डेल्टिन समूहले शुरु गर्यो पहिलो अन्तर्राष्ट्रिय क्यासिनो, म्यारिएट होटलबाट २५० जनाले पाए रोजगारी
काठमाडौं । डेल्टिन समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनो शुरु गरेको छ । समूहले काठमाडौंको नक्सालस्थित होटल म्यारिएटबाट उक्त क्यासिनोको शुभारम्भ गरेको हो । एभरेष्ट हस्पिट्यालिटी एण्ड होटलसँग सम्झौता गरेसँगै कम्पनीले यो नयाँ परियोजना शुरु गरेको हो । यसमार्फत समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो-पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै, पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ । डेल्टिन समूह भारतको एक सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि विस्तार हुँदै आइरहेको छ । क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमाअभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो । यो क्यासिनो संचालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको कम्पनीले जनाएको छ । क्यासिनो शुभारम्भको अवसरमा डेल्टिन समूहका अध्यक्ष तथा सीईओ अनिल मलानीले भने,- “हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालनहाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका संचालक एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि. सँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं । हामी दुवै कम्पनीहरु उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौं । हाम्रो समान अवधारणा र मूल्य मान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ ।”
नेपाल भ्रमण वर्ष सफल हुन्छ, पर्यटनले देशको मुहार फेर्छः सुरज वैद्य
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको छ । सरकारले जसरी भ्रमण वर्षको घोषणा गर्यो, त्यही अनुसारको व्यवस्थापन र भौतिक पूर्वाधार भने निमार्ण गर्न सकेको छैन । नेपाल सरकार र भ्रमण वर्षको सचिवालयले अघि सारेका धेरै रणनीति र योजनाहरुबाट पछाडि हट्नु पर्यो । यस्तो अवस्था किन आयो ? पर्यटकीय गन्तव्यसम्म पुग्न के कस्ता पूर्वाधारहरु निर्माण भएका छन् ? र, नेपाल भ्रमण वर्षका चुनौतिहरु केके हुन् भन्ने जस्ता विषयमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैधसँग विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न के कस्ता रणनीतिहरु अपनाउँदै हुनुहुन्छ ? नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । भ्रमण वर्षका लागि यतिले मात्र पुग्दैन । अहिले हामीले गर्न खोजेको नयाँ गन्तव्यहरु, नयाँ लगानी र नयाँ रोजगारी हो । हामीले नेपाली युवालाई रोजगारी प्रदान गर्न पनि आवश्यक छ । अहिले नेपालको सन्दर्भमा तीन वटै सरकार निर्माण भएका छन् । सातै प्रदेशहरुमा पर्यटक भित्र्याउनका लागि प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र निजी पर्यटन व्यवसायीहरुको समन्वयमा नयाँ गन्तब्यहरु पनि सुरुवात गर्नतर्फ हामी लागि रहेका छौं । तपाईलाई के