१७ हजारको जागिरले युवालाई विदेशिन बाध्य बनाएको छ : सागर पाण्डे
काठमाडौं । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरु समेत पीडामा रहेको बताए ‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’ ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा नीजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं,’ अध्यक्ष पाण्डेले भने । नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरु विदेशीने गरेको उनको भनाई थियो । ‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’ राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । ‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’ हिजो सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले नीजि क्षेत्रमा समेत व्याप्त भइरहेको बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुदै नीजि क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने । जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने बताए । भ्रष्टाचार निकै व्याप्न भएको बताउँदै अहिलेका बच्चाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्कोदिनदेखि जाँदैन ।’ बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा बृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै बृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक आउने गरेको उनले बताए । पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पुर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
स्काईपिक एड्भेन्चरस पार्कले २१ प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले जारी पुँजीको २१ प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १ गते बिहान ९ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यू रेटिङ गर्ने, सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्नेछ । यस्तै, सभाले स्थिर सम्पत्तिको भोगचलन एवं लिज सम्झौता व्यवस्थापन गर्ने र जग्गा खरिद गर्ने एंव खरिद कार्यको अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वार्षिक २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए, ५० लाख ७१ हजार सलामी दस्तुर
काठमाडौं । सन् २०२५ को चालु शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं (८ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरद याममा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही ९ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (८ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् । शरद यामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथ प्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पद मार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् । गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका ५ जनाको हिउँ पहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।