मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना, दलितको नाममा अव्यवाहारिक काम

रामेछाप । जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन्। शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ। मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो। कृष्णकुमारले पाठी बलि दिन पाएनन्। त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो। दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो। छलफलमा कृष्णबहादुरको गल्ती ठहर्‍याइयो। मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे। उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए। पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए। शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर मन्दिर पुगेका थिए। मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे। अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात ९दलित० मन्दिरभित्र पस्नै नहुने, पसिस्’ भनेर मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए। सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ। तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए। मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वयविरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए। मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर मोबाइल स्विच अफ गरेर बसेका छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन। स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन्। मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए। सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेका छन्। मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। ‘मन्दिर कसैको पेवा होइन,’ उनले भने। डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताए। मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुनअनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। नयाँ पत्रिका दैनिकबाट ।

पार्टी प्यालेस चलाउँछन् सुरक्षा संगठनहरू, सुरक्षाभन्दा व्यवसायीकतामा ध्यान

काठमाडौं । मुलुकका सुरक्षा संगठनहरू आफ्नो मूख्यालयको सुरक्षा, काम र जिम्मेवारीलाई लत्याउँदै व्यवसायतर्फ लम्किएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाल प्रहरीले आफ्नो संवैधानिक दायित्वमा भन्दा बढी व्यवसायमा ध्यान दिन थालेका हुन्। नेपाली सेनाले सुन्धरास्थित जंगी अड्डा परिसरको पश्चिम भागमा रहेको ‘आर्मी अफिसर्स क्लब’ मा विवाह, बतवन्ध, किताब विमोचन, स्कुल तथा कलेजलगायतका पार्टी गर्न दिदै आइरहेको छ। सेनाले सर्वसाधारणलाई पार्टीका लागि उपलब्ध गराउने सेनाका पार्टी हल प्रधानसेनापतिको कार्यालयको करिब एक सय मिटरको फरकमा पर्छ। हलचोकस्थित एपीएफको मुख्यालय हाताभित्रै बिचमा अर्को पार्टी प्यालेस बनाइएको छ। एपीएफको मुख्यालयभित्र दिनहुँजसो पार्टी भइरहेका हुन्छन्। यस्तै, प्रदर्शनी मार्गस्थित पुलिस क्लबको हाताभित्र पनि सर्वसाधरणलाई पार्टी प्यालेसका रूपमा खुला गरिदै आइरहेको छ। पुलिसको भने पार्टी र कार्याक्रमका लागि उपलब्ध गराउने हल र मुख्यालय फरक स्थानमा छ। मुख्यालय नक्सालमा पार्टी प्यालेस छैन। मुलुकका सुरक्षा निकायहरू आफ्नो कामभन्दा आफ्नै महत्त्वपूर्ण क्षेत्रभित्र व्यवसाय गर्नु राम्रो नभएको मान्छन्, सैन्य जानकार डा. दीपकप्रकाश भट्ट। ‘कुनै बेला स्थानै नभएको बेलामा खोल्न बेस थियो। तर अहिले जताततै पार्टी प्यालेस छन्,’ उनले भने,‘सुरक्षाका हिसाबले सुरक्षा निकायहरू यसरी पब्लिक डोमेनमा जानु हुन्न।’ यस्तो प्रवृत्तिलाई रोक लगाउनु पर्ने भट्टको निष्कर्ष छ। उनले थपे,‘सुरक्षा निकायहरूलाई पैसाको कुनै कमि छैन। सरकारले पर्याप्त बजेट दिन्छ। यस्ता व्यवसायबाट उठेको पैसाले सुरक्षा निकायहरूले कुनै कल्याणकारी वा उदाहरणीय काम गरेको पनि देखिन्न।’ उनले सरक्षा संगठन र नागरिकबीचको सम्बन्ध राम्रो हुनु भनेको यसरी पार्टी प्यालेस खोलेर नभएको प्रष्ट पारे। सेनाका एक पूर्व जर्नेलले सुरक्षा निकायको हाताभित्रै रहेका संवेदनशील स्थान सर्वसाधरणलाई प्रयोगमा दिनु उचित नहुने बताए। उनले भने,‘फौजभित्रको काम पर्दा सुविधा दिन सकिन्छ। त्यो राम्रो पनि हुन्छ। तर बाहिरका लागि दिनु गतल हो।’ सुरक्षा निकायहरूले आफ्नो जवानहरूलाई पार्टी प्यालेसको काममा लगाउने गरेका छन्। सुरक्षा निकायहरूले भने यसरी पार्टी प्यालेसको रूपमा व्यवसाय गर्दा सुरक्षामा कुनै समस्या नहुने दाबी गर्छन्। सेना, प्रहरी र एपीएफले कुनै पनि कार्यक्रम दिनु अगाडी नै त्यसबारेमा मूल्यांकन गरेरमात्र दिने गरिएको दाबी गरे। सेनाका प्रवक्ता ताराबहादुर कार्कीले क्लब सञ्चालनमा छुट्टै कमिटी गठन गरिएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी उसैलाई दिइएको बताए। ‘हाम्रो क्लबको सञ्चालक समिति छ। कुन हललाई कार्यक्रम गर्न दिने वा नदिने भन्ने निर्णय सञ्चालक समितिले गर्ने हो। त्यसका लागि नियमावली र निर्देशिकासमेत बनाएका छौं। त्यसैमा रहेर शुल्क लिएर सर्वसाधरणलाई उपलब्ध गराउने हो,’ उनले भने,‘त्यहाँबाट उठेको रकमले त्यसकै मर्मत गर्न सहयोग मिल्छ।’ एपीएफका प्रवक्ता दिवाकर केसीले पनि सुरक्षा थ्रेटलाई मध्यनजर गरेरमात्र आफ्नो मुख्यालयमा पार्टी गर्न दिइने गरेको बताए। ‘हामीले पार्टीको बेलामा थप सुरक्षा संवेदनशीलता अपनाउने गरेका छौं,’ उनले भने। प्रहरीका सहायक प्रवक्ता ठाकुर ज्ञवालीले २० वर्षदेखि महेन्द्र पुलिस क्लब खुला गर्दै आइरहेको बताए। ‘भोलि कुनै भ्रष्टचार गरेको प्रमाणित व्यक्तिले आफ्नो सन्तानको विवाहमा सुरक्षा निकायका पार्टी प्यालेसमा पार्टी गर्न खोज्यो भने दिने कि नदिने रु,’ एक सुरक्षा जानकारले भने,‘उसले पनि पैसा त दिएकै हुन्छ।’ उनले भने, ‘सुरक्षामा तलमाथि भए को जिम्मेवार हुन्छ।’ कान्तिपुर दैनिकबाट ।

