लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

लम्की । यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए । लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित गीत ‘हामी उभिएको धरातल’ पुनः म्युजिक भिडियोमा

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा ‘हामी उभिएको धरातल बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघि नै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो ।  ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरूपमा छायांकन गरी म्युजिक भिडियो निर्माणको सुरु गरेको हो । सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहूर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउँने उदेश्य रहेको बताए ।   देशमा केही भएको छैन भन्नेहरूले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउँदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।  सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रूपमा उनको थियो । युवा विदेशिने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने उनको भनाइ थियो ।   कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।  स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै उनले यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए ।  म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो ।  कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो ।  करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।  

१०० वर्ष नागेका ज्येष्ठ नागरिकलाई मासिक ५० हजार भत्ताको प्रस्ताव

काठमाडौं । १०० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकहरूलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउन सरकारलाई एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । नीति तथा अनुसन्धान प्रतिष्ठानका लागि पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाले गरेको अध्ययन प्रतिवेदनमा १०० वर्ष र सो भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई मासिक भत्ता ५० हजार उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ ।  राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार यो समूहमा ३ हजार ५ सय ६६ जना ज्येष्ठ नागरिक रहेको देखिएको छ  ।  त्यस्तै, ज्येष्ठ नागरिकको उमेर समूहको वर्गीकरण अन्तर्गत ७० वर्षदेखि ७९ वर्ष समूहका करिब १० लाख ज्येष्ठ नागरिकलाई मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, ८० वर्षदेखि ८९ वर्ष समूहका ज्येष्ठ नागरिकहरूलाई मासिक भत्ता १० हजार उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । २०६८ सालको जनगणनाअनुसार ८० वर्षदेखि ८९ वर्ष समूहका ज्येष्ठ नागरिक समूहमा एक लाख ८१ हजार तीन सय १४ जना ज्येष्ठ नागरिक रहेका छन्।  पूर्वअर्थसचिव बास्कोटाले प्रतिवेदनमा ९० वर्षदेखि ९९ वर्ष समूहका ज्येष्ठ नागरिकहरूलाई मासिक भत्ता २५ हजार उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन् । राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कअनुसार यो समूहमा २६ हजार ७ सय २९ जना ज्येष्ठ नागरिकको सङ्ख्या रहेको देखाएको छ ।  प्रतिवेदनमा भनिएको छ, ‘यसका अतिरिक्त, विद्यालय र कलेजको पाठ्यसामग्रीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने लगायतका विषय समावेश गर्नुपर्छ । छोराछारीको मासिक कमाइको आवश्यकताअनुसार आमा बुबाले १० देखि २५ प्रतिशत पाउने कानून निर्माण गर्नुपर्छ । ज्येष्ठ नागरिकको सम्पतीमा उहाँहरूकै आफूखुशी गर्न दिनुपर्छ । ज्येष्ठ नागरिकसम्बन्धी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्नुपर्छ । मुलतः ज्येष्ठ नागरिकसम्बन्धीे स्रोत केन्द्रको स्थापना र ‘प्रोफाइल’ तयार गरी उनीहरूमा निहित ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ ।’ उनको सोचपत्रअनुसार केन्द्रीय र प्रदेशस्तरीय अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको उपकरण, वार्ड र शैय्याको व्यवस्था गर्नुपर्छ ।  एक सय शैय्याभन्दा माथिका सबै अस्पातलमा कम्तीमा पनि पाँच वटा शैय्यासहितका ‘ज्येष्ठ नागरिक’ (जेरियार्टिक) वार्डको स्थापना गर्नुपर्छ । ज्येष्ठ नागरिकको हालको १ लाखको बीमालाई क्रमशः १ लाख र १० लाख पुर्‍याउनुपर्छ । नेपाल सरकारबाट आर्थिक रूपमा विपन्न, बेवारिसे तथा विविध कारणले घरबारविहीन भएकाहरूका लागि वृद्धाश्रमको व्यवस्था गर्नुपर्छ ।  आम ज्येष्ठ नागरिकको भेटघाट, अनुभवको आदानप्रदान, मनोरञ्जन लगायतका क्रियाकलापका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । कुनैपनि ज्येष्ठ नागरिकले व्यवसाय वा स्वरोजगार गर्ने इच्छा देखाएमा ५ लाखसम्मको सरल ब्याजदरको ऋण दिनेगरी ज्येष्ठ नागरिक ‘च्यालेन्ज फण्ड’ स्थापना गर्नुपर्छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कुल वार्षिक बजेटको ५ प्रतिशत रकम ज्येष्ठ नागरिकको हितका लागि विनियोजन गर्नुपर्दछ । पूर्वअर्थसचिव बास्कोटाले सरकारको थिंक ट्याक नीति तथा प्रतिष्ठानमार्फत राज्यले ज्येष्ठ नागरिकको सम्मान स्वरूप ‘ज्येष्ठ नागरिक राहत कार्यक्रम’ घोषणा गर्नुपर्ने बताएका छन् । जसअन्तर्गत, अहिले मासिक ३ हजार पाइरहेका सबै ज्येष्ठ नागरिकलाई एक महिनाको भत्ता बराबरको रकम नेपालीहरूको महान पर्व दशैंअघि पाउने गरी बोनस दिने व्यवस्था गर्नुपर्छ ।  उनले आफ्नो प्रतिवेदनमा भनेका छन्–‘कानुनले ६० वर्ष माथिकालाई ज्येष्ठ नागरिक माने पनि मासिक भत्ता भने ७० वर्ष माथिकालाई मात्र दिने गरिएको छ । यो नीति कानुनी दृष्टिकोणबाट त्रुटिपूर्ण छ, यसमा पुनरावलोकन जरुरी छ ।’ तत्कालका लागि भने कानुनी रूपमा ज्येष्ठ नागरिकको वर्गमा परेर पनि ज्येष्ठ नागरिक भत्ता नपाउनेका लागि राज्यले हाल मुलुकभित्र रहेका १ सय १५ वटा वृद्धाश्रममा बसिरहेका करिब २ हजार ज्येष्ठ नागरिकलाई मासिक ५ हजारका दरले ३ महिनाको एकमुष्ठ १५ हजार उपलब्ध गराउनुपर्ने भनी राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सरकारसँग गरेको अनुरोधको पनि राज्यले सुनुवाइ गर्नुपर्ने उनले आफ्नो प्रतिवेदनमा समावेश गरेका छन् ।