खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जना युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । ‘प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईंहरू नै मेरो पहिलो प्रेरणा र ऊर्जा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो भएको आन्दोलनप्रति समर्थन र सरकारले गरेको दमनप्रति विरोध जनाउँदै म खानेपानी मन्त्री पदबाट राजीनामा दिन्छु ।’
सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित
काठमाडौं । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ । अदालतले मंगलबार जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ । सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ । –––
उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए । जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ । जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।