मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

काठमाडौं । मधेस प्रदेस सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।  मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै रहबर अन्सारीले प्रदेश सभामा रहेका कुनैपनि प्रदेशसभा सदस्यहरुसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा कालोमोसो दलेका हुन् ।   उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरु जनताको मर्मअनुसार काम गर्न नसकेकाले यो प्रदेश सभामा रहेका प्रदेशसभा सदस्यहरुले निकास दिन नसक्ने स्पष्ट गरे ।   उनले भने, ‘आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन ।’ अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गरे । प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडी बढ्न नसक्ने बताए ।   

मन्त्री खनालको दाबी : अर्थ मन्त्रालय हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  अर्थ मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो । जेनजी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरिएको समेत बताए ।  उनले भने,‘हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौं । कुनै पनि निर्णय गर्न विलम्व गरेका छैनौं । आश्वासनले मुलुकको विकास हुँदैन । आश्वासनले यहाँहरुलाई आश्वस्त पार्न सकिँदैन । जेनजी मोभमेन्टले हामीलाई एउटा घचघभ्च्याएको विषयबस्तु के हो भने मुलुकमा सुशासन हुन सकेन भने भ्रष्टाचार न्युनिकरण हुन सकेन भने जस्तोसुकै कुरा गरेपनि आम नागरिकले मुलुक भित्र काम गर्ने अवसर पाउन सक्दैनन ।’ अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जार्नैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए ।  

उद्योगमा देखिएका कानूनी अवरोधहरु हटाउने कामलाई प्राथमिकता दिइनेछ : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउनका लागि आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्षौँदेखि अड्किएर बसेका उद्योगहरूको फाइल अघि बढाउन सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिइसकेको उल्लेख गरे । मन्त्री सिन्हाले ती कामहरूलाई सहज ढङ्गले अघि बढाउन अन्तर मन्त्रालयबिचको सहजीकरणमा पनि जोड दिने बताए । उनले आफ्नो मन्त्रालयका सचिवहरूलाई आगामी पुस्तालाई हेरेर अहिलेसम्म अड्किएका कामहरू सबैभन्दा पहिले फर्स्योट गरिदिन अनुरोध गरेको बताएका छन् । उनले अड्किएका कामले अर्थतन्त्रलाई पछाडि डोरीले बाँधेर राख्ने उल्लेख गर्दै हातखुट्टा बाँधेर अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भूमिका खेल्न नहुने कुरामा आफू स्पष्ट रहेको बताए । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।