लाग्छ, नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउलान् त ? यो २० लाख एउटा नम्बर मात्र हो । यो नम्बर महत्वपूर्ण छ । हामीले सन् २०२० लाई फुटबल खेल जस्तो नठानौं, जहाँ मान्छे आएर रंगशाला भरियोस् । नेपालको लगानी वृद्धिमा हामी अगाडि बढौं । विदेशीलाई नेपाल चिनाउनु पर्यो भन्ने हिसावले अगाडि बढ्नुपर्छ । नोबेल कोरोेना भाइरसको असर नेपाल भ्रमण वर्षमा अवश्य नै पर्छ । तर, पनि हामी यो वर्ष २० लाख पर्यटक अवश्य नै भित्र्याउँछौं । यसअघिका भ्रमण वर्षको अनुभव त्यति सन्तोषजनक छैन, यो वर्ष चाहिँ २० लाख पर्यटक भित्रिन्छन् भन्ने आधार के हो ? पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणमा धेरै ध्यान दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानु भयो भने धरै परिवर्तन भएको देख्न सक्नुहुन्छ । पाँच महिना अगाडिको विमानस्थल र आजको विमानस्थलमा धेरै फरक छ । सरकारको प्रयास जारी नै छ । पूरा भएकौ छैन । पूरा गर्न तर्फ हमी लागिरहेका छौं । यो अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए हामीलाई सजिलो हुन्थ्यो । यो छिटो निर्माण हुन्छ भन्ने हाम्रो आशा छ । अर्को एक वर्षपछि पोखरा विमानस्थल पनि निर्माण भइसक्नेछ । यस्ता पूर्वाधारले नेपालको पर्यटन क्षेत्रलाई फड्को मार्न धेरै ठूलो सहयोग पुग्ने देखिन्छ । पहिलेको भ्रमण वर्षमा नम्बरलाई बढी प्राथमिकता लिएर काम गरिन्थ्यो । मैले भन्ने गर्छु, म एउटा व्यपारी हो । हल भर्ने काम म चाहन्नँ । किनकि हल आज भरिएर भोलि खाली भयो भने त्यसको औचित्य रहँदैन । हाम्रो लक्ष्य भनेको नेपालमा बढी नयाँ लगानी भित्र्याउने हो । रोजगारीका लागि नेपाली युुवा विदेशिरहेका छन् । नेपाली श्रमशक्तिले अन्य देशको होटल, अस्पताल बनिरहेको छ । अब नेपालीले नेपाल बनाउनु छ । त्यसैले नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी युवालाई रोजगारी दिन र आफ्नै देशमा बसेर पर्यटन क्षेत्रमा लगाउनका लागि जोड दिन्छौं । पहिलेकोभन्दा भौतिक पूर्वाधारमा ध्यान दिएका छौं । त्यसले हाम्रो अपेक्षा अनुसारको पर्यटक आउँछन् भन्ने विश्वास हो । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्यो तर त्यसअनुसारको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा ध्यान दिएन भन्ने पनि कुरा छ, तपाईले यसलाई कसरी लिनु भएको छ ? हामीले गर्नु पर्ने धेरै नै छ । आशा गरौं कि यो स्थीर सरकारले नेपाल भ्रमण वर्ष २०२० मा मात्र होइन, आउने वर्षहरुमा पनि यसलाई निरन्तरता देओस् । तपाईले भन्नुभएको कुरा ठीक हो । नेपालका सडकहरु सुधार्न बाँकी नै छ । विकास भन्ने कुरा निरन्तर प्रक्रिया हो । सबै विषय २०२० मै हुन्छ भन्ने कुरा मलाई लाग्दैन । विभिन्न पर्यटकीय सम्पदाहरुमा जाने सडकहरुको विस्तार पनि भइरहेको छ । यसलाई निरन्तर अगाडि बढाउनु पर्छ । सरकारले विशेष पहल गर्नु पर्छ । प्रदेश सरकारको साथ पनि हामीलाई चाहिन्छ । उनीहरुबाट धेरै काम हुने सम्भावना म देख्छु । नेपालमा सबैभन्दा बढी पर्यटक आउने