भयरहित वातावरण सृजना गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर भयरहित वातावरण सृजना गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनपछिका घटनामा लुटिएका हतियार र भागेका कैदीका कारण देशमा भय उत्पन्न भएको निष्कर्ष निकाल्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले समितिलाई आगामी निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । समितिले फागुन २१ गतेकालागि तोकिएको निर्वाचनलाई लक्षित गरी देशभर सुरक्षाको व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन प्रहरीको मनोबल उच्च राख्दै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्न र हतियार लुट्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । समितिले निर्वाचन सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउन र सार्वजनिक विश्वास कायम राख्न सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन उपत्यका समितिको दोस्रो सम्मेलन मंसिर ५ गते हुने
काठमाडौं । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल उपत्यका समितिको दोस्रो सम्मेलन यही मंसिर ५ गते शुक्रबारका दिन हुने भएको छ । सम्मेलन आयोजक समितिका सचिव रामचन्द्र भण्डारीले दिएको जानकारी अनुसार सम्मेलन किम्ची रेष्टुरेन्ट, अनामनगर, काठमाडौंमा दिनको ठिक १ बजे सुरु हुनेछ । सचिव भण्डारीका अनुसार उक्त सम्मेलनमा उपत्यका भित्रका सबै जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू र विशेष जिल्ला कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनले आगामी कार्ययोजना, संगठन सुदृढीकरण र कानूनी क्षेत्रका प्रगतिशील मुद्दाहरूमा साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखेको छ । पिपिएलए उपत्यका समितिको यो दोस्रो सम्मेलनले संगठनको गतिविधि समीक्षा, नयाँ कार्यदिशा तय र आन्तरिक संरचनात्मक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बिहीबारदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उनलाई आजैदेखि लागू हुनेगरी स्थान हद लगाएको जानकारी दिए । विज्ञप्तिअनुसार खापुङले आयोगकाे स्वीकृति बेगर काठमाडाैं उपत्यका छाड्न र विदेश भ्रमण गर्न पाउने छैनन्। आयोगले यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।