जेनजी प्रदर्शनको प्रभाव : स्तनपान कक्षमै इजलास सञ्चालन
काठमाडौं । जेनजी प्रदर्शनमा लागेको आगलागीपछि मोरङ जिल्ला अदालतले इजलास अभावमा स्तनपान कक्षमै इजलास सञ्चालन गरेको छ । अदालतका दुई भवनमा ११ वटा इजलास सञ्चालनमा रहेका मध्ये आगलागीपछि दुईवटा इजलासलाई स्थान अभाव भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ९ वटा इजलास रहेको मुख्य भवनमा रहेका ४ नम्बर र १ नम्बर इजलासलाई स्थान अभाव भएको छ । इजलासका लागि स्थान अभाव भएपछि पुरानो स्तनपान कक्षलाई इजलासको रूपमा विकास गरिएको बुढाथोकीले जानकारी गराए । तर त्यहाँ पनि मुद्दाको सुनुवाइ हुन सक्ने अवस्था छैन । उनका अनुसार सानो ठाउँमा दुईवटा इजलास राखिएकोले सुनुवाइ गर्न नसकिएको हो । 'स्थान अभावले मुद्दाको सुनुवाइ त रोकिएको छ नै, चालु मुद्दाका १ हजार ४१ वटा मिसिल जलेका कारण मुद्दाको निरन्तरतामा पनि समस्या आएको छ,' बुढाथोकीले भने । फैसला लेखिँदै गरेका ९० वटा मिसिल नष्ट भएकाले फैसला भएर पनि पक्षहरूले न्याय पाउन नसकेको जानकारी उनले दिए । बुढाथोकीका अनुसार फौजदारी अभियोगका १० वटा मिसिल दैनिक रूपमा रिकभर भइरहेका छन् । दुनियाबादी मुद्दाका फाइलहरू मुद्दाका पक्ष र वकिलहरूसँग सहयोग मागेर मिसिल बनाउने काम भइरहेको छ । अदालतमा २००१ सालदेखिका १ लाख ४९ हजार मिसिल जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा जलाइएको पाइिएको छ ।
सुनको मूल्य तोलामा दुई लाख ३७ हजार ८०० पुग्यो
काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल दुई लाख ३७ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी दुई हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।
बेमौसमी वर्षा : गुल्मीमा पाँच करोडको धानबाली नष्ट
तम्घास । हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको हो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए । इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ । त्यसैगर, अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । उनी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको स्थानीयले बताएका छन् ।