सक्षम छन् तर रोजगारी छैन
काठमाडौं । रुपन्देहीकी सरिता बानियाँ अहिले स्नातक तहको अध्ययन सकेर बसिरहेकी छन् । उनलाई आफूजस्ता दृष्टिविहीन बालबालिकालाई पढाउने रहर छ । शिक्षण अध्ययन अनुमतिपत्र पाएपनि अवसर भने पाउन नसकेको गुनासो उनको छ । भन्छिन्, ‘न पढ्न सजिलो छ, न त काम पाउन । जसोतसो दुःख गरी पढ्ने अवसर पाइयो तर काम भने पाइएन । अहिले म स्नातक सकेर बसेकी छु, गर्नसक्ने काम पाएको थिएँ भने यत्तिकै बस्नुपर्दैनथ्यो ।’ सरिता आफू सक्षम हुँदा पनि शारीरिक अपाङ्गता भएकै कारण काम पाउन नसकेको गुनासो गर्छिन् । सरिता जन्मँदै दृष्टिविहीन थिइन् । कक्षा १२ सम्म आँखा नदेख्ने भएपनि कानले सुन्न सक्ने हुँदा त्यत्ति समस्या भोग्नु परेन । सबैले बोलेको सुन्न सक्थिन् । परिवार साथीभाइसँग कुरा गर्न सक्थिन् । तर जब १८ वर्ष पुगिन् तब उनको कानमा पनि समस्या आउन थाल्यो । बिस्तारै कान कम सुन्न थालिन् । ‘आँखा नदेखे पनि सुन्न सक्ने र हिँड्न सक्नेसम्म रहेकोमा खुसी नै थिएँ तर, विस्तारै कान समेत कम सुन्न थालेपछि मलाई थप समस्या भयो,’ उनले भनिन् । कक्षा १२ सम्म ब्रेललिपिमा अध्ययन गर्दै आएकी सरितालाई कान सुन्न छोडेपछि अध्ययनमा समस्या भयो । किनकि स्नातक तहका पाठ्यपुस्तक ब्रेललिपिमा छैनन् । ‘ब्याचलर्समा पढ्दा शिक्षकले पढाएको कुरा सुन्ने र अन्य शैक्षिक गतिविधिका लागि तयार पारिएका अडियो सुनेरै पढ्नुपर्छ । उनले शिक्षक तथा साथीभाइहरूको सहयोगमा स्नातक तहको अध्ययन सकिन् । त्यसपछि कानको उपचारका लागि उनलाई अस्पताल लगियो । उनको कानको नसा सुक्दै जान थालेको रहेछ । अप्रेसनपछि मेसिनको सहायताले कान सुन्न सक्ने भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘पहिले कान सुन्दा, आँखा नदेखेपनि खुसी थिएँ, पढाइमा पनि सहज थियो । तर कान सुन्न छोडेपछि पढ्नमा पनि समस्या भयो, टेक्स म्यासेजमार्फत पढेर ब्याचलर्स पास गरें, अहिले फेरि कान सुन्न सक्ने भएकी छु।’ सरिता अपांगता भएका व्यक्तिलाई सरकारी र निजी संस्थाले दिने सेवाबाटै विभेद हुने गरेको बताउँछिन् । बैंकमा खाता खोल्न, मोबाइल बैंकिङमा पनि समस्या हुने गरेको भन्दै उनले बैंकबाटै सुविधा पाउन नसकेको आरोप लगाइन् । मुगुका कल बूढा भक्तपुरको सानोठिमी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । उनी पनि आँखा देख्न सक्दैनन् । दृष्टिविहीनका लागि जति शैक्षिक सामाग्री आवश्यक पर्छ त्यति पाउन नसकेको उनको गुनासो छ । ब्रेललिपिबाट कक्षा १२ पास गरेका उनी ब्याचलर्सका पाठ्यपुस्तक बे्रललिपिमा नहुँदा पढाइमा समस्या हुने गरेको बताउँछन् । ‘हामीले अडियो सुनेर पढ्नुपर्ने हुन्छ । अडियोमा पनि सीमित विषयहरू मात्र पाइन्छन् । अहिले प्रविधिले गर्दा केही सहज बनाएपनि हामीजस्ता अपांगता भएका व्यक्तिको सहजताका लागि सरकारले ध्यान दिनुपर्छ,’ उनले भने । कलले कक्षा ५ सम्म जिल्लामै पढे । त्यसपछिको शिक्षाका लागि उनी काठमाडौंमा आए । उनलाई पनि पढेर आफूजस्तै दृष्टिविहीनहरू पढाउने इच्छा छ । त्यसको लागि उनी तयारी गरिरहेका छन् । उनी आफूजस्ता धेरै बालबालिका शिक्षाको पहुँमा पुग्न नसकेको बताउँछन् । ‘अपांगता भएका व्यक्ति केही गर्न सक्दैनन्, यिनीहरूको भूमिका समाजका लागि केही हुँदैन भन्दै हामीलाई कुनै कार्यक्रममा समेत सहभागी गराउन चाहँदैनन्, यस्ता समस्या हामीले कहाँ सुनाउने ?,’ उनको गुनासो छ । सरिता, कलजस्तै शारीरिक रूपमा अशक्त, दृष्टिविहीन किशोकिशोरीले समाजले गर्ने दुर्व्यवहार, राज्यले गर्ने विभेदमा बस्नु परेको गुनासो गरेका छन् । शिक्षा प्राप्त गर्नु हरेक नागरिकको मौलिक हक हो । संवैधानिक मर्मअनुसार शिक्षामा सबैको सरल सहज र समतामुलक पहुँच सुनिश्चत