अध्यागमन विभागले भन्यो - वैदेशिक रोजगारमा जाने नेपालीले श्रम स्वीकृति र राहदानी मात्र देखाउनू
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीले श्रम स्वीकृति र राहदानी मात्र अध्यागमन विभागमा देखाउनु पर्ने भएको छ । नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल र रसिद पेश गर्नु नपर्ने भएको हो । भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणा सहित विदेश प्रस्थान सरलीकृत र व्यवस्थित रहेको विभागले उल्लेख गरेको छ । विदेश यात्रा गर्ने नेपालीले कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा जानकारी लिएर यात्रा गर्न अध्यागमन विभागले अनुरोध गरेको छ । वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी भएको सूचना तथा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान हुने नेपाली श्रमिकहरूले बिल र रसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्न मिल्ने सम्बन्धमा आम सर्वसाधारणमा उत्पन्न अन्यौलता प्रति यस विभागको ध्यानाकर्षण भएको जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना बढी कारबाहीमा
काठमाडौं । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो । यसैगरी, अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको छ । ट्राफिक कारबाहीबाट रु ११ लाख ८४ हजार ५०० राजस्व राज्यकोषमा दाखिला भएको उक्त कार्यालयले जनाएको छ ।