भनेको भारत र चीनबाट हो । कोरोना भाइरसको कारण चीनमा समस्या छ, केही समयअघि मात्रै मकवाननपुरको दामनमा ८ जना भारतीय पर्यटकको निसासिएर मृत्यु भयो, यसले पनि भारतमा नकारात्मक सन्देश प्रवाह भएको छ । यी दुई घटनाले नेपालको पर्यटनलाई कस्तो असर पार्छ ? असर अवश्य नै पार्छ । पर्यटनका लागि नेपालको मात्र नभएर संसारकै लागि सबैभन्दा ठूलो मार्केट चीन नै हो । जतिबेला चीनको राष्ट्रपति नेपाल आउनु भएको थियो, उहाँले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि चीन लाग्छ भन्नुभएको थियो । बुद्धिष्ट टुरिजमलाई बढाउँछु पनि भन्नु भएको थियो । त्यही आधारमा काम र लगानी पनि हामीले चीनमा गरेका थियौं । अहिले वार्षिक २ लाख चिनियाँ पर्यटक नेपाल आउँछन् । यो संख्या बढाएर ५ लाख बनाउनु छ । अहिलेको तीन महिना के हुन्छ भन्ने हामी हेरौं । कोरोना भाइरसले घटाउन त अवश्य नै घटाउँछ । संख्या घट्न नदिन हाम्रो प्रयास जारी नै छ । चीनलाई पर्यटनको एउटा मूख्य मार्केटका रुपमा हामी लिन्छौं । त्यसमा हामी अगाडि बढिरहेको छौं । भारतको सन्र्दभमा हामीले धेरै काम गरिसकेका छौं । भारतबाट पर्यटनको आगमन आवश्य नै बढ्छ । भारतबाट धार्मिक पर्यटकहरु ल्याउन फोकस गरिरहेका छौं । त्यसले गर्दा पर्यटक अवश्य नै बढ्छ । जुन अस्ति निसासिएर आठ जना पर्यटकको मृत्यु भएको थियो । त्यो अवश्य नै दुःखदायी छ । हामीले ‘क्वालिटी अफ सर्भिस’मा सुधार्नु पर्ने देखिन्छ । नेपाल सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । हामीले पर्यटकलाई जुन किसिमको सुविधा दिनु पर्ने हो, त्यसमा पनि कमी भइरहेको छ भन्ने कुरा यो घटनाबाट पनि बुझ्न सकिन्छ । यसतर्फ सर्तक भएर काम गर्नुपर्छ भन्ने हामीले बुझिसकेका छौं । यो घटनाले पनि केही असर त पर्छ नै । तर, त्यस्तो खालको ठूलो असर पार्न सक्छ भन्ने मलाई लाग्दैन । दुर्घटना भन्ने विषय संसारमा हुने प्रक्रिया हो । तर, यो घटनाले नेपाललाई सुधार गर्नु पर्ने पाठ सिकाएको छ । यी दुई घटनाले नेपाली पर्यटन बजारलाई कतिसम्म घाटा गर्न सक्छ भन्ने केही पूर्वानुमान गर्नुभएको छ ? अहिले नै कति असर गर्न सक्छ भन्न हामीलाई गाह्रो छ । जनवरी महिना चीनियाँहरुको छुट्टीको समय पनि हो । जब चिनियाँहरु विदेश जान्छन्, यसले केही न केही असर ल्याएको छ । त्यो असर नेपालमा पनि पर्छ । अब किटान गरेर यति नै असर र घाटा गर्न सक्छ भन्न गाह्रो छ । तीन महिनापछि के हुन्छ । हामीले भ्रमण वर्षका लागि जति नै काम गरेका छौं त्यो भन्दा दोव्बर चीनियाँ पर्यटक ल्याउन हामी अबको नौ महिनामा त्यसमा काम गर्छाैं। नेपाल भ्रमण वर्ष सचिवालय जुन रणनीति र योजना लिएर अगाडि बढ्छ पुनः त्यसबाट पछि हट्नु परेको अवस्था छ, यस्तो किन भइरहेको छ, यो पूर्व–योजनाबिनै गरेको काम हो भन्न मिल्छ ? हामी पछाडि हटेको छैनौं । विभिन्न ठाउँमा १ सय ८ यतीको मस्कट राख्ने हाम्रो चाहना हो । हामीले अहिलेसम्म २२ वटा बनाइसकेका छौं । कला बनाउन र सिर्जना गर्न धेरै समय लाग्छ । राम्रा–राम्रा कला भएका