गर्न नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ जारी गरेको छ । नीतिमा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूका लागि गुणस्तरिय र समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्ने स्पष्ट व्यवस्था छ । तर श्रवण, दृष्टिविहीनता लगायतका अपांगता भएका बालबालिकाहरू शिक्षाको पहुँचबाट टाढा छन् । नेपालको संविधान २०७२ को धारा ३१ विद्यालय क्षेत्र विकास योजना, दिगो विकास लक्ष्य तथा नेपालले अनुमोदन गरेको संयुक्त राष्टसंघीय अपांगता अधिकार महासन्धिको धारा २४ ले समेत अपांगता भएका व्यक्तिहरूका लागि भेदभावरहित समावेशी र गुणस्तरयि शिक्षाको सुनिश्चितता गर्ने गर्ने प्रतिवद्धता व्यक्ति गरेको छ तर श्रवण, दृष्टि विहीनता भएका बालबालिकाहरूले भने शिक्षा पहुँचमा आउन र शिक्षा प्राप्तिपछि काम पाउनै समस्या भएको बताएका छन् । नेपालमा पछिल्लो जनगणनाअनुसार १० हजार १ सय ८७ जना श्रवण, दृष्टिविहीन व्यक्तिहरू छन् । अझै धेरै व्यक्ति पहिचान र सेवाबाट वञ्चित रहेको बहिरा दृष्टि विहीन अभिभावक समाजका अध्यक्ष ल्हाक्पानेरु शेर्पा बताउँछन् । उनले यस्ता व्यक्तिहरू सञ्चार, शिक्षा लगायत विभिन्न अवसरबाट वञ्चित भइरहेकाले राज्यले प्राथामिकता दिनुपर्ने बताए । हाल काठमाडौं, कास्की, रुपन्देही, मोरङ र चितवन जिल्लामा स्रोत कक्षा तथा विद्यालय र घरमा आधारित शिक्षामार्फत तीन सय भन्दा बढी बालबालिकाले सेवा लिइरहेका भए पनि अन्य धेरै जिल्लामा सेवा विस्तार हुन सकेको छैन । दक्ष जनशक्तिको अभाव, अभिभावक तथा समुदायमा न्यून सचेतना, थेरापी सेवाको अभाव र उच्च विद्यिालय छोड्ने दर प्रमुख चुनौतीका रूपमा रहेका छन् । अभिभावकलाई उस्तै सास्ती अपांगता भएका व्यक्तिलाई मात्र नभइ उनीहरू अभिभावकलाई पनि समाजमा उत्तिकै चुनौती छ । धेरै जस्तो अभिभावकले बालबालिकाहरूका लागि शिक्षा र स्वास्थ्यको पहुँच नै नभएको गुनासो गरेका छन् भने कतिपयले सामाजिक अपहलेलना समेत भोग्नुपरेको बताउँछन् । काठमाडौंकी विमला श्रेष्ठका छोरा ६ वर्षका भए । उनी श्रवण–दृष्टि विहीनका साथै बोल्न सक्दैनन्, हिँड्न पनि सक्दैनन् । एउटै बच्चामा यतिधेरै समस्या हुँदा निकै गाह्रो हुने गरेको बताउँछिन् बिमला । ‘कतै जानुपर्दा सँगै बोक्नुपर्छ, एक मिनेट राखेर कतै जान सकिने अवस्था छैन,’ उनी भन्छिन्, ‘छोराको यस्तो अवस्थाले परिवार अनि समाजले गर्ने व्यवहार नै फरक छ ।’ बिमलालाई पहिले अपांगता के हो भन्ने थाहा थिएन । छोरालाई के भएको होला भन्ने सुरुमा पत्ता लगाउनै गाह्रो भयो । छोरा आपंगता भएको जन्मेपछि अहिले उनलाई न श्रीमानले साथ दिएका छन् त न परिवारले । इलाममा रहेको उनको परिवारले नस्वीकारेपछि उनी छोरा लिएर काठमाडौंको स्वयम्भूमा माइतीमै बसेकी छिन् । उनको छोरा ७ महिना नपुग्दै जन्मेको थिए । जन्मिँदा राम्रै भए पनि बिस्तारै उनका आँखामा सेता धर्काहरू देखिन थाले । बिमलाले यसलाई सामान्य रूपमा लिइन् । धेरैजसोले बिस्तारै सेता धर्का हट्दै जाने बताए । चार–पाँच महिना पुगेपछि बोलाउँदा पनि अर्कै ठाउँ हेर्ने, नसुन्ने, नदेख्ने गरेको जस्तो महसुस बिमलाले गरिन् । अस्पतालमा चिकित्सकले आँखाको अप्रेसन गर्नुपर्छ भने । सुरुमा आनाकानी गरे पनि बिमला बच्चाको अप्रेसन गर्न तयार भइन् र बच्चामा सकारात्मक असर देखा परेन । बिमलाका छोरा दिनहुँ बढ्दैछन् तर एकछिन काखबाट पर राख्न मिल्दैन, बेलाबेला कराउने, दाँत कड्काउने बाहेक केही गर्न सक्दैनन् । यतिसम्मकि शौच लाग्दा पनि भन्न सक्दैनन् । उनी छोरा हुर्किँदै जाँदा थप तनावमा छिन् बिमला । ‘घरपरिवारले हेला गर्यो, समाजले पूर्वजन्मको पाप भन्छ, अशक्त छोरा जन्मँदा मलाई निकै समस्या भयो, ’ उनी भन्छिन्, ‘न छोड्न मिल्ने, न पाल्न मिल्ने । एक, दुई समस्यामात्र भए पनि केही गर्न सकिन्थ्यो होला । अब छोरा कसरी पाल्ने होला ? कहिलेकाँही दिमागले काम गर्न छोड्छ ।’ उनी बोल्न पनि नसक्ने, हिँड्न पनि नसक्ने, आँखा पनि नदेख्ने यस्ता बालबालिकालाई राज्यले विशेष खालको व्यवस्था गरिदिनुपर्ने बताउँछिन् ।
