देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए । नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु बिडम्वना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ । टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए । उनले भने, ‘देशकम अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पुर्याउनुपर्यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरुको मर्मतको सवालमा कहाँ छौं हामी ? प्रतिस्पधी निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौं ? ग्राहकले कल र डाटा प्रयोग गरेवापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरुको दायित्व हो ।’ उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए ।
टिग नास आईटी एक्सपो सम्पन्न, प्रविधि र अवसरबीचको पुल निर्माणमा जोड
काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) द्वारा आयोजित ‘टिग नास आईटी एक्सपो २०२५’ सम्पन्न भएको छ । कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनसम्म चलेको प्रदर्शनीमा स्वदेशी प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवाहरू प्रस्तुत गरेका थिए । नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार एक्स्पोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा बलियो सन्देश दिएको छ । उनले भने, 'एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं । यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापना गरेको छ ।' दुई दिन चलेको एक्स्पोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थी र प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । नास आईटीका अनुसार दुई दिनको अवधिमा २५०० भन्दा बढी अवलोकक उपस्थित भएका थिए । स्वदेशी प्रविधि र सेवाको प्रवर्द्धनका लागि आयोजना गरिएको यो एक्स्पोलाई नेपालकै ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनीका रूपमा लिइएको छ । प्रदर्शनीमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवामा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरण प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्र मार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू पनि प्रस्तुत गरेका थिए । सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसाय प्रवर्द्धन र अवसर विस्तारमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने प्रतिबद्धता जनाएको छ । नास आईटीका अनुसार एक्स्पोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने माइलस्टोनका रूपमा आफूलाई स्थापित गरेको छ ।
कार्ड र क्युआर दुवै माध्यम सपोर्ट गर्ने सिटीटेकको ‘फिनपस मिनी’ बजारमा
काठमाडौं । सिटीटेक ग्रुप प्रालिले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास-आटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो 'फिनपस मिनी' को औपचारिक रूपमा सार्वजनिक गरेको छ । फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ । यस डिभाइसले भिसा, मास्टरकार्ड, युपिआइ, र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआरहरूलाई सपोर्ट गर्दछ । कम्पनीका अनुसार साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ । यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ । कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्ट हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरेका छन् । सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा पिओएस सेवा प्रदान गर्दै १० हजार भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ । फिनपस मिनीको शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको कम्पनीले जनाएको छ । सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले भने- 'फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं ।'