२ लाख ६३ हजार जोडीसँग स्मार्ट जीवन, कसरी गर्ने परिवार नियोजन ?

दाङ । नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार दाङ जिल्लामा आयोजित कृषि तथा पर्यटन प्रबद्र्धन तथा सांगीतिक महोत्सवमा स्वस्थ्य परिवारको प्रबद्र्धन सम्पन्न गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरु तथा निजी क्षेत्रका संस्थाहरुसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा बिवाहित जोडीहरुका बीचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ्य परिवारको प्रबद्र्धन गरेको थियो । यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, परिवार स्वास्थ्य विभागद्धारा यूएसएडको हेल्थ कम्यूनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागू गरिएको हो । दुई वर्षको अवधिमा यो अभियान २ लाख ६३ हजार योग्य जोडीहरुसम्म पुगिसकेको छ र १३ जिल्लाका ५१ हजार भन्दा बढि जोडिहरुलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ । कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरुको स्टल, कार्निभल गेम, प्रहशन, र सांगीतिक प्रस्तुतीको आनन्द लिएका थिए, जसले तिनीहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडिहरुलाई कसरी योजना बनाउने भनेर देखाएका थिए । विभिन्न जोडीहरु तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर निशुल्क रुपमा पारिवारिक फोटो प्राप्त गरेका थिए, तथा जीवनको विभिन्न चरणहरुमा प्रयोग गरिने अनेकौं परिवार नियोजनका विधिहरुको बिस्तृत सामाग्रीहरु प्राप्त गरेका थिए ।