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ । हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ। यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो । ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, 'औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।' यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबिबिएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उहाँको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो । 'सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबिबिएसको तयारीका लागि काठमाडौं पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौं छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किए । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो', सत्यनारायणले सुनाए । हातमा दशथोक, मनमा पुस्तक परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौंमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उजको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे। 'मैले गरिबीले काठमाडौं छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट', मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने । यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्यो । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे । सत्यनारायण भन्छन्, 'मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।' त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उहाँलाई मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो । सफलताको उडानः पहिलो प्रयासमै नाम काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा छैन । यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, 'छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।' जब प्रविधिको सहाराले ‘भाइरल’ बने सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ । सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।” उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।” आरक्षणः सीमान्तकृतका लागि वरदान सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउछन् । भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ । प्राडा मिश्र भन्छन्, 'आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ । कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।' सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ । रासस
कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट
काठमाडौं । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे बुधबार आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वचन कानुनअनुसार निर्वचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ । आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको खर्च सीमाभित्र तोकिएको समयमा आफ्नो निर्वाचनको खर्च विवरण बुझाएका तर त्यसलाई सार्वजनिक नगरेका उम्मेदवारले जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाए । उनले जरिवाना तिरेपछि सम्बन्धित उम्मेदवार कालोसूचीबाट स्वतः हट्ने र पुनः उम्मेदवार बन्न बाधा नहुने बताए ।