पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले

पर्सा । पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् । कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि  यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको बताए । 'हामीले यहाँ चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका थियौँ, पछिल्लो समय पर्यटक बढेसँगै नेचर रिसोर्ट गरिरहेका छौँ', उनले भने । ठकुरीले रिसोर्ट निर्माणका लागि करिब चार करोड लगानी गरिएको बताए । ठोरीमा भारतीय र स्वदेशी पर्यटकको  आवागमनले यहाँको व्यापार बढेको उनको भनाइ छ । उनका अनुसार चार वर्ष अघिसम्म ९० प्रतिशत भारतीय पहुना र १० प्रतिशत स्वदेशी पहुना आउने गर्थे । तर, अहिले यहाँ ७० प्रतिशत भारतीय पहुना र ३० प्रतिशत स्वदेशी पाहुना आउन थालेका छन् । त्यस्तै पछिल्लो समय वीरगञ्जका व्यवसायी जिम्दार राउतकुर्मी र धमेन्द्र पटेलले पनि  ठोरीमा स्वीमिङपुलसहितको लर्डस अफ ठोरी होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । 'ठोरीमा घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि व्यवस्थित खालको आवासीय होटलको अभावलाई परिपूर्ति गर्नका लागि होटल सञ्चालनमा ल्याएका हौं', उनले भने, 'अहिले पनि ठोरीमा राम्रो बस्नलायक होटलको अभावलाई यसले टेवा पुग्ने विश्वास लिएका छौं ।' अहिले ठोरीमा झण्डै साना–ठूला गरेर करिव डेढ दर्जन होटल तथा रिसोर्टमा रु ५० करोडभन्दा धेरै लगानी भइसकेको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’ रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ । ठोरी गाउँपालिका-२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी ठकुरीले बताए । रासस

बेलहियाबाट भित्रिए १ लाख ३ हजार पर्यटक, कोरोनाछि क्रमशः सङ्ख्या बढ्दै

काठमाडौं । स्थल मार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन् । सोही अवधिमा १ लाख २ हजार ४५५ जना बेलहिया नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।  कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन सोचेअनरुप हुन नसके पनि विगतका वर्षभन्दा सङ्ख्या भने बढेको बताए । ‘सन् २०२५ मा करिब एक लाख २० हजार पर्यटकको आगमन हुने आकलन गरेका थियौँ । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन, तर कोरोनाकालपछि क्रमशः पर्यटकको सङ्ख्या बढ्दै गएको छ,’ पौडेलले भने ।  गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको सङ्ख्या बढेको उनले बताए । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्याण्डका १९ हजार १९५, भियतनामका ७ हजार ६४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १४९ जना छन् । उक्त अवधिमा सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यो नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २३५, सन् २०१९ मा १ लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थल मार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ । 

बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी दिए । हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाइ छ । उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए । उनका अनुसार शुक्रबार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए ।  प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए । उनले भने, ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरु प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साइडबाट हेर्दा हामीले मौसमहरु हेर्ने हो । मोसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ ।’ काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिव ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानियहरुले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए । दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भईरहेको छ ।