एमालेको घर फर्क अभियान : सयभन्दा बढी नेता एमालेमा फर्किँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुरु गरेको घर फर्क अभियान अन्तर्गत सोमबार काठमाडौंमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा पार्टी छाडेर विभिन्न समयमा अन्य दल वा समूहतर्फ गएका सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू पुनः एमालेमा प्रवेश गर्ने तयारीमा रहेको पार्टीले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई पार्टीले एकता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको जनाएको छ । हालै एमालेले देशभर पुराना कार्यकर्ताहरूलाई पुनः संगठनमा जोड्ने उद्देश्यसहित घर फर्क अभियानलाई तीव्र पारेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गौतमका अनुसार अभियानको उद्देश्य आगामी निर्वाचनलाई लक्ष्य गरी एमालेलाई पुनः राष्ट्रिय एकताको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ । उनका अनुसार असन्तुष्ट कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउँदै संगठनभित्र एकता बलियो बनाउने अभियानको लक्ष्य छ । एमाले छाडेका धेरै नेता पछिल्ला वर्षहरूमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र तथा अन्य दलहरूमा गएका थिए । तीन वर्षअघि, २०७८ भदौ ३ गते अध्यादेशबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी) मा गएका ती नेताहरू अहिले पुनः एमालेमा फर्कन लागेको प्रवक्ता गौतमले जानकारी दिए ।

चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।' भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।

रुपन्देहीमा २३ लाख बराबारको अवैध सामान बरामद

देवदह । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान यही कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ । त्यसैगरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी रु तीन लाख २२ हजार २०० बराबरको सामान बरामद गरेको छ ।