कलाकारहरुले यती बनाइरहेका छन् । यसलाई अगाडि नै बढाइरहेका छौं । निजी क्षेत्रले ओनरसीप गरेर लगानी गरिरहेको छ । भ्रमण वर्षले चाहेको अवस्थामा सहयोग पनि गरिरहेको छ । ठूलो रकम हामीले दिन सकेका छैनौं । तर, निजी क्षेत्रको यो प्रयास एकदम राम्रो छ । हरेक प्रदेशले एउटा यती माग गरिरहेको छ । हरेक कलेजले एउटा यती मागिरहेको छ । यसको माग बढ्दै गएको छ । हाम्रो एउटा यति भुटान गइसकेको छ । दोस्रो यती वासिन्टन डीसी जाने क्रममा छ । विदेशमा पठाउने काम पनि गरिरहेका छौं । यो आजको भोलि हुने होइन । तर, २०२० को अन्त्यसम्म १ सय ८ वटा यती बनाऔं भन्ने हाम्रो चाहना छ । तपाइले यती हटाइएको छैन भन्न खोज्नुभएको हो ? हो, हामीले यती हटाएका छैनौं । हामीले स्थानीय व्यक्तिहरुको सेन्टीमेन्ट नबुझेको हुन सक्छ । मलाई लाग्दैन कि कलाकारहरुले जानी–जानी अथवा अरुको चित्त दुख्ने गरी यस्तो आर्ट गरेका हुन् । तर, केही गुनासो आए । हामीले कलाकारहरुसँग छलफल गरेर त्यसको समाधान पनि गर्यौं । अब आउने दिनमा यस्ता खालका कुराहरुलाई ध्यान दिएर काम गर्छौं । हामी पछि हटेका छैनौं । अहिले केही दिनका लागि पछाडि मात्र ल्याइएको हो । केही दिन पछि दरवार स्क्वायरमा हामी यती राख्दैछौं । यतीको विषयमा धेरैमा उत्सुकता छ, यती के हो ? मलाई पनि थाहा छैन । हामीले यती कस्तो हुन्छ, आँखाले देखेका छैनौं । तर, यती भन्ने शब्द नेपालबाट सुरु भएको हो । हलिउड जस्ता सिनेमामा पनि यतीको प्रयोग भएको देखिन्छ । त्यसैले पनि हामी यसको महत्व बुझन् सक्छौं । तर, हामी नेपालीले यती बिर्सिसक्यौं । यो दु.ख लाग्दो कुरा हो । यतीमा सबैको इन्ट्रेस्ट छ । यती नेपालको हो । यती छ वा छैन भन्ने त्यो भोलिको कुरा हो । हामीले बनाएको यो एउटा आर्टिष्टको अवधारणा हो । यतिलाई एउटा जंगली जनावरका रुपमा हामीले देखेका छौं । हामीले बुझेको यती एउटा धार्मिक, शान्तिको प्रतिक हो जस्तो मलाई लाग्छ । हामीले एउटा स्प्रिच्युअल यती देखाउन खोजेका हौं । नेपालको पहिचान दिन र यो नेपालको हो भनेर चिनाउनका लागि प्रयोग गरिएको हो । धेरैले नेपाल भ्रमण वर्ष हतारमा घोषणा गरियो भनेर पनि भन्न थालेका छन्, तपाईलाई के लाग्छ , नेपाल भ्रमण वर्ष योजनाबद्ध रुपमा घोषणा भएको हो ? यो सरकारको कार्यक्रम हो । नेपाल सरकारले देशको अर्थतन्त्रका लागि पर्यटन महत्वपूर्ण हो भन्ने ठान्छ । युवालाई रोजगार दिलाउने पर्यटन हो भनेर सरकारले बुझेको छ । जहाँसम्म समयको सन्र्दभमा छिटो होला तर यो राम्रो सुरुवात हो । हामीले सबै गर्न नसकौंला तर यसलाई निरन्तरता दिएको अवस्थामा नेपालको विकास गर्न सक्छ । म गाउँ–गाउँमा जान्छु, सबैको मुखबाट नेपाल भ्रमण वर्षको नाम सुन्छु । यो राम्रो पक्ष हो । नेपाल सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै एक सय पर्यटकीय गन्तव्यहरु पनि सार्वजनिक गरेको छ, ती पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि भौतिक पूर्वाधारको अवस्था चाहिँ कस्तो छ ? अहिले हामी अझ नयाँ गन्तव्यहरु