योेगेश भट्टराईको एक्सनः चालु आवको काम १५ दिन भित्र सक्नुपर्ने, कर्मचारी गयल भए कामबाटै हटाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो मन्त्रालयका कर्मचारीहरुसँग कडा रुपमा प्रस्तुत भएका छन् । उनी अहिले हरेक हप्ताको एक दिन मन्त्रालय मातहतका हरेक शाखामा गएर निरिक्षण गरिरहेका छन् । आज पनि उनले निरिक्षण गरेका छन् । उनले निरिक्षण गर्दै चालू आर्थिक वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । यस्तै, उनले सम्पूर्ण कर्मचारीलाई नियमित उपस्थित हुने ब्यवस्था मिलाउन र अनुपस्थित भएका कर्मचारीको पनि अनुपस्थित हुनुको कारण स्पष्ट सँग खुलाउन निर्देशन दिइएको बताइएको छ । बिना कारण अनुपस्थित हुने कर्मचारीलाई कामबाटै हटाउने यो भन्दा अगाडि नै बताइसकेका छन् । उनले आज सरकारले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु भनेको निर्णय कार्यान्वयन गराउन र गर्न पनि निर्देशन दिएका छन् ।

होटल व्यवसायीका मागः लकडाउन अवधिभर घर भाडा पूर्ण छुट, एक वर्षसम्म सबै कर मिनाहा, ऋण तिर्ने समय २ वर्ष सार्नुपर्ने

काठमाडौं । कोरोना भाइरसको कारण होटल व्यवसायी चौपट नै भएको भन्दै होटल व्यवसायी महासंघले १४ बुँदे माग राखेका छन् । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिड–१९ का कारण धेरै होटलहरु बन्द गर्नुपर्ने बाध्यता आएको भन्दै सरकार समक्ष विभिन्न १४ वटा मागहरु राखेको हो । होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् । यस्तै, विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्नुपर्ने, व्यवसायीहरुले संघ, प्रदेश र स्थानीय गरि तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउने लागायतका मागहरु राखेका छन् । लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एक वर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने महासंघका माग छन् । महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने पनि चेतावनी दिए ।

बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ । एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीको वरिष्ठ क्याप्टेन (इन्सट्रक्टर पाइलट) प्रमोद थापाले बताए । उनले सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने बताए । “उडान सुरक्षालाई मजबुद बनाउनुका साथै पाइलटको क्षमता र दक्षताका लागि धेरै उपयोगी हुन्छ, सम्भवतः यो दक्षिण पूर्वी एशियामा पहिलो हो”, क्याप्टेन थापाले भने । उनका अनुसार यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ । कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने उनको भनाइ छ । एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ । क्याप्टेन थापाले सिमुलेटरमा ‘स्किल टेस्ट’ र ‘नलेज टेस्ट’ हुने र मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने बताए । उनले भने, “उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशालगायतको जानकारी लिनका लागि यो सिमुलेटरबाट प्रभावकारी हुनेछ ।” पहिला यही प्रकृतिको तालीमका लागि थाइल्याण्डको बैंकक जानुपर्ने बाध्यता थियो । यो प्रविधि सञ्चालनपछि अब नेपालमै सहज रुपमा प्राविधिक क्षमता अभिवृद्धि गर्न उपयोगी हुनेछ । जहाजको कपपिट जस्तै सिमुलेटरमा ‘मेनुअल फङ्सन’ का आधारमा हुन्छ । यसले उडानको जहाजको गति, दुरी, अवतरणका लागि अपनाउनुपर्ने सजकता तथा जहाजमा कुनै पनि किसिमको समस्या आएमा त्यसलाई कसरी निराकरण गर्ने भन्ने गाइड गर्ने जनाइएको छ । उदाहरणका लागि काठमाडौ–कोलकात्ताको उडान गर्दा त्यहाँको ‘होल सिनारियो’ सिमुलेटरबाट प्रशिक्षण दिन सकिन्छ । धावनमार्गको कतापट्टिबाट कसरी अवतरण गर्ने भन्नेबारे सहज जानकारी दिनसकिन्छ । नयाँ प्रविधिबारे बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रत्यक्ष अवलोकन गराएको थियो । रासस