जेनजीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।  उनले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताए । जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेनजीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।  उनले भने, ‘समग्र हामी जेनजी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’ आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ । 

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा बुधबारदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।   पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।

पूर्वगृहमन्त्री लेखकको दावी– स्थानहद र राहदानी रोक्का गरिएकोबारे जानकारी छैन

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेको र राहदानी रोक्का गरेको विषयमा कुनै पनि औपचारिक जानकारी नदिएको दावी गरेका छन् ।  उनले सरकार वा कुनै पनि निकायले न त लिखित रूपमा न त मौखिक रूपमा सूचना दिएको जनाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको निर्णयबारे बोल्दै कुन संविधान, कुन कानुन, कुन ऐनको कुन प्रावधानअनुसार यस्तो निर्णय गरियो भन्ने आजसम्म थाहा नपाएको बताए ।  उनले स्थानहद गर्ने वा राहदानी रोक्का गर्ने निर्णय किन र कति अवधिका लागि गरिएको हो भन्नेबारे पनि जानकारी नभएको स्पष्ट पारे । लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गर्ने निर्णय भएको कुरा आफूले समाचारका माध्यमबाट मात्र सुनेको दावी गरे ।