उपत्यकाभित्रका २२ वटै नगरपालिकाभित्र फोहोर व्यवस्थापन हुने, २ महिनामा उपयुक्त प्रतिवेदन आउने
काठमाडौं २५, पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा दीर्घकालीन ल्यान्डफिल्ड साइटको अध्ययन गरी दुई महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्न निर्देशन गरेको छ । उपत्यकाका २२ वटै नगरपालिकालाई सफा र सुन्दर नगरपालिकाका रूपमा परिणत गर्न भन्दै मन्त्रालयले फोहोरमैला प्राविधिक सहयोग केन्द्रबाट सहयोग लिई दुई महिनाभित्र नगरपालिकाको फोहोर व्यवस्थापनको स्पष्ट कार्ययोजनासहितको प्रतिवेदन मन्त्रालमा बुझाउन २२ वटै नगरपालिकालाई निर्देशन गरेको मन्त्रालयका उपसचिव नरहरि भण्डारीले जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र भएका फोहोरको व्यवस्थापन गरी फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने कानुनी व्यवस्था भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएकाले उपत्यकाभित्रका २२ वटै नगरपालिकालाई नगरपालिकाभित्र भएको फोहोर व्यवस्थापनका लागि निर्देशन गरेको हो । हाल प्रयोगमा रहेको फोहोर व्यवस्थापनको अन्तिम विसर्जन स्थल सिस्डोल ल्यान्डफिल्ड साइडको एक हप्ताभित्र उपत्यकाका सबै कार्यकारी अधिकृतले अनुगमन गरी त्यहाँसम्म जाने सडकको व्यवस्थापन गर्न संयुक्त कोषको स्थापना गर्नुपर्ने, सार्वजनिक तथा निजी सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि नगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहोर राख्ने स्थान तोकी फोहोर उठाउनुपर्ने निर्देशन गरेको भण्डारीले जानकारी दिए। मन्त्रालयको उक्त निर्देशन नगरपालिकाले कार्यान्वयन गर्न सुरु गरिसकेको भण्डारीको भनाइ छ ।गोरखापत्र दैनिकबाट ।
निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
काठमाडौं, २१ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा शान्तिनगरस्थित रहेको निःसहाय सेवा सदनलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदनमा आश्रय लिइरहेका ४५ जना वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पनि निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको थियो । बैंकले १०औँ वार्षिकोत्सव कै अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
मुस्ताङमा प्रभुको निःशुल्क आखाँ शिविर सम्पन्न
काठमाडौं, २० पुस । प्रभु बैंकले मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बैंकले १२ वर्षे मेला ल्ह्फेव को अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त शिविरमा १५० जना आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु, जदविन्दु आदिको चिकित्सा सल्लाह तथा सुझाबबाट लाभान्वित भएका छन् । बैंकले आगामी दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।