बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । कामदार भिषामा बेलायत पठाउने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौं गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।      उनले भने, 'पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार तथा खोखालीले ११ लाख ५० हजार रुपैयाँ कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट ४२ लाख रुपैयाँ रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'      फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक आशिष खोखालीसमेत भएको ठगीसम्बन्धी कसुर मुद्दामा निजहरुलाई काठमाडौं–१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।      सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड रुपैयाँ र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।      असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख (३ हजार ६२) करदाताबाट दुई खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट तीन अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।      गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । 'बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ', वार्षिक प्रतिवेदनमा भनिएको छ ।       त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।      गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड रुपैयाँ लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।  

संसद विघटन असंवैधानिक भनेको एमालेले आव्हान गर्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ । बैठकका एजेन्डा प्रतिनिधि सभा विघटनको संवैधानिकता तथा यसबारे अदालतमा जाने–नजाने निर्णयमा केन्द्रित रहने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार पार्टीले प्रतिनिधि सभा विघटनलाई सुरुदेखि नै असंवैधानिक ठहराउँदै विभिन्न चरणमा जनपरिचालन जारी राखे पनि कानुनी चुनौती भने नदिएको भन्ने आलोचना बढिरहेको छ । नागरिक समाज र बुद्धिजीवी समूहबाट अदालतमा मुद्दा हाल्न दबाब आएपछि एमाले नेतृत्व यस विषयमा निष्कर्ष निकाल्न बाध्य बनेको बताइएको छ । बैठकले अब पार्टीले विघटनविरुद्ध कानुनी लडाइँ थाल्ने कि राजनीतिक आन्दोलनमै सीमित रहने भन्ने विषयमा औपचारिक निर्णय लिने बर्तौलाले जानकारी दिए ।