अन्तरराष्ट्रिय उतारचढावको असर नेपालमा, तोलामा ६९ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा शनिबार सरिक भएकी छन् । नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उनले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् । नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् । नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तरराष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् । हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उनले थपिन्, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।’ पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रसन्नता पनि व्यक्त गरिन् । नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे । साथै उनको समर्पण तथा व्यक्तिगत सङ्लग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताइन् ।
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ । त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ । खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको शृङ्खलामा विगतमा झैं यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् । वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्छन् । 'निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न', उनले भने । यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उनको मत छ । पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरेका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसकेका छन् । यद्यपि उनले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउँछन् । अधिकारकर्मी डा. राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । 'जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके', उनी भन्छन्, 'त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ। यसले हामीलाई कहीँ पनि पुर्याउँदैन ।' दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैंमा टुटफुटको अवस्थामा पुगेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ । रासस