बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । 'पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो', उनले भने, 'व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।' अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ । रासस

रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागार, भैरहवाबाट स्थानान्तरण गरी काठमाडौं ल्याइँदैछ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बुद्ध एअरको उडान प्रयोग गरी काठमाडौं सारिने भएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए । उनले नख्खु कारागारमा स्थानान्तरणका लागि गत जेठमै निवेदन दिएका थिए । अदालतले अनुमति दिएपनि तत्काल गृह प्रशासनले रोकेको थियो । यसबारे रास्वपाले संसद्मै आवाज उठाएको थियो भने पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानवअधिकार निकायमा जाने चेतावनी दिएकी थिइन्। मानव अधिकार आयोगले केही दिनअघि गरेको अनुगमनमा लामिछानेले भैरहवामा ज्यानको असुरक्षा महसुस भएको बताएका थिए । त्यसपछि सरकारमाथि बढेको दबाबका कारण कारागार व्यवस्थापन विभागले स्थानान्तरण गर्ने निर्णय गरेको हो । लामिछानेलाई स्थानान्तरण गर्ने खबर सार्वजनिक भएपछि भैरहवा कारागार अगाडि रास्वपाका नेता-कार्यकर्ता भेला भएका थिए ।

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत एकअर्कामा गासिएका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यसका लागि ब्राजिल सरकारले प्रस्ताव अघि बढाएको छ । नेपालले पनि गत जेठमा सम्पन्न गरेको सगरमाथा संवादका निष्कर्ष ‘सगरमाथा आह्वान’ को हिमाल संरक्षणलगायत विषयलाई जोडदार रुपमा उठाउने गरी तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रबार नेपालका लागि ब्राजिलका राजदूत, सरोकारवाला सरकारी तथा गैरसरकारी र विकास साझेदारका प्रतिनिधिसहितको बैठक गरी कोप–३० को तयारी थालेको छ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयले कार्ययोजना बनाइ सम्मेलनको तयारी थालेको बताउँदै विगतका अनुभवलाई ध्यानमा राखेर अघि बढ्ने उल्लेख गरे । उनले भने, ‘सबैका आवाज र साथ लिएर चुस्त टिमका साथ सम्मेलनमा सहभागिता जनाउँनेछौँ । नेपालले विगत वर्षहरुका कोपबाट पनि धेरै अनुभव हासिल गरेको छ ।कमीकमजोरी हुन नदिन थप सशक्त तयारी गर्नेछौँ । सम्मेलनमा जलवायु वित्त, कार्बन व्यापार, जलवायु अनुकूलन र न्यूनीकरण, जलवायुजन्य हानी नोक्सानीलगायत विषयलाई सशक्त रुपमा उठाउने गरी तयारी अघि बढाएका छौँ ।' यस पटकको सम्मेलन नेपालबाट धेरै टाढा रहेको ब्राजिलको मुख्य सहरभन्दा टाढा सम्मेलनस्थल भएकाले कम पूर्वाधारका कारण आगन्तुकको बसाइ खर्चिलो हुने बताइएको छ ।  विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको मुलुकमध्येमा पर्दछ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराई मधेसमा बाढी पहिरोहरु देखिन थालेको मन्त्री शाहीले बताए । हिमाल, पहाड र तराई/मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् । सगरमाथा संवादका निष्कर्षलाई प्राथमिकताका साथ उठाइने     मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले सम्मेलनको तयारीका लागि पेभिलियन र साइड कार्यक्रमको अवस्था, राष्ट्रिय अवधारणा पत्र तयारी, प्रतिनिधि मनोनयनको निर्देशिका स्वीकृति, अन्तरमन्त्रालय समन्वय, अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली स्थायी नियोगसँग समन्वय, सगरमाथा आह्वान कार्यको बारेमा अन्तरक्रियालगायत विषयमा छलफल गरिने जानकारी दिए । ‘यसका साथै राष्ट्रिय वातावरण तथा जलवायु परिवर्तन परिषद्को बैठक, कोप सम्मेलनको पूर्वतयारी बैठक, राष्ट्रिय जलवायु परिवर्तन परिषद् बैठक, पेरिस सम्झौताको धारा ६ अन्तर्गतको छलफल, संयुक्त राष्ट्रसङ्घका महासचिवले जलवायु कार्यमा नेपालको एनडीसीको उच्चस्तरीय सहभागिता तयारी गर्नेछौँ’, उनले भने, ‘नयाँ वार्ता समूह दर्ता, उच्चस्तीय शिखर सम्मेलनको तयारी, सम्बन्धित अधिकारीहरूलाई तालिम, मनोनित प्रतिनिधिहरूको भूमिका विभाजन, कोप–३० मा भाग लिनका लागि आचारसंहिता, कोप–३० को भर्चुअल अनुगमन र समन्वय संयन्त्रलगायतका विषयमा तयारी गर्नेछौँ ।’ पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् । युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (युएई) अध्यक्ष सनोत अधिकारीले यस सम्मेलनमा नेपालले खासगरी युवाका विषयका साथै जलवायु वित्त, हरित जलवायु कोष र हानी नोक्सानी कोषमा पँहुच र सरलीकरण विषय, कार्बन व्यापार, जलवायु अनुकूलन र न्यूनीकरणलगायत विषयमा आवाज उठाउनुपर्ने बताए । यसका साथै नेपालले सगरमाथा संवादको निष्कर्ष ‘सगरमाथा आह्वान’ का विषयका साथै नेपालले जलवायु परिवर्तनमा गरेका राम्रा अभ्यासका बारेमा सशक्त रुपमा आवाज उठाउन मन्त्रालयलाई सुझाव दिए । नेपालबाट उच्चस्तरीय सहभागिता     कोप–३० मा नेपालबाट राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता जनाउने गरी मन्त्रालयले तयारी गरिरहेको छ । यस सम्मेलनमा सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले सहभागिता जनाउनेछ । नेपालबाट हालसम्म पाँच सम्मेलनमा राष्ट्र/सरकार प्रमुखस्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सन् २०२३ मा युएईको दुबईमा भएको कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गत वर्ष अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको नेपालले उच्चस्तरीय सहभागिता जनाएको थियो । उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीर रूपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा ठूलो महत्त्व राख्ने कूटनीतिक विषयका जानकारहरुको भनाइ छ । वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियसदेखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यसप्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले बहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको छ । रासस