प्रतिनिधि सभा विघटनमाथि सुनुवाइ सुरू, सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि बहस प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूमा सर्वोच्च अदालतले आजदेखि औपचारिक सुनुवाइ सुरू गरेको छ । अदालतको एनेक्स भवनमा विशेष तयारीसहित संवैधानिक इजलास गठन गरी सुनुवाइ अघि बढाइएको हो । यस विषयमा दायर भएका १६ वटा रिटहरूलाई एउटै मुद्दाका रूपमा संयुक्त सुनुवाइमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ । संविधानको गम्भीर व्याख्या–व्यवहारसँग जोडिएको यो मुद्दा हालको राजनीतिक दिशालाई नै प्रभावित गर्नसक्ने भएकाले देशको ध्यान सर्वोच्चमा केन्द्रित भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । रिट निवेदक पक्षबाट आजको दिन अधिवक्ता प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका छन् । प्रारम्भिक बहसपछि सरकारी पक्ष र अन्य रिट निवेदकका तर्फबाट पनि क्रमशः बहस चल्नेछ । यो मुद्दाको फैसलाले आगामी राजनीतिक स्थायित्व र सत्ता–संरचनामा निर्णायक प्रभाव पार्ने अनुमान विधि विज्ञहरूले गरेका छन् । 

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।     उनले भने, 'एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।'      त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ । एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए ।      'वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो । मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए । यो समस्या भने सोहीदिन समाधान भएको छ', उनले भने । रासस

प्रतिनिधि सभा विघटन मुद्दा प्रधानन्यायाधीश राउतको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भयो । फलस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।