झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई सर्वसम्मत सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बिर्तामोडमा सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार उक्त क्षेत्रमा अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा पार्टी केन्द्रमा पठाइएको हो । ओली यसअघि पनि झापा–५ बाट लगातार भारी मतान्तरसहित विजयी हुँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको ठहर गर्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । शनिबार बसेको एमाले इलाम जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो । नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी यसअघि २०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका पिता तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो।  उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मतले पराजित गर्दै २७ हजार ७७२ मतसहित विजयी भएका थिए ।

साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ ।     पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।    मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।     मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।