खोज्ने प्रक्रियामा नै छौं । विभिन्न विकट तथा दुर–दराज वस्ती तथा ठाउँहरुका भौतिक पूर्वाधार निर्माणको प्रक्रियामा छन् । नयाँ प्रडक्ड दिन खोजेका छौं । भ्रमण वर्षले एकै वर्षमा सबै पुर्याउँछ भन्ने मलाई लाग्दैन । तर, सुरुवात र छलफल गरी सम्भावना खोज्न सक्छौं । एउटा जोश अहिले अगाडि बढिरहेको छ । यो जोसलाई अगाडि बढाएर यसलाई ठाउँमा पुर्याइयो भने हाम्रो लक्ष्य पूरा हुन्छ । नेपाल भ्रमण वर्षको एक महिना बितिसकेको छ, यो अवधिमा अघिल्लो महिनाको तुलनामा पर्यटक आगमन घटेको देखिन्छन् , यसलाई भ्रमण वर्ष सचिवालयले कसरी लिएको छ ? अवश्य नै घटेको छ । जनवरी महिना पर्यटकका लागि अफ सिजन नै हो । हामी यसप्रति त्यति चिन्तित छैनौं । हाम्रो सिजन मार्चबाट सुरु हुन्छ । मार्चमा अर्को अध्ययन गर्छौं । चीनमा फैलिएको कोरोना भाइरसका कारण पनि पर्यटक घटेका हुन् । तर, हामी चिन्तित छैनौं । हामी हाम्रो लक्ष्यलाई जसरी पनि सफल पार्छौं । भ्रमण वर्षको अवधिमा यो–यो काम गर्न सक्छु भनेर केही सोच्नु भएको छ ? अब छिट्टै नै केही नयाँ पर्यटकीय गन्तव्यहरु स्थापना गर्ने सोचमा छौं । नयाँ लगानी भित्र्याएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो चाहना हो । नेपालीका छोराछोरी दैनिक विदेशिरहेका छन् । अहिले हामी रेमिट्यान्समा रमाइरहेका छौं । तर, दु.खको कुरा, दिनको तीन वटा नेपालीका लासहरु फर्किन्छन् । यसलाई घटाएर शुन्यमा पार्न सकियो भने त्यसमा सफलता हासिल गरेको मानिन्छ । नेपाली युवाले नेपाल छोड्न नपरोस् । नेपालमै काम गर्ने वातावरण होस् र पर्यटनमा नयाँ लगानी बढ्न सक्छ भन्ने आशा हामीले गरेका छौं । हाम्रा लागि सबैभन्दा बढी महत्वपूर्ण विषय यही हो । नेपाल भ्रमण वर्ष २०२० का चुनौतिहरु के–के छन् ? संसारमा के हुन सक्छ हामी यतिकै भन्न सक्दैनौं । अनिश्चि रुपमा जे पनि हुन सक्छ । जस्तै, चीनको कारोना भाइरसको संक्रमणलाई लिऊँं । यो हामी कन्ट्रोल गर्न सक्दैनौं । तर, नेपालको सन्र्दभमा कुरा गर्दा हाम्रो देश सुन्दर छ । नेपालमा भएको स्रोत साधन प्रयोग गरेर पनि उल्लेख्य काम गर्न सक्छौं । यी कुराहरुलाई अगाडि लिएर काम गर्ने हो भने भ्रमण वर्ष सफल हुन्छ । तर, नभएका र नकारात्मक कुरालाई मात्र औंल्याउने हो भने हरेक क्षेत्रमा गाह्रो हुन्छ । लक्ष्य भेटाउन समय लाग्छ । चुनौति धेरै छन् । तर चुनौति छन् भन्दैमा पछि हट्दैनौं । हामी त्यो ठाउँमा पुग्छौं र नेपाललाई विकास गर्छांै भन्ने मनासायले अगाडि बढिरहेका छौं । हामी गर्न सक्छौं । अरुभन्दा हामी कम छैनौं । गरिब छैनौं । यही हिसाबले अगाडि बढ्यो भने सबै चिज ठीक हुन्छ ।
गौतम बुद्ध रंगशालालाई ग्लोबल आइएमई बैंकले दियाे एक करोड रूपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् । देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो । राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी छ । ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास राख्दै शुभकामना व्यक्त गर्दछ ।