लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का  विशाल भण्डारीलाई पक्राउ गरिएको छ ।  यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट  लागुऔषध खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–३ का एक किशोर, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट खैरो हेरोइनसहित दुई जना, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट एक, इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट  सोही लागुऔषध र नगद रु ४७ हजार ५०० सहित एक जनालाई पक्राउ गरिएको छ ।  त्यसैगरी, भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक, धरान उपमहानगरपालिका–१७ बाट दुई जना, दाङको  तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाट दुई र कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट तीन जनालाई पक्राउ गरिएको जनाइएको छ । सबै अभियुक्तहरूबाट खेरो हेरोइन बरामद गरिएको तथा उनीहरू बुधबार र बिहीबार पक्राउ परेका हुन् ।   

तराईका २१ जिल्ला तातो लहरको चपेटामा, जोगिन विभागको अनुरोध

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी बिहीबार (आज) विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ः०० बजे तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो ।  जारी विशेष बुलेटिनमा आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार आज भैरहवामा भने ४१ डिग्री तापक्रम मापन भएको छ भने नेपालगञ्जमा ४० डिग्री छ । मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ । ‘कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउनु होला’, विभागको सूचनामा उल्लेख छ । महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ ।  विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट(सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले सतर्क रहने अनुरोध गरेको छ ।  त्यस्तै, कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट(सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई सूचना अध्ययावधि सूचना हेर्न अनुरोध गरिएको मौसमविद् पुडासैनीले बताए ।  तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिनसक्ने भएकाले सोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्किन तथा हल्का लुगा (सुतीका कपडा) लगाउन मौसमविद् पुडासैनीले अनुरोध गरे ।  उनका अनुसार बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्नेछ ।

भूटानविरुद्धको खेलमा विवाद भएपछि क्यानले माग्यो माफी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली संलग्न खेलमा भूटानी ब्याटरलाई ‘टाइम–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति गम्भीर खेद प्रकट गर्दै माफी मागेको छ । क्यानका जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार आज सम्पन्न खेलमा भूटानी ब्याटरलाई जसरी आउट गरियो, त्यसले क्यानले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य–मान्यता र खेल भावनालाई प्रतिनिधित्व गर्दैन । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट भएको यस कार्यप्रति नेपाल क्रिकेट संघका तर्फबाट हामी हार्दिक माफी चाहन्छौं । यद्यपि उक्त आउट क्रिकेटको नियमभित्रै रहेर गरिएको भए तापनि खेलको वास्तविक मर्म र भावना लिखित नियमभन्दा माथि हुन्छ र हाम्रो हरेक व्यवहारमा यो सदैव झल्किनुपर्छ भन्ने कुरामा हामी दृढ छौं ।’ एक विकासोन्मुख क्रिकेट राष्ट्रको रूपमा नेपालले खेलकुद कौशल, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिँदै आएको क्यानले उल्लेख गरेको छ । यस घटनाले ती मापदण्डहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट पर्न गएको कुनै पनि प्रकारको निराशाप्रति संघले दुःख व्यक्त गरेको छ । नेपाल क्रिकेट संघले मैदानभित्र र मैदानबाहिर खेलको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।