राष्ट्रिय चुनौती समाधानमा युवा सोच : ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सम्पन्न

काठमाडौं । देशका प्रतिभाशाली युवाहरूलाई एकै ठाउँमा ल्याउँदै ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ग्लोजकलद्वारा आयोजित तीनदिने कार्यक्रममा २१८ आवेदनमध्ये छनोट भएका १७ टोलीले डिजिटल समावेशीकरण, जलवायु परिवर्तन, शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता र स्वास्थ्यजस्ता राष्ट्रिय चुनौतीमा आधारित नवप्रवर्तनकारी समाधान र प्रोटोटाइप प्रस्तुत गरेका थिए । सहभागीमध्ये ५७ प्रतिशत कलेज र ४३ प्रतिशत विद्यालय तहका विद्यार्थी रहेका थिए भने काठमाडौं उपत्यकासहित धनगढी, बुटवल, जनकपुर, वीरगन्ज, विराटनगर र सुर्खेतबाट समेत सहभागिता रहेको थियो । ७२ घण्टासम्म उद्योग विज्ञहरूको मेन्टरसिपमा काम गरेका टोलीहरूले अन्तिम दिन निर्णायकसमक्ष आफ्नो ‘पिच’ प्रस्तुत गरेका थिए । अनलाइन शिक्षामा ‘प्रुफ अफ वर्क’ अभावको समस्या समाधान गर्ने प्लेटफर्म विकास गरेको टोली ‘टिम नाेभा’ विजेता बन्दै ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्य तथा एशियाली विकास बैंक को साझेदारीमा सम्पन्न भएको थियो । आयोजकका अनुसार यस्तो ह्याकाथनले युवालाई प्रविधि र नवप्रवर्तनमार्फत देश विकासमा प्रत्यक्ष योगदान दिन प्रेरित गर्ने विश्वास लिइएको छ ।      

नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा ६ अर्ब २७ करोड नाफा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवैमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको थियो । त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशत अर्थात् रु. ४२ करोड ३३ लाखले वृद्धि भई रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ । मुनाफातर्फ, तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको  थियो । नाफा वृद्धिसँगै प्रति शेयर आम्दानी (EPS) रु. ४२.३ बाट बढेर रु. ४६.४७ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सम्पत्ति पनि रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो । वित्तीय सूचक सुधार हुनुका प्रमुख कारणमा जीएसएम सेवातर्फको राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा आएको गिरावटलाई लिइएको छ । विवरणअनुसार जीएसएम राजस्व २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) ले बढेको छ भने ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घटेको छ । यद्यपि, बजारमा घट्दो ब्याजदरका कारण कम्पनीको ब्याज आम्दानीमा भने २०.५७ प्रतिशत (करिब रु. ५७ करोड ६६ लाख) ले कमी आएको छ । 

कोसी प्राइड लिगको तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीले हस्ताक्षर गरेका छन् । आयोजक कोसी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सञ्चालन गर्ने योजना रहे पनि विभिन्न कारणले दुईपटक सारिएको थियो । अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने प्रत्येक टोलीले ड्राफ्टमार्फत तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।