चेस वर्ल्ड कपमा सहभागि हुँदै राष्ट्रिय चेस खेलाडी जैसवाल
काठमाडौं । नेपालका राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कप २०२३मा सहभागी हुने भएका छन् । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईठीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो । एफआईठीई चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको छ । कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष मार्फत एफआईठीइ चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ ।
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जित्नेका थिए । नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन् ।
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार
कास्की । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही ५० हजार रुपैयाँ पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित एक खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी खेलाडी सम्मान गरेका हुन् । च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कार रकम प्राप्त गरे । गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार र अरबिना अधिकारी रहेका थिए । यसैगरी अन्य खेलाडीमा निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रिती पराजुली तथा टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापन एलिशा लामिछाने थिए । यसअघि सरकारले विजेता खेलाडीलाई भोलिपल्ट अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो तर खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन् । गण्डकी प्रदेश क्रिकेट सङ्घ, कास्की जिल्ला क्रिकेट सङ्घ तथा खेलाडीले घोषित पुरस्कारका लागि निरन्तर सरकारसँग माग गर्दै आएका थिए । तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार रकमका लागि फाइल अघि बढ्न नसकेको भन्दै खेलाडी नगद पुरस्कार पाउन वञ्चित भएका थिए । नयाँ सरकार गठनसँगै पुरस्कारबापतको रकम निकासाका लागि प्रक्रिया अघि बढाइएको थियो । पुरस्कारबापतको रकम खेलाडीको व्यक्तिगत बैंक खातामार्फत पठाइएको मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । उनले भने, ‘हामीले पहिले नै खेलाडीलाई नगदसहित सम्मान गर्ने भनेका थियौँ तर सरकार परिवर्तनलगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीको मनोबल उच्च होस् भन्नका लागि कामना गर्दछौँ । यो सम्मानले खेलाडीलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।’ खेलाडीलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीलाई सम्मान गर्ने विषयमा आफूले संसद्मा समेत प्रतिबद्धता जनाएको बताए । खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै पोखरा रङ्गशालामा योगका कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले आगामी दिनमा परिषद्ले विभिन्न जिल्लामा प्रतियोगिता सञ्चालन गरिने बताए । खेलकुदका विभिन्न कार्यक्रमलाई जोड्दै दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना रहेको उनले उल्लेख गरे । रासस