हवाई इन्धनको मूल्य घटाउन वायुसेवा कम्पनीकाे माग

काठमाडौं । वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन माग गरेको छ । कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको बताउँदै सङ्घले हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन माग गरेको हाे । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमको हल्लाले विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएकाले हवाई सेवा प्रभावित भएको जनाएको हो । वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै सङ्घले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार घटेको जनाएको छ । विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै सङ्घले सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सङ्घको यही २२ गते भएको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिना तलब छुट्टिमा जान प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका कार्य गरिने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । विगतमा सङ्कटको बेला सबैले साथ दिएको इतिहास रहेकाले अहिले परिस्थितिको सामना गर्न पनि साथ र सहयोग प्राप्त हुने सङ्घले विश्वास लिएको छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब रु चार अर्ब क्षति हुने सङ्घले अनुमान गरेको छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ ।  

त्रिभुवन विमानस्थल बुटिक बनाउने प्रक्रिया अघि बढ्याे, छ महिनाभित्रै सम्पन्न हुने

काठमाडाैं । विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्ष नै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ । अबको छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताए । उनले भने, “विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।” विमानस्थलमा यात्रु व्यवस्थापन गर्ने क्यानोपी बनाउने काम भने कम चुनौतीपूर्ण छैन । विद्युत्, ढल र खानेपानी व्यवस्थापन गर्नुपर्ने भएकाले भौतिक संरचना निर्माणमा ढिलाइ हुने विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी विमानस्थल सिङ्घार्ने काम भइरहेको हो । सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । तर खरिद प्रक्रियाको झन्झट, ठेकेदारको कमजारी तथा आवश्यक सामग्रीको अभावले पनि बुटिकको काममा ढिलाइ भएको विमानस्थलको तर्फ छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यही फागुन २१ गते बुधबार विमानस्थल पुगेर विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम छ महिनाभित्र सक्न निर्देशन दिनुभएको थियो । विमानस्थलमा सरोकारपक्षलाई राखेर कामको योजनाबद्ध तालिका र मितिसहित उक्त समयावधिभित्रै काम सक्न कडा निर्देशन दिनुभएको हुन्। मन्त्री भट्टराईले आगामी वैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणाधीन नयाँ आवागमन हलको सम्पूर्ण काम चैत २१ गतेभित्र, निर्माणाधीन नयाँ प्रस्थानहलको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका छन् । त्यस्तै, एशियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आइसिपी सबै काम तीन वर्षभित्र, प्यारलल टयाक्सी वेको निर्माणका लागि आगामी तीन महिनाभित्र, कन्भेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्नुपर्नेछ । देशकै ऐना मानिने अन्तरराष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणाअनुरुप धमाधम साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत एक महिनाअघि अन्तरराष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको थियो । जहाजबाट ओर्लेपछि टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति राखिएको छ । विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने प्रयास भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरुप विमानस्थलको स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । सोही योजनाअन्तर्गत अब टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो । “बुटिक एयरपोर्टको अधिकांश काम सकिएको छ, विमानस्थलको साजावटदेखि रङरोगनको काम सकिएको छ, अब क्यानेपिकको काम मात्रै बाँकी हो सिभिल इञ्जिनीयरिङको काम भएकाले यसमा केही समय लाग्ने भए पनि बुटिकको अरु सबै काम करिब सकिएको छ”,महानिर्देशक पोखरेलले भने । विमानस्थलको भित्रीतर्फ रङरोगन तथा मर्मतको काम सकिएको छ । आन्तरिकतर्फ पनि बुटिकको रुपमा रुपान्तरणको काम अघि बढेको महानिर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठमन्दिर आदि झल्कने विविध तस्वीरले पाहुनालाई मोहित तुल्याउँछ । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ । पछिल्लो समय विमानस्थलको रूप फेरिएको मात्र छैन, सफा पनि बन्दै गएको छ । विमानस्थलमा अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाइएको छ । अध्यागमन विभागले विकास गरेको नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । यो प्रणाली लागू भएपछि विमानस्थलमा यात्रुको विवरण पहिचान र तथ्याङ्क व्यवस्थापन गर्न सहज हुने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने अन्तरराष्ट्रिय विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम पनि भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा विमानस्थलको चाप बढ्ने निश्चित छ । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने प्राधिकरणको अनुमान छ । विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

कोरोनाले एयरलाइन्स उद्योगमा १३१ खर्बको क्षति

काठमाडौं । कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे। यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो । तर, त्यसपछि कोरोनाले विश्वका करीव ८० मुलुकमा आफ्नो प्रभाव बिस्तार गरिसकेको छ । यसले हवाई यात्रुमा व्यापक कमी आउँदा त्यसले एयरलाइन्स उद्योगमा ठूलो क्षति हुने प्रक्षेपण आएटाले गरेको हो । अहिले हवाई यात्रुको संख्यामा गिरावट आएको छ । यसले ठूलो धनरासी नोक्सान हुने प्रक्षेपण ले गरेको छ । आएटाका अनुसार कोरोना भाइरसको संक्रमणसँगै एयरलाइन्स कम्पनीको शेयर मूल्यसमेत विश्वव्यापी रुपमा करीव २५ प्रतिशतले गिरावट आइसकेको छ । यो सन् २००३ यताकै सबैभन्दा कम रहेको आएटाको भनाइ छ । एसियामा र यूरोपमा ठूलो क्षति कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति बेहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले बेहोर्नेछन् । यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान छ । फ्रान्समा १०, जर्मनीमा १० र इरानमा १६ प्रतिशतको गिरावट देखिने प्रक्षेपण आएटाको रहेको छ । समग्रमा हेर्दा अष्टे्रलिया, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनाममा मात्र २३ प्रतिशतले यात्रु गिरावट आउँदा यी मुलुकका वायुसेवा कम्पनीले ४९.७ अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने भएका छन् । नेपाल समेत रहेको एसिया प्यासेफिक क्षेत्रमा यात्रुको संख्या समग्रमा ९ प्रतिशतको गिरावट आउने छन् । यसले ७.६ अर्ब डलर बराबरको नोक्सानी हुनेछ । इटाली, जर्मनीसहित १० यूरोपेली मुलुकमा २४ प्रतिशतले यात्रु घट्दा ३७.३ अर्ब डलरको नोक्सानी यस भेगका कम्पनीले बेहोर्ने भएका छन् । इराक, बहराइन, कुवेत, लेवनान र यूइर्एमा २३ प्रतिशतले यात्रु घट्दा ४.९ अर्ब डलर बराबरको नोक्सानी हुने आएटाको प्रक्षेपण रहेको छ । अमेरिका र क्यानडामा १० प्रतिशतले यात्रु घट्दा २१.१ अर्ब डलर बराबरको आर्थिक नोक्सानी हुने आएटाले गरेको प्रक्षेपणमा उल्लेख छ । हाल विश्वमा २ लाखभन्दा बढी उडान रद्द भइसकेका छन् ।