जैशिदेवल युथ क्लवको ३२औं वार्षिकोत्सवमा छैठौं तेक्वान्दो प्रतियोगिता, ८८ खेलाडीबीच प्रतिस्पर्धा
काठमाडौं । जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार छैठौं ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोगमा आयोजना गरिएको एक दिने प्रतियोगितामा विभिन्न समूहका ८८ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाबाट २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदक वितरण गरिएको क्लवले जनाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले गरेकी थिइन् । कार्यक्रममा क्लवका अध्यक्ष राजेश प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यान गोविन्द रन्जितलगायतको उपस्थितिमा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौं महानगरपालिका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, प्रदेश विकास खेलकुद परिषदका सदस्य–सचिव दिपक लामा, काठमाडौं महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नम्बर १९ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २४ का अध्यक्ष विनोद राज राजभण्डारी, वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतका अतिथिहरूको सहभागिता थियो । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दैनिक अभ्यासका लागि दुई लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै, नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सम्पन्न सिनियर ग्रेडिङ्ग परीक्षामा ब्ल्याक बेल्ट प्रथम डान प्राप्त गर्न सफल पाँच खेलाडीलाई मन्त्री केसीले बेल्ट र प्रमाणपत्र प्रदान गरेकी थिइन् । जैशिदेवल युथ क्लवले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जनाएको छ । क्लबका अध्यक्ष राजेश प्रजापतिले विगतका यस्ता प्रतियोगिताबाट यस डोजाङ्गका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै आएको तथ्य स्मरण गर्दै भविष्यमा पनि आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइने बताए । कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापनमा धन्यवाद ज्ञापन गरेका थिए ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज थप ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य २४२५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदी दुवैमा देखिएको लगातारको वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।
भाद्र शुक्ल अष्टमी: आज उज्याली गौरा र दुर्वाष्टमी पर्व मनाइँदै
काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमासअनुसार भाद्र महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन् । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृति विद् गायक नन्द कृष्ण जोशीले जानकारी दिए । गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृति विद् जोशीले बताए । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । ‘यो पर्वका लागि भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन केराउ, जौँ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ,’ उनले भने । यसरी दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरूले मनाउने गरेका छन् । दुर्वाष्टमी दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताए । अष्टमी तिथि भर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धर्मग्रन्थ हेमाद्रीमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिम एवं कर्णाली प्रदेशवासीले मनोरञ्जन गर्ने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र कर्णाली प्रदेशवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।