दुई वर्षपछि त्रिभुवन विमानस्थलबाट वार्षिक ९० लाख यात्रु ओहोरदोहाेर गर्छन् : राजन पोखरेल
आज डिसेम्बर ७, अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । सन् १९९४ देखि विश्वभर अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाउन थालिएको छ । सञ्चार र प्रविधिमा आएको विकासले संसारलाई सानो गाउँ बनाइदिएको छ, शब्द, आवाज र दृष्यमार्फत । आफै यात्रा गरेर संसार देख्न, अनुभूति गर्न र मज्जा लिन भने हवाई उड्डयनले संसारलाई सानो गाउँ जस्तै सहज बनाईदिएको छ । नेपालमा पनि हवाई सेवाको प्रयोगकर्ता बढ्दै गएका छन् । साथै, हवाई सेवा विस्तार, सुरक्षा र गुणस्तरको बारेमा पनि सर्बसाधारणको चासोको विषय बन्दै गएको छ । यस क्षेत्रको मुख्य सेवा प्रदायक र नियामक दुबै भूमिकामा रहेको नागरिक उड्डयन प्राधिकरणले के कस्तो काम गर्दै छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत विकासन्युजका लागि सन्ताेष राेकायाले नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग गरेको विकास वहस । करिब तीन दशकदेखि नागरिक उडड्यनको क्षेत्रमा काम गरिरहनु भएको छ । नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी समालेको पनि ५ महिना भइसकेको छ । तपाईको नेतृत्वमा हाल के के काम भईरहेका छन् ? नागरिक उडड्यन क्षेत्र भनेको निरन्तर सुधार गर्दै जाने कुरा हो । मैले छुट्टै केही ल्याएर ठ्याक्कै देखाउने कुरा भन्दा पनि हामीले अन्तर्राष्ट्रिय नागरिक उडड्यन कुन तरिकाले गइरहेको छ, त्यो लाइनमा हामी जानु पर्ने हो । सन् १९९८ मा उडड्यन प्राधिकरण स्थापना भयो । २० वर्षको अवधिमा हवाई क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । हामी नियामक पनि हौं । एयर ट्राफिक सेवा पनि प्रदान गर्छौं । एयरपोर्ट पनि चलाउँछौ र बनाउँछौं पनि । त्यसैले यो सबै काम गर्ने भन्दा पनि नियामकले नियामक मात्र भएर बस्नुपर्छ, सेवा प्रदायकले सेवा प्रदान गर्नुपर्छ भनेर यस संस्थालाई दुईटा बनाउने तयारीमा छौं । सोही बमोजिम एउटा नागरिक उडड्यन प्राधिकरण ऐन र अर्को हवाई सेवा प्राधिकरण ऐनको मस्र्यौदा तयार गरेर मन्त्रालयमा पठाइसकेका छौं । त्यो ऐनको रुपमा आईसकेपछि अहिलेको एउटा संस्था अन्तराष्ट्रिय मापदण्ड अनुसार दुई वटा बन्छ । दोस्रो कुरा हामीले विमानस्थल सञ्चालनमा पनि नयाँ मोडालिटीमा जानुपर्छ भन्ने अवधारणा ल्यायौं । जस्तै अहिले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यसलाई यथास्थितिमा सञ्चालन गर्ने भन्दा पनि अन्तराष्ट्रिय ख्याती प्राप्त संस्थालाई आवद्ध गराएर अथवा उनीहरुलाई लामो समयसम्म भाडामा दिएर सञ्चालन गर्ने भन्ने कन्सेप्ट हामीले ल्यायौं । सोही बमोजिम नेपाल सरकारसमक्ष प्रपोजल दिएर हामीले जर्मनको म्युनिक एयरपोर्टसँग सहकार्य गरी विमानस्थल सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । सोही बमोजिम म्युनिक एयरपोर्टसँग हाम्रो वार्ता अगाडि बढिरहेको छ । अर्को हामीले नागरिक उडड्यन तालिम संस्था स्थापना गरेर नयाँ अवधारणामा जानेकी भन्ने सोचिरहेका छौं । अहिले प्राधिकरणले सञ्चालन तालिम विभागलाई ट्रेनिङ इन्स्टिच्यूटको रुपमा लैजाने, त्यसमा अरु स्टेकहोल्डरलाई पनि सहभागि गराउने र हवाई क्षेत्रमा आवश्यक पाइलटदेखि सबै प्रकारको जनशक्ति तयार गर्न काम गर्ने सोचका साथ अगाडि बढेका छौं । त्यस्तै, विभिन्न ठाउँमा विमानस्थल निर्माणदेखि स्तरवृद्धिसम्म काम भईरहेको छ । पोखरा एयरपोर्ट पनि दुर्त गतिमा निर्माण भइरहेको छ । त्रिभुवन विमानस्थलको पनि अवस्था जिर्ण थियो । त्यसको पनि स्तरोन्नती गरिरहेका छौं । त्यसको पुर्नउद्धार गरेपछि रनवेमा चिरा पर्यो, पानी आयो भन्ने गुनासा आएका छैनन् । यहि डिसेम्बर भित्रै हामी रनवे र ट्याक्सीवेको निर्माण सम्पन्न गर्दैछौं । अहिले जसरी जहाज आकाशमा होल्डिङ भइरहेको अवस्था छ, स्तरवृद्धिसँगै त्यसमा सुधार हुन्छ । हवाई कुटनीतिमा पनि धेरै देशसँग समझदारी भएको छ । यसले पनि अन्तराष्ट्रिय हवाई सेवामा सहजिकरण गरेको छ । म्यानमारसँगको रुट बन्द हुने अवस्था थियो उनीहरुसँग वार्ता भएर फेरी त्यो सुचारु भएको छ । हाम्रो हवाई सेवा उडानको क्षेत्रमा राम्रो सुधार भएको छ । यूरोपियन यूनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचिमा राखेको धेरै वर्ष भयो । यसलाई हटाउन के कस्ता प्रक्रियाहरु भइरहेका छन् ? उनीहरुमा नेपालमा धेरै हवाई दुर्घटना हुन्छ, नेपालमा हवाई सेवा प्रदायक संस्था पनि एउटै छ, नियामक निकाय पनि एउटै छ भन्ने परेको छ । हामीले ती धेरै जसो कुराहरु सुधार गरिसकेका छौं । नेपालका हवाई दुर्घटना दर पनि धेरै घटाइसकेका छौं । दुर्घटना रोकिन्छ भनेर ग्यारेन्टी गर्न सक्दैनौं । दुर्घटना कसैले पनि रोक्न सक्दैन तर न्युन गर्न सकिन्छ । यसमा एयरलाइन्स अपरेटरहरुको पनि उतिकै भूमिका छ । त्यसैले यो प्रतिबन्ध खोल्नका लागि समय समयमा वार्ताहरु भइरहेका छन् । आशा गरौं यो छिट्टै नै खोलिन्छ । पहिले नेपालमा विमान असुरक्षित मानिन्थ्यो । पछिल्लो समयमा हेलिकप्टरको पनि दुर्घटना बढ्न थालेका छन्, यसको कारण के होला ? हो, वास्तवमा त्यो बढेको हो । अन्तर्राष्ट्रिय नागरिक उडड्यनको सन्दर्भमा हेर्दा हेलिकप्टर र हवाई जहाज दुर्घटना फरक मानिन्छ । हेलिकप्टर आफैमा कम्प्लेक्स सिस्टम हो । अन्तराष्ट्रिय स्तरमा यसको दुर्घटना एकदमै उच्च छ । तर विदेशमा भन्दा पनि नेपालका दुर्घटना उच्च छ । हाम्रो जुन भौगोलिक अवस्था छ यसमा पनि भर पर्ने कुरा हो । धेरै ठूला पहाडहरुमा गएर रेस्क्यु गर्नुपर्ने अवस्था छ । यति ठूला पहाडहरु अन्य देशमा छैनन् । हाम्रा संरचनाहरु नै जोखिमपूर्ण छन् । तर हामीले सञ्चालन त गर्नु पर्यो । उहाँहरुको अड्केको कुरा हवाई सेवा प्रदायक र नियामक एउटै संस्था हुनु भएन भन्ने हो । त्यसतर्फ हामी अगाडि बढि नै रहेका छौं । प्राधिकरणलाई नियामक र सेवाप्रदाय अलग अलग बनाउन कति समय लाग्छ ? अलग अलग संस्था बन्दा अहिलेको क्यानको जनशक्ति र भौतिक संरचना बाँडिन्छ वा छुट्टै जनशक्ति तयार हुन्छ ? यसको ऐन क्याविनेटमा गएको छ । यो छिट्टै होला भन्ने हामी अपेक्षा गरौं । यसलाई छुट्याउन हामीलाई त्यति समस्या हुँदैन । एउटै संस्थाबाट प्राधिकरण र सेवा प्रदायक संस्था सिर्जना गर्दा पछि दुई संस्थाबीच शक्तिको द्वन्द्व हुने अवस्था हुन्छ नि ? यिनी दुई संस्थाको काम आ-आफ्नो हुन्छ । प्राधिकरणले नियमन गर्छ भने सेवा प्रदायक संस्थाले विमानस्थलको व्यवस्थापन गर्ने, विमानस्थलको सञ्चालन गर्ने लगायतका अन्य सेवा प्रदायक कार्यहरु गर्नेछ । दुवै निकायले ऐन बमोजिम नै काम गर्नु पर्ने हुन्छ । आ-आफ्नो अधिकार प्रयोग गर्ने हो । यसमा कुनै शक्तिको द्वन्द्व हुँदैन । अहिले सुरुमा हामीले कर्मचारीहरुलाई पनि सन्तुष्ट पार्नै पर्छ । यो क्रमिक रुपमा हुने कुरा हो । कर्मचारीले पनि कसरी जानुपर्छ भनेर बुझि सकेका छन् । उहाँहरुलाई पनि विकल्प छ । उहाँहरु आफ्नो योग्यता क्षमता अनुसार जता पनि बस्न सक्नुहुन्छ । त्यसैले हामीले यो बाटो रोजेका हौं । अब नेपाल भ्रमण वर्ष २०२० पनि सुुरु हुँदैछ । नेपाल आउने पर्यटकको लागि एउटा मात्र सुविधा छ हवाई जहाजमा यात्रा गर्नु । यो अवस्थामा विदेशी पर्यटकलाई प्रोत्साहित गर्न तथा नेपालसँगको कनेक्टीभिटी बढाउन के कस्ता प्रयास भइरहेका छन् ? हामीले हाम्रो भौतिक पूर्वाधारहरुको क्षमता वृद्धि गर्ने हो । हामी एयरपोर्टको पनि सञ्चालक भएको नाताले उडान गर्नका लागि आउने डिमाण्ड छ त्यसलाई सहजिकरण गर्ने काम पनि हाम्रो हो । हामीले हाम्रो विमानस्थलको भौतिक संरचना सुधारतफै धेरै काम गरिरहेका छौं । हामीले गुरुयोजना नै बनाएर अगाडि बढाइरहेका छौं । अन्तराष्ट्रिय उडानतर्फ जहाज पार्किङ विस्तार गरेका छौं । त्यस्तै हामीले टर्मिनलको पनि विस्तार गरेका छौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो सीमित क्षेत्र छ । हामी त्यहाँ धेरै गर्न सक्दैनौं । त्यो सीमित जग्गामा मात्र सकेजति भौतिक संरचना बनाउने हो । धेरै काम सम्पन्न हुने अवस्थामा छन् । यो अवस्थामा हामीले धेरै विमानस्थल सुधार गरेका छौं । पश्चिममा धनगढीदेखि पूर्वमा चन्द्रगढीसम्मका विमानस्थलमा स्तरोन्नती गर्ने काम गरेका छौं । यसले हवाई सेवाको सुनिश्चितता वृद्धि हुन्छ । नेकोन एयर, विवि एयर, फ्लाई यति, बुद्ध लगायत नेपालका निजी क्षेत्रका हवाई सेवा प्रदायक विदेश गए, तर असफल भए । हिमालय एयरले पनि राम्रो गर्न सकेको छैन । नेपाली एयरलाईन्सले अन्तराष्ट्रिय बजारमा किन प्रतिस्पर्धा गर्न सकेनन् ? हवाई सेवा भनेको प्रतिस्पर्धाको विजनेस हो । विश्वका ठूला–ठूला र चर्चित हवाई कम्पनी पनि बन्द भएका छन् । जस्तै जेट एयरवेयजकