ध्रुव अधिकारीको नेतृत्वमा नेपाल कुराँश संघ गठन
काठमाडौं । नेपाल कुराँस संघ गठन भएको छ । प्रथम साधारण सभाले ध्रुवराज अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो । कुराँश खेल मार्सट आर्टको एउटा बिधा अन्तर्गत पर्छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भैसकेको संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई चयन भएका छन् भने सचिवमा हरिराम ढुंगाना निर्वाचित भएका छन् ।सदस्यहरुमा भने सञ्जिव गुरुङ, यसु लामा र पद कुँवर निर्वाचित भएका छन् । उज्वेकिस्तानबाट सुरु भएको कुराँश खेल पछिल्लो समय संसारभर लोकप्रिय बन्दै गैरहेको छ । नेपालमा पनि कुराँश खेलको विकासका लागि संघ गठन गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष जीवन राईले बताए ।
ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ
काठमाडौ । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मज्जाले गफिँदै पनि थिए । ‘घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुप¥यो, घर त टोक्न सकिन्दैन हजुर’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, वडाध्यक्ष, पत्रकारका अगाडी, उनले भने । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह । माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो । चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए । दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो । बिहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका थिए । उनललाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारीन् । रिबन काटेर बरालले घरको उद्घाटन समेत गरेकी थिइन् । घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँ–गाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरिन् । चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्ने समेत उनको भनाइ छ । घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उनले यसतर्फ सचेतसमेत गराइन् । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ । ‘बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ”, रुपेशले दुखेसो पोखे । घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ । चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गरे । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्ने उनको भनाइ थियो । घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइ दिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो । जोखिम क्षेत्रका भूकम्पपीडितले पाए जग्गाधनी पूर्जा भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घरपरिवारले कालिटारको सुरक्षित स्थानमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर जग्गाधनी पूर्जा वितरण गरेको हो । सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गाधनी पूर्जा उपलब्ध गराइएको बताए । उनकाअनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचीकृतका लागि समन्वय गर्नु आवश्यक छ । जग्गा धनी पूर्जा लिन चेपाङ जोखिम बस्तीबाट झरेर बिहीबार कालिटार आएका थिए । जग्गाधनी पूर्जा लिँदै भीमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताए । यसरी पूर्जा पाउनेमा भीमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भीमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालीमायाँ प्रजा, फूलमायाँ प्रजा, इन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, विमायाँ प्रजा रहेका छन् । राप्ती नगरपालिकाको प्रमुख बरालले उनीहरुलाई पूर्जा वितरण गर्दै समयमै घर निर्माण गर्न आग्रह गरिन्। उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलब्ध गराइएको छ । हरेक घडेरी रु दुई लाखका दरले आयोजनाले खरिद गरेर उपलब्ध गराइएको हो । आगामी असारसम्ममा घरको डिपिसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको रु एक लाख ५० हजार रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गरे । उनले उक्त जग्गा १० वर्षसम्म बेचबिखन गर्न नपाउने बताए । उनका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पूर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको छ । प्राधिकरणका इन्जिनियर सुजन नेपालले करीब रु साँढे ४ लाख मुल्यमा नक्साअनुसारको घर तयार हुने भएकाले रु ३ लाखको अनुदानबाहेक अरु पैसा भने स्वयंले नै व्यहोर्नुपर्ने बताए । रासस
सिटिजन्स बैंकद्धारा ‘संगीतकार संघ नेपाल’लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रम बिच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकममेची-महाकाली साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराएका छन् । यसका साथै, अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका सिईओ भण्डारीले जानकारी गराएका छन् ।