बेलकोटगढीमा अत्याधुनिक पुस्तकालय, सडक नबनाएकाेमा एमालेलाई गाली गर्दै काँग्रेस नेताहरु हेलिकप्टरमा सवार
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. २ स्थिति जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्दको नवनिर्मित भवनको गत विहीबार उद्घाटन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र एएसविका एशिया कार्यक्रम संयोजक मार्टिन कुंशटमानबाट संयुक्त रुपमा पुस्तकालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। २०६९ कात्तिक १८ गते औपचारिक रुपमा उद्घाटन भई सञ्चालनमा आएको यस पुस्तकालयको भवन २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पले भत्किएपछि पुर्ननिर्माण गरिएको हो । रिड नेपाल र एएसबीको आर्थिक तथा प्रविधिक सहयोगमा २ करोड ७५ लाख २७ हजार ५० रुपैयाँ बजेटमा बनेकाे याे पुस्तकालय नुवाकोटको मात्र नभई नेपालकै नमूना पुस्ताकलाय भएको रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले बताए । नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालयमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष रहेको उनले बताए । दुर्इ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्ने उनले बताए । एएसविका मार्टिन कुंशटमानले भूकम्पपछि स्थानीय समूदायले अस्थायी पुस्तकालय बनाएर प्रयोग गरेको देखेपछि आफू निकै प्रभावित भएको र भूकम्पप्रतिरोधी तथा अपाङ्गता मैत्री पुस्तकालय भवन निर्माणमा सहयोग गरेको बताए । कुल २ करोड ७५ लाख २७ हजार रुपैयाँ बजेट मध्ये १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको र बाँकी रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आईसिटि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदमा खर्च हुने उक्त कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए । स्थानीय सुभद्रा देबी तिमल्सिनाले १ रोपनी जग्गा दान गरी निर्माण गरिएको पुस्तकालय भवन थप ४ आना जग्गा पुस्तकालय आफैले खरीद गरी २० आना बराबरको क्षेत्रफलमा नयाँ भवन निर्माण गरिएको छ । बहिस्कार र आरोप–प्रत्यारोप पुस्तकालय उद्घाटन गर्न कांग्रेस नेता प्रकाशमान सिंह, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, नेविसंघका यूपी लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर कुमरीमा अवतरण गरेको थियो । तर नुवाकोट जिल्लाबाट प्रतिनिधित्व जनप्रतिनिधिहरु उद्घाटन कार्यक्रममा सहभागि भएनन् । पुस्तकालय व्यवस्थापन समितिको कमजोरीका कारण केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने २ सांसद, प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ४ सांसद, नगरपालिकाका मेयर, उपमेयरसहित सबैले उद्घाटन कार्यक्रम बहिष्कार गरेको पुस्तकालयका कोषाध्यक्ष तथा बडा नम्बर २ का अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘यस वडामा सुविधा सम्पन्न पुस्तकालय बनेकोमा हामी सबै खुशी छौं । तर यस पुस्तकालयको उद्घाटन कार्यक्रममा मेयर, उपमेयर, सम्पूर्ण सांसद तथा जनप्रतिनिधिको अनुपस्थितिले पुस्तकालयको दीगो सञ्चालनमा कठिन बन्ने देखिएको छ’ उद्घाटन कार्यक्रममा संबोधन गर्दै न्यौपानेले भने । पुस्तकालय उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस नेता जनदीश्वर नरसिंह केसीले एमाले नेतृत्वलाई गाली गरे । रसुवाबाट प्रतिनिधित्व गर्ने एमालेका पूर्व सभासद् तथा ठेकदार जर्नादन ढकालले कुमरी जाने मोटर बाटाे निर्माणको ठेक्का लिएर करोडौ रुपैयाँ खाएको, पक्की सडक नहुँदा स्थानीय बासीले धेरै दुःख पाएको उनले बताए । ‘पानी परेपछि सडकबाट गाडी ल्याउन नसकिने भयो । आयोजकले जसरी पनि आउनुपर्छ भनेपछि हामी सेनाको हेलिकप्टर लिएर आयौं’ केसीले भने–‘हामी हेलिकप्टर चढेर पुस्ताकालय उद्घाटन गर्न गएको देखेपछि पत्रकारले समाचार लेख्छन् । पार्टी भित्र हाम्रो आलोचना हुन्छ । म यहि मञ्चचबाट स्पष्ट पार्छु, लागेको खर्च आयोजकले बेहोर्छौ भनेपछि हामी हेलिकप्टर लिएर आएका हौं । यसको दाहित्व हामी लिदैनौ ।’ काठमाडौंको चक्रपथबाट २५ किलोमिटर दुरीमा रहेको जनजागरण सामुदाहिक पुस्तकालयको भवन उद्घाटन गर्न कांग्रेस नेताहरु हेलिकप्टरमा पुगेपछि स्थानीय तहमा निकै चर्चा भएको छ । हेलिकप्टरको खर्च पुस्तकालयले नबेहोर्ने अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए । ‘कति विल आउँछ, त्यो पुस्तकालयले बोहोर्दैन, हामी साथीभाईहरु मिलेर उठाएर तिर्छौ’ उनले भने । प्रमुख सेनानी दानबहादुर थापाका अनुसार पाँच जनासम्म यात्रा गर्न मिल्ने सानो हेलिकप्टको प्रतिघण्टा १ लाख रुपैयाँ भाडा लाग्छ । पुस्तकालय उद्घाटनमा जान प्रकाशमानले लगेको हेलिकप्टर करिव चार घण्टा प्रयोग भएको छ ।
साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ
काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए । इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए। ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो । नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए । विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।
सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक
जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ । उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ । यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ । त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ । हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी