देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : विभाग

 काठमाडौं । देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार जारी मौसम बुलेटिनका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताइएको छ ।

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज । भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।      सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेकाे सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।      प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छ । यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा घोषणा गरेका छन् । उनले शनिबार प्रदेशसभा बैठकमै आफ्नै मुखबाट राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री सोनलले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा बोलेका थिए । तर समर्थनका लागि आवश्यक मत संख्या सुनिश्चित हुन नसकेपछि उनले राजीनामा दिने निर्णय गरे ।