६ कम्पनीको बोनस सेयर पछि मूल्य समायोजन, कसकाे कतिमा खुल्याे काराेबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । आइतबार मात्रै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी वित्तीय संस्था, सिर्जना फाइनान्स (वित्तीय संस्था), ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो । सो मध्ये फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १४८७ रुपैयाँ पुगेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२८१ रुपैयाँ रहेको थियो । त्यस्तै, आरएसडीसीको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर प्रतिकित्ता ३९८ रुपैैयाँबाट कारोबार शुरु भएको छ । १५ प्रतिशित बोनस सेयरपछि सिर्जना फाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा खुलेको छ । १६ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता २७९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३३४.१६ रुपैयाँ रहेको थियो । त्यसैगरी, नेप्सेले काबेली विकास बैंकको ३५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ रहेको थियो । साथै, १५ प्रतिशत बोनसपछि एनएमबि माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता ११६१ रुपैयाँमा खुलेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ रहेको थियो ।

पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार, यस्ता छन् प्रक्रिया

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ । गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित उक्त प्रणाली संचालनमा ल्याउन लागेको हो । साे प्रणालीलाई प्रयोग गरी कारोबार गर्न ईच्छुक लगानीकर्ताहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने नेप्सेले जनाएको छ । यस्ता छन् लगानीकर्ताले ध्यान  दिनुपर्ने कुराहरूः लगानीकर्ताले आफ्नो ब्रोकर कहाँ खोलेको कारोबार खाता(केवाईसी)लाई अद्यावधिक गर्नु पर्नेछ । साथै, हितग्राही खाता सम्बन्धी विवरण पनि अद्यावधिक गर्नुपर्ने छ । एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आवद्ध गर्नु पर्नेछ । नेप्सेले तोकेको राफासाफ बैंकमा कारोबारका लागि अलग्गै खाता खोली ब्रोकरसँग रकमान्तर गर्नु पर्नेछ । यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिनुपर्ने नेप्सेले जनाएको छ । त्यस्तै, नेप्सेका अनुसार ब्रोकरलाई अनिवार्य रुपमा आफुले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ । लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा गई अनिवार्य रुपमा तोकिएको कारोबार सदस्य ग्राहक सम्झौता गर्नु पर्नेछ । साथै, आवश्यकता अनुसार रकम जम्मा गरी ब्रोकरबाट कारोबार सीमा लिनुपर्ने नेप्सेले बताएको छ । कारोबारबाट बाँकी रकम बैंकिङ प्रणाली मार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने, यस्तो अनुरोध पठाएको २४ घण्टाभित्रै रकम प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ। त्यस्तै, हितग्राही खातामा रहेको फ्री ब्यालेन्स मात्र बिक्री गर्न सकिने, धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्ने र बिक्री कारोबार भएको भोलिपल्टसम्म बिक्री बमोजिमको इडीआईएस ब्रोकरलाई दिने नेप्सेले जनाएको छ ।

एनआईसी एशिया र सन नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट सन नेपाल लाइफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् । हाल बैंकले २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।