मौन अवधिमा हालेको भिडियो हटाएपछि रतन कार्की रिहा
काठमाडौं । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमा भिडियो हालेको भन्दै टिकटकर तथा कन्टेन्ट क्रियटर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवन जिल्ला प्रहरी कार्यालयले मौन अवधिमा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने खालको भिडियो हालेका कारण नियन्त्रणमा लिएको हो । मौन अवधिमा हालेको भिडियो हटाउने शर्तमा कार्कीलाई सामान्य सोधपुछ गरेर छोडेको प्रहरीले जनाएको छ । कार्की केही समयअघिदेखि जापानमा बस्दै आएका थिए । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि मत हाल्न नेपाल आएका छन् ।
निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले छुट्टाछुट्टै सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन शतप्रतिशत मतदानको आह्वान गरेका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे । गत भदौमा विकसित विषम परिस्थितिपछि हुन लागेको यो आकस्मिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे । निर्वाचन आयुक्त डा. तुलाधरले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै समयमै मतदान केन्द्र पुग्न आग्रह गरिन् । निर्वाचनलाई मितव्ययी र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने बताउँदै उनले राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरूलाई सहयोगका लागि अपिल गरिन् । निर्वाचन आयुक्त जबराले मतदातालाई ‘अल्छी नगरी’ मतदान केन्द्रमा जान र मताधिकारको १०० प्रतिशत प्रयोग गर्न आग्रह गरे। निर्वाचनको समयमा झैझगडा र आरोप–प्रत्यारोप नगरी शान्तिपूर्ण वातावरण कायम राख्न उनले अनुरोध गरे। योग्य उम्मेदवार छनोट गरी देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उनको भनाइ थियो । आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रतिनिधिमुलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको भन्दै आयोगले कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ ।
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौं । आम निर्वाचनको आसपासमा करिव एक साता बिदा पर्यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ । करिव ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् । महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् । यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक विदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक विदाहरु अत्याधिक हुँदा काममा असर पर्न थालेको बताए । उनकाअनुसार भुगोल र जनसंख्याको हिसावले नेपाल सानो भएपनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक विदा धेरै हुन थालेको उनको भनाइ छ । विदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेको बताउँदै उनले विदाका कारण सरकारी कर्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको बताए । अध्यक्ष सिंहले भने–‘भुगोल र जनसंख्याको हिसावले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०÷३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जीडीपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ ।’ निर्माण क्षेत्रमा सार्वजनिक विदाहरुले काम गर्न धेरै कठिन भइरहेको उनको भनाइ छ ।