यतीको सिमरा उडान शुरु: भाडादर दुई हजार रूपैयाँ मात्र

काठमाडाैं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए । उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । “अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”, प्रवक्ता बर्तौलाले भने । आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उहाँले जानकारी दिए । यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ । विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

निकालिएन कर्मचारी, राखिएन बेतलबी बिदा, ६ महिना यसरी थेगियो ११ सय कर्मचारी

काठमाडौं । ‘यात्रु महानुभावहरु कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन ध्यानदिनु होला । कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला । यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला । अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनु होला । साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला ।’ आजभोलि हरेक जहाज उड्नु र अवतरण हुन अघि यही आवाज गुञ्जिन्छ । यही आवाज सुनेर यात्रुहरुले आफुलाई सचेत पार्छन् । यात्रुले आफूलाई कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिए जहाजमा रहेकी विमान परिचालिकालाई खवर गर्छन् । परिचालिकाले अवस्था बुझेर उचित निर्णय लिन्छन् । बुद्ध एयरले पनि आजभोलि यसैगरी यात्रुहरुलाई सहज किसिमको सेवा दिइरहेको छ । हवाई यात्रा सम्बन्धी निर्देशिका र आफूले तयार पारेको स्वास्थ्य मापदण्ड पालना गरी कम्पनीले यात्रुहरुलाई हवाई सेवा दिइरहेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रमा ठूलो असर गरेको छ । यो भाइरसले हवाई क्षेत्रमा त झनै ठूलो नोक्सानी गरेको छ । तर यी धेरै जोखिम र चुनौती हुँदाहुँदै पनि कुशल व्यवस्थापनले भने समस्याको समाधान उन्मुख अवश्य गर्छ नै । त्यो उदाहरण बनेको छ मुलुकको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयर । कोरोना भाइरसको कारण विश्वको हवाई सेवा क्षेत्र ठूलो घाटामा गएको र अझै धेरै नोक्सान हुने सक्ने प्रक्षेपण विभिन्न अध्ययनहरुले देखाउको छ । लाखौं मानिसको रोजगारी गुम्ने, ९० हजारभन्दा बढी पाइलटको रोजगारी गुम्न सक्ने अनुमान विभिन्न तथ्यांकहरुले देखाएका छन् भने नेपालमै पनि ६ अर्ब भन्दा बढी नोक्सान भएको तथ्यांक सार्वजनिक भइसकेको छ । कोरोना भाइरसकै कारण नेपालमा पनि चैत ११ गतेदेखि देशव्यापी लकडाउन भयो । सो लकडाउन साउन पहिलो हप्तामा सकियो । सो ५ महिनाको अवधिमा मात्र होइन लकडाउन पछि भएको निषेधाज्ञासम्म पनि हवाई जहाजहरु पार्किङ स्थलमै थन्कि । अन्तर्राष्ट्रिय चार्टर उडान बाहेक त्यो समयम जहाजहरुले उड्न पाएनन् । ६ महिनाको त्यो संकटग्रस्त अवस्थामा ग्राउण्डेड अवस्थामा रहेका हवाई कम्पनीहररु कसरी समान्य अवस्था तर्फ फर्किदैँछन् ? ६ महिनासम्म ती हवाई कम्पनीमा काम गर्ने हजारौं कर्मचारीहरुले कसरी जिविकोपार्जन गरे ? त्यो अवस्था बुझ्न बुद्ध् एयरलाई सम्झिनै पर्छ । देशका हवाई कम्पनीहरुलाई अर्बौको क्षति हुँदा, धेरै हवाई कम्पनीहरुले आफू बाँच्नकै लागि कर्मचारी कटौतीको अभ्यास गरिरहँदा दशकै अग्रणी बुद्ध एयरले भने कर्मचारी कटौति गरेन । सुन्दा नौलो र आश्चयजनक पनि छ । किनकि कोरोना महामारीको कारण देखाउँदै कर्मचारी कटौती नगर्ने निजी कम्पनीहरु सायदै होलान् । अर्थात हवाई कम्पनी मात्र होइन अधिकांश निजी संघ संस्था तथा कम्पनीहरुले कोरोनाको महामारी देखाउँदै कर्मचारी कटौती गरेका छन् । तर, देशभर ११ सयभन्दा बढी कर्मचारी रहेको बुद्ध एयरले महामारीका बेलामा एक जना कर्मचारीलाई पनि बिदाई गरेन ।  कम्पनीका मार्केटिङ, सेल्स एण्ड ग्राउण्ड हेण्डलिङ हेड रुपेश जोशी भन्छन्, ‘कम्पनीको आधार स्तम्भ नै काम गर्ने कर्मचारी हुन्, हामीले हाम्रा स्टाफहरुलाई सधैँ उत्प्रेरित गर्यौं, नेपालको ठूलो हवाई कम्पनी बनाउन भूमिका खेल्ने तिनै कर्मचारी हुन्, नाफा–नोक्सान अवश्य नै हुन्छ, तर समस्या पर्यो भन्ने बित्तीकै कर्मचारी कटौती नै गर्ने निर्णय हामीले गर्न चाहेनौं ।’ कर्मचारी कटौतीभन्दा सबैलाई लेभल हेरेर तलब कटौती गरेको उनले बताए । ‘हामीले लेभल हेरेर २० देखि ५० प्रतिशतसम्म तलब कतौती गर्यौं, तर कर्मचारलाई नै बिदाई गर्ने काम गरेनौं, यसले कर्मचारीहरु डिमिोटिभ हुन्छन्, यो संकटको समयमा कम्पनी पनि बाँच्ने र कर्मचारी पनि बाँच्ने किसिमले हामीले काम गर्यौंं,’ उनले भने । ६ महिनाको अवधिमा व्यवसाय शुन्य रहेको बताउँदै उनले अहिले शुन्य नै रहे पनि भोलि व्यवसाय गर्ने दिन अवश्य नै आउँछ नि भन्ने किसिमले कर्मचारीहरुलाई पनि त्यही किसिमले मोटिभेट गरेर काम गरेको उनले बताए । ‘११ सय कर्मचारीको चुल्हो निभ्न नदिनु हाम्रो नैतिक दायित्व पनि हो, यो बीचमा बरु हामीले शुन्य आम्दानी भएपनि कर्मचारीको क्षमता विकासमा काम गर्यौं,’ उनले भने । जोशीले लकडाउन र निषेधाज्ञाको समयमा जहाज ग्राउण्डेड नै भएपनि जहाजको नियमित मर्मतसम्भार गर्ने र जहाजलाई समय–समयमा स्टार्ट तथा उडान गर्ने काम गरेको बताए । ‘हामी लकडाउन छ भनेर चुप लागेर बसेनौं, यो समयमा पनि १ सयभन्दा बढी पाइलटलाई तालिम दिया्ैं, इन्जिनियरहरूलाई व्यवस्थित गर्ने काम गर्यौं,’ परिचालिकाहरलाई जहाजमा कसरी सर्भिस दिने भन्ने तालिम दियौं, कर्मचारीको कोरोना बीमा गरिने काम भयो,’ उनले भने । लकडाउन र निषेधाज्ञाको समयमा जहाज नउडे पनि मासिक ५/७ करोड रूपैयाँ खर्च गरेको कम्पनीको भनाई छ । सरकारले हवाई सेवा सञ्चालन सम्बन्धी निर्णय गर्नुभन्दा अगाडि महामारीबाट जोगिएर कसरी सुरक्षित उडान गर्न सकिन्छ भनेर कम्पनीले अभ्यास (डेमोस्ट्रेशन) पनि गरेको उनले बताए । हाम्रो नारा नै ‘संक्रमित रहित उडानको सहयात्री’ भन्ने रहेको बताउँदै उनले बन्दाबन्दी सुरु हुनेबित्तिकै सुरक्षित उडानका लागि निर्देशिका तयार गर्नेदेखिसम्पूर्ण कर्मचारीहरूलाई तालिम र पूर्वअभ्यास पनि पनि गराएको जोशीले सुनाए । कम्पनीको २३ वर्षसम्मको यात्राका क्रममा देखाएको इमान्दारिता र पारदर्र्शीलाई मध्येनजर गर्दै चुनौती र समस्यासँग जुधेरै यहाँसम्म पुगेको उनको भनाई छ । उनले बुद्ध एयरले लकडाउनको समयमा ५ वटा दिल्ली र ५ वटा बंगलादेश चार्टर उडान गरेको जानकारी दिए । असोज ५ गतेदेखि आन्तरिक उडान शुरु भएसँगै २३ वटा उडान गरेको उनको भनाई छ । अब आन्तरिक हवाई सेवा शुरु भएसँगै सबै कर्मचारीहरु काममा फर्केको र अवस्था पनि विस्तारै सामान्य हुँदै जाने उनले बताए । कसरी दिइरहेको छ सेवा ? आन्तरिक व्यवस्थापन मात्र होइन यात्रुहरुलाई सेवा दिन पनि बुद्ध एयर उत्कृष्ट देखिएको छ । अहिले हवाई सेवामा यात्रु विमानस्थलमा प्रवेशदेखि गन्तव्यको विमानस्थलमा ओर्लदासम्म विशेष स्वास्थ्य सुरक्षा अपनाई बुद्धले सेवा दिइरहेकाको छ । यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासाथ दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षा पासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन् । पाससँगै अर्को फाराम दिइन्छ । उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ । पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि ¥याम्प बसभित्र छिर्छन् । जहाज चढ्नेबेला भ¥याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन । त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ । यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चढ्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन् । अहिले बुद्ध एयरसँग अहिले साना ठुला १३ वटा जहाज छन् ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन हस्ताक्षर

विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यावसायीहरुले माग राख्दै आएका छन् । हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बङ्गलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमसँग सिधै हवाई यात्रा गर्न सकिने छ । विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो कार्यक्रमको उद्घाटन गर्दै हाम्रो सङ्घीयता मित्रत्व प्राणालीमा आधारित रहेको बताएका छन् । उनले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम छन् भन्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार व्यक्त गरे । मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको ‘हब’ बन्न सक्ने बताउँदै धार्मिक, पर्यटकीय, भौगोलिक तथा शक्तिपीठले मात्र नभई यो प्रदेश संस्कृति, सभ्यता र प्रकृतिले भरिपूर्ण छ भने । मन्त्री भट्टराईले काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको गौतम बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिए । उनले नेपाल सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको चर्चा गर्दै कोभिड–१९ को महामारीको समयमा पनि सडक, ऊर्जा, विमानस्थलको काम नरोकिएको बताए । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताए । उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिकताले भरिपूर्ण यो प्रदेशमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वच्छ, सुखी र समुन्नत प्रदेशको आकाङ्क्षा पूरा गर्न बल पुग्ने विश्वास व्यक्त गरे । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले यस प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पाँचवटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको स्तरोन्नतिपछि यस प्रदेशको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस