निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम सीमानाका बन्द गरिएको जनाएको छ । नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।     

काठमाडौंको सडक सुनसान

काठमाडौं । निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दा काठमाडौंको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि सोमबार होली पर्वका दिन पनि काठमाडौंको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन् ।  अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरु आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरुले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् ।  त्यसैगरी मतदाताहरु पनि मतदानका लागि आ-आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तीब्रता दिएका छन् । काठमाडौंको सडकमा यहाँका उम्मेदवार र उनीहरुको प्रचारका लागि हिँडेका केही गाडीहरुले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ ।  यस पटकको निर्वाचनमा राजनीतिक दलहरुले घरदैलो अभियानलाई अघि बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरुले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरु पनि कम देखिएका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरु सचेत गराउँदै आएको छ । निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होलि पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ । 

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सोमबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै  विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् । सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन् ।