मौलाकाली केबलकारलाई जग्गा प्राप्ति गर्न सरकारले दियाे स्वीकृति
काठमाडाैं । सरकारले विभिन्न आयोजना तथा संरचनाको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । यही फागनु १२ गतेको मन्त्रिपरिषद् बैठकले मौलाकाली केबलकार आयोजनाको क्षेत्रभित्र पर्ने (१०-१० मिटरसहित केही टावर संरचना रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैँडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिद्धार्थ केबलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका साविक आरुबोटे गाविस-५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापना, गोरखाको पालुङटार नरगपालिका साविक च्याङ्ली गाविस-५ को एक रोपनी जग्गा प्रहरी चौकी भवन, साविक खोप्लाङ गाविस-८ को ३-१-०-० रोपनी पर्यटकीय पूर्वाधार, साविक पालुङटार गाविस-७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस-४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए। सिरहाको नराहा गाउँपालिका-५ को ०-८-० बिघा जग्गा प्रशासकीय भवन, साविक बर्छवा गाविस-६ को ०-३-१ बिघाा दिनाभद्री प्राविको भवन र वडा नं ८ को ०-५-९ बिघा एक विद्यालयको भवन निर्माणको प्रदान गरिएको छ । बाराको देवताल गाउँपालिका साविक रौवाही गाविस-७ को ३-१२-१० बिघा बहुउद्देश्यीय रङ्गशाला निर्माण, झापाको गौरीगङ्ज गाउँपालिका-२ को ३-०-० बिघा ‘ल्याण्डफिल साइट’ निर्माण, गोरखाको धार्चे गाउँपालिका-५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ । बैठकले बागलुङको गलकोट नगरपालिका साविक मल्म गाविस-३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि, रौतहटको राजपुर नगरपालिका साविक राजपुर गाविस-३ को ०-१०-० बिघा नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ५ को ०-५-० बिघा स्वास्थ्य चौकी भवन निर्माणको लागि स्वीकृति दिएको छ । यसैगरी बैठकले स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गरेको छ । यस्तै संस्था दर्ता (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत र काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिए । रासस
स्व. अधिकारीको पूर्णकदको शालिक अनावरण
पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व. अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरे। उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताए । उनका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गराए । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताए । संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा राखेका छन् । सांसद खगराज अधिकारीले स्व. अधिकारीका सपनालाई पुरा गर्न अविचलित रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्व अधिकारीले देखाएको बाटोलाई आत्मसात गर्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिएका छन् । पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उनले जानकारी दिए । महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए । रासस
रवीन्द्रको स्मृतिमा पर्यटन पुरस्कार घोषणा
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ । अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् । दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने बताए । मन्त्री भट्टराईका अनुसार, मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाउने छ ।