‘परान’ मा थपिँदै एकपछि अर्को कर्पोरेट शो
काठमाडौं : नेपाली कथानक चलचित्र ‘परान’ ले हलहलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ । रिलिज भएको पहिलो तीन दिनपछि मात्र गति समातेको थियो । चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ। उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन् । त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो सङ्गठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरुले उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त
काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ । सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।' त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे । उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।' पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।' कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।