फिसिङ लिंकले बैंक खाता रित्याउला भन्दै प्राधिकरणले दियो चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने ‘फिसिङ लिंक’ मा क्लिक नगर्न अनुरोध गरेको छ । पछिल्लो समय मोबाइल सेवा प्रदायकहरूको नेटवर्क र विभिन्न ओटीटी एप्स (जस्तै ह्वाट्सएप, भाइबर आदि) को दुरुपयोग गरी सर्वसाधारणको मोबाइलमा भ्रमपूर्ण र घातक ‘फिसिङ लिंक’ हरू पठाउने क्रम बढेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो अनुरोध गरेको हो । प्राधिकरणले आज (बुधबार) सूचना जारी गर्दै अपरिचित र अनधिकृत नम्बरहरूबाट आउने त्यस्ता शङ्कास्पद लिंकहरू नखोल्न आम उपभोक्ताहरूलाई अनुरोध गरेको हो।  प्राधिकरणका अनुसार विभिन्न निर्देशनसहित आउने त्यस्ता मेसेजहरू वास्तविक र आधिकारिक जस्तै देखिने भएकाले आम सर्वसाधारण सहजै भ्रममा पर्ने गरेका छन् ।  उपभोक्ताहरूबाट व्यापक जनगुनासो प्राप्त भएपछि प्राधिकरणले सूचना सार्वजनिक गरेको हो । प्राधिकरणले सूचनामा भनेको छ, ‘त्यस प्रकारका फिसिङ लिंकहरू वास्तविक जस्तै लाग्न गई सर्वसाधारणहरूमा भ्रम तथा द्विविधा उत्पन्न भई लिङ्कहरूमा क्लिक वा प्रवेश गर्दा विभिन्न आपराधिक क्रियाकलाप, व्यक्तिगत विवरणमा अनधिकृत पहुँच तथा वित्तीय अपराध लगायतका क्षति हुन सक्ने जोखिमहरू हुन्छ ।’ फिसिङ लिंकबाट मोबाइलमा रहेका गोप्य पासवर्ड, इमेल र नागरिकता वा बैंक सम्बन्धी विवरणहरूमा ह्याकरहरूको पहुँच पुग्ने, लिंकमा क्लिक गर्दा बैंक खाता वा डिजिटल वालेट (जस्तै ईसेवा, खल्ती) बाट रकम चोरी हुन सक्ने र मोबाइलमा मालवेयर वा भाइरस प्रवेश गराई डिभाइस नै नियन्त्रणमा लिन सक्ने प्राधिकरणले जनाएको छ ।

आइएमएस ग्राहकका लागि इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौं । इसेवा र आइएमएसले ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही/लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुनेछ । यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै व्यवसायीहरूलाई अझै छिटो, अझै सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ। ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले चेकमा आधारित कारोबारमाथिको निर्भरतालाई कम गर्दै र म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समयलाई बचाएर भुक्तानी प्रणालीलाई अझ सरल बनाउन मद्दत गर्दछ । ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ मार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छन् । हाल भएकै प्रणालीहरूबाटै सिधै भुक्तानी गर्न सम्भव हुने हुनाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले उल्लेखनीय समय बचत गर्न, सञ्चालन जटिलताहरू कम गर्दै आफ्नो मुख्य व्यावसायिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सक्दछन् ।  इसेवा र आइएमएसको यो सहकार्यले व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने र संस्थाहरूलाई डिजिटल रूपान्तरण अपनाउन सहयोग गर्ने दुई संस्थाहरूको साझा प्रतिबद्धतालाई झल्काउँदछ । इसेवा र आइएमएसले प्रविधिसँगै विभिन्न भुक्तानी क्षमतालाई एउटै कार्यप्रवाहमा समेट्दै, व्यवसायीहरूलाई अझ बढी सहजता, प्रभावकारी र आत्मविश्वासका साथ भुक्तानी व्यवस्थापन गर्न सहज बनाइरहेको छ । उद्यमीहरूका लागि व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल भुक्तानी अनुभव सिर्जना गर्ने इनोभेटिभ र भरपर्दो सोलुसन्स उपलब्ध गराउने लक्ष्यमा इसेवा र आइएमएस दुवै सक्रीय रहिआएका छन् ।    

बैंकको नाममा एसएमएस ठगी बढ्दै, शंकास्पद लिंक क्लिक नगर्न टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले एसएमएस सेवाको दुरुपयोग गर्दै बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । टेलिकमका अनुसार ‘एसएमएस’ सेवामार्फत कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी नक्कली सन्देश पठाइँदै आएको पाइएको छ । यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको भन्दै ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गरिन्छ । कम्पनीले यस्ता एसएमएस, फोन कल तथा लिंकप्रति सजग रहन अनुरोध गर्दै कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न आग्रह गरेको छ। साथै आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न समेत सुझाव दिएको छ । नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सिभिभी लगायतका संवेदनशील जानकारी कसैसँग पनि साझेदारी नगर्न आग्रह गरेको छ । बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न कम्पनीले सुझाएको छ । त्यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ । ग्राहकको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट बच्न सबैमा सचेतना आवश्यक रहेको टेलिकमले जनाएको छ ।