अनुदानको २ सय बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन् । उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ गते गरेको अनुगमनका क्रममा चौधरीको गोदाममा अनुदानको मल फेला परेको थियो । त्यसपछि मल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको हो । सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय भएको छ । निर्णयअनुसार वडा नं. १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ । इलाका प्रहरी कार्यालयमार्फत मल सम्बन्धित वडामा पुर्याइएको डीएसपी बजगाईंले बताए । नगरपालिकाले वितरण गर्ने मलको मूल्य प्रतिबोरा एक हजार रुपैयाँ तोकिएको छ । किसानबाट संकलन हुने रकम राजस्व खातामा जम्मा गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

एक तोला सुनको मूल्य २ लाख ७ हजार ९०० पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका  जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।