अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !

म्याग्दी । म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पु-याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताए । 'स्थानीयबासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,' उनले भने, 'स्वादिलो र तागतिलो हुने भएकाले अरिङ्गालको उपभोग बढेको छ ।' थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ । प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य रु ६०० देखि ७५० सम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिङ्गालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिङ्गालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ । खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिङ्गालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ । गोलासहितको एक किलो अरिङ्गाल रु तीन हजारदेखि तीन हजार ५०० मा बिक्री हुने गरेको अरिङ्गाल शिकारी तमबहादुर पुनले बताए । अरिङ्गाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा रु एक लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी –६ जामूनाखर्कमा व्यवसायिक रूपमा अरिङ्गालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताए । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विटल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ । एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ । अरिङ्गाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिङ्गाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिङ्गाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिङ्गाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिङ्गाल हुन्छन् । आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ । रासस

आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा  भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन  केही सक्रिय हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि सुरु हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जनाएको छ । यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ । तर प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।