पूर्वका दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने
विराटनगर । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । उनले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र सङ्घीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले जानकारी दिएका छन् । प्याकेज टूरका लागि एक यात्रुले रु २३ हजार तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज एवं हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । खासगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका लागि हजारौँ तीर्थालुले लाभ पाउने अनुमान गरिएको छ । पहाडी क्षेत्रका विमानस्थल ५०० देखि ७०० सम्मको रनवे हुने र यस्ता रनवेमा ठूला जहाज जान नसक्ने अवस्थामा सीता एयरले सेवा शुरु गर्नु यस क्षेत्रका जनताका लागि फाइदा पुग्ने बताइएको छ । यही मङ्सिर २९ गतेदेखि शुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रवद्र्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय रहेको बताएका छन् । रासस
१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि खुल्यो
चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन् । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।
हिमालय एयरलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान भर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एयरलाइन्स क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेब्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एयरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले क्वालालम्पुरको उडान पुर्नसंचालन गर्दै मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुहरुलाई व्यावसायिक अवसर प्रदान गर्ने र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठ बताएका छन् । हिमालय एयरलाइन्सकाु पुनःआरम्भ उडान H9 ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्सकाे आवागमन उडान H9 ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो । साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ । उडान नं. बहिर्गमन विमानस्थल बहिर्गमन समय आवागमन विमानस्थल आवागमन समय दिन H9 ८९० काठमाडौं २१ः२० घण्टा क्वालालम्पुर ४ः३०ंं१घण्टा सोम,विही H9 ८९१ क्वालालम्पुर ५ः३० घण्टा काठमाडौं ७ः५५ घण्टा मंगल, शुक्र उल्लेखित सबै समय स्थानीय समय हुन् ।