सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दशैंघर
भक्तपुर । हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गदर्छ । कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उनले जानकारी दिए । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उनले बताए । सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ । एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ । त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो । कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडाैंर ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताए । हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दशैं घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ । यस वर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दसँैघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ । कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइए क्वाठण्डौंस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिए । भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उनले जानकारी दिए । रासस
विपन्न ३८ परिवारले पाए खसीको मासुसहित दशैं खर्च
फाइल फोटो कास्की । अतिविपन्न र दशैं मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दशैं मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो । पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो । पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत सामग्री मङ्गलबार ती सामग्री हस्तान्तरण गरिएको हो । उनले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको जानकारी दिए । यसअघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागिसमेत सहयोग रकम पठाइएको थियो तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी अस्पतालबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताए । रासस
जनकपुरमा हर्षबढाई गर्दै भित्र्याइयो फूलपाती (फोटोसहित)
जनकपुर । नवरात्रको सातौं दिन दशैं घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सत्य सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्री भनिन्छ । कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने पुराणोक्त कथन छ । जनकपुरका प्रसिद्ध शक्तिपीठहरुमा शुभसाईतमा फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजापाठ सम्पन्न भएपछि हर्षबढाई गर्दै फूलपाति भित्र्याइएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए । सो अवसरमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतो, जनकपुरका सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरुको सहभागिता थियो । जनकको कुलदेवीको रुपमा रहेको जनकपुरको राजदेवी लगायत शक्रिपीठहरु भव्य रुपमा सजाइएको छ । युवा क्लवहरुको सहभागितामा दशैंलाई भव्यता दिने गरिएको छ ।