सेयर कारोबार प्रतिकित्ता ८८६ रुपैयाँमा खुलेको छ । समायोजन पछि कारोबार भएको पहिलो दिन संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । त्यसैगरी, एनएमबि बैंकको पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३५१ रुपैयाँदेखि शुरु भएको छ । मंगलबार करिब दुई बजेसम्मको कारोबारमा यस बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँसम्ममा झरेको छ ।