१७ वर्षीय कन्टेन्ट क्रियटर यादव बने ‘ग्लोकल टिन हिरो नेपाल २०२५’

काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा कन्टेन्ट क्रिएटर कृष यादवले गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्राप्त गरेका छन् । ललितपुरको द प्लाजामा आइतबार आयोजित समारोहमा ग्लोकलले यादवलाई यो सम्मान प्रदान गरेको हो । ग्लोकल टिन हिरो नेपाल पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर असाधारण उपलब्धि हासिल गरेका किशोर–किशोरीलाई सम्मान गर्दै उनीहरूको प्रतिभा र सिर्जनशीलतालाई उजागर गर्ने काम गर्दै आएको छ । यस वर्षको प्रतिस्पर्धामा यादवसहित शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरू थिए, जसमा मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुङ्गाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेनुका सिंह (सर्लाही) र सफल पौडेल (रूपन्देही) समावेश थिए । कृष यादव सामाजिक विषयप्रति जिज्ञासु कन्टेन्ट क्रिएटर हुन् । उनले सार्वजनिक बहस सञ्चालन, वृत्तचित्र निर्माण, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व, नीतिगत अभियानमा स्थानीय सरकारसँग सहकार्यलगायतका गतिविधि गर्दै आएका छन् । युट्युब र डिजिटल प्लेटफर्ममार्फत हजारौं दर्शक र प्रयोगकर्तासम्म पुग्ने कार्यक्रमको निर्माण तथा सह–नेतृत्वमार्फत उनले युवालाई संवाद, आलोचनात्मक सोच र नेतृत्वमा सशक्त बनाउँदै आएका छन् । पुरस्कार विजेताको छनोट निर्णायक समितिले उपलब्धि, सिर्जनात्मकता, सामाजिक प्रभाव र कार्यको दिगोपनाका आधारमा गरेको थियो । निर्णायक टोलीमा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र युरोपेली संघका चार्ज डी’अफेयर्स थोमस मिलरसमेत थिए । कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता, कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस वर्षको कार्यक्रम गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन गरिएको हो भने युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरू रणनीतिक साझेदारका रूपमा जोडिएका थिए ।

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

गलकोट । नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख राजस्व राजस्व सङ्कलन गरिएको छ । दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिकास्थित भाटेखोला बगरबाट सङ्कलन गरिएको चार हजार ९७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलनका लागि नगर कार्यालय पठाइएको थियो । बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगरलगायत बगरबाट अवैध रूपमा उत्खनन गरी बालुवा सङ्कलन गर्ने विभिन्न व्यक्तिलाई कारबाही गरी रु १५ लाख राजस्व सङ्कलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिइन् । उनका अनुसार नगरले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेलाई कारबाही गरेको हो । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि रातिको समयमा दोहन गरी नदी छेउमा राखिएको सामग्री जफत गरी राजस्व सङ्कलन गरिएको रेग्मीको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर नगरपालिकालाई कारबाहीका लागि पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मूल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताए । 'अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्डअनुसार निकाल्न मिल्छ । तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ', प्रमुख थापाले भने ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ५ हजार ३ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य लगातार बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्न थालेको छ । प्रतितोला २ लाख नाघेपछि मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएकाे थियाे । सोमबार फेरि २ हजार बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।