​​​​​​​रोहित पौडेलले फिनिक्स कलेजमा सुरु गरे व्यवस्थापन अध्ययन, कलेजले दियो पूर्ण छात्रवृत्ति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले क्रिकेट खेलसँगै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन् । क्रिकेट खेलमा शिखर चुमिरहेका कप्तान पौडेलले अब व्यवस्थापन अध्ययनमार्फत आफ्नो करियरका नयाँ आयाम खोल्न लागेको फिनिक्स कलेजले जनाएको छ । क्रिकेटको स्टारडम बीच पनि पौडेलले शैक्षिक यात्रालाई प्राथमिकता दिएका पौडेललाई स्वागत गर्दै कलेजले १०० प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको  छ । पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त छ । कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, 'हामी देशका लागि योगदान पुर्याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।' यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।

आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद सुरुआत गर्ने लक्ष्यमा रहनेछ ।  काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौंको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेट किपर), सन्नी पटेल, जोन सिम्पसन (विकेट किपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।  सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेट किपर), अविनाश बोहरा, दीपक बोहरा (विकेट किपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेट किपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेट किपर) र हिम्मत महरा छन् ।  काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

आइवर्ट नेपालको चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । आइवर्ट नेपालद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मंसिर १ गते चलचित्र विकास बोर्डमा सम्पन्न गरिएको हो । महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रहरू भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्र्रम द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’, तथा केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो । त्यसैगरी, आइवर्ट नेपालको छैटौँ लघुचलचित्र प्रतियोगितामा अन्तिम छनोटमा परेका ९ लघुचलचित्रमध्ये पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’ प्रथम, सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भएका छन् । प्रतियोगितामा आकांक्षा जिसी भुजेलद्वारा खोजमूलक पत्रकारितामा आधारित रूपमा निर्माण गरिएको वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ लाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । विजेताहरूलाई पुरस्कार, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेटभित्रका थिए । प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट रहेका थिए । यस वर्षदेखि आइवर्ट नेपालले मोबाइलबाट निर्माण भएका लघुचलचित्रहरूको पनि प्रतियोगिता आरम्भ गरेको छ । नागार्जुन नगरपालिकाको दस वटै वडाहरूमा नागार्जुन नगरपालिका र इमेज एकेडेमीसँग सहकार्यमा गत असारमा आयोजित मोबाइल फिल्म मेकिङ्ग तालिममा सहभागीहरूले बनाएका ६ लघुचलचित्रमध्ये चण्डिका केसीको ‘ओ नेगेटिभ’ प्रथम, अनुशा पौडेलको ‘मेनोपज’ दोस्रो र दिपा बलामीको ‘द मिस्ड कल’ तेस्रो भएका छन् । विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मोबाइल चलचित्रतर्फका निर्णायकहरू आइवर्ट नेपालका बोर्ड सदस्यहरू रहेका थिए । महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी पहिलो महिला कुलपति माननीय निशा शर्माले गरेकी थिइन् । कार्यक्रममा रास्वपाका पूर्व सांसद तथा चलचित्र निर्माता अशिम शाह, निफका अध्यक्ष केपी पाठक, निफका कार्यक्रम संयोजक शिव पुरी, प्रेस काउन्सिलका मदनकृष्ण सिलवाल, आइवर्ट इन्टरनेशनलकी सचिव मन्दिरा राउत, आइयुसिएन क्षेत्रीय परिषद् सदस्य रोशनी अधिकारी पाठक, फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, रेडियो सगरमाथा स्टेशन म्यानेजर उर्वशी बस्न्यात, अन्नपूर्ण नेटवर्ककी रिता अधिकारी, अर्थर अवार्डकी अध्यक्ष शिला खड्का, वरिष्ठ सर्जन डा. उत्सवमान श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमा बोल्दै कुलपति निशा शर्माले नेपाली कला क्षेत्रमा अनेकौं चुनौती भए पनि महिलाहरूको सहभागिता दिनानुदिन बढिरहेको जनाउँदै महिलाहरू कुनै पनि क्षेत्रमा पछि हट्न नहुने धारणा व्यक्त गरिन् । महोत्सवकी निर्देशक संगीता श्रेष्ठका अनुसार नेपाली चलचित्र उद्योगमा महिला निर्देशकहरू निकै कम रहेका अवस्थामा यस्ता महोत्सव र प्रतियोगिताले महिला निर्देशक तथा फिल्ममेकरहरूलाई उत्साह र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । समारोहमा श्रेष्ठद्वारा निर्देशित तथा नेपाल आदिवासी चलचित्र महोत्सव बेलायतमा ‘बेस्ट डकुमेन्ट्री फिल्म’ बनेको ‘द एभरेस्ट मम’ को नेपाल प्रिमियर पनि गरिएको थियो।  आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङका अनुसार महिला पत्रकारहरू, चलचित्र निर्माणमा रुचि राख्ने महिलाहरुको क्षमता अभिवृद्धि, उनीहरूको सिर्जनाको सम्मान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । चलचित्रमार्फत महिला सशक्तिकरण, भाषा, संस्कृति र पर्यटनको आदानप्रदान हुने पनि उनले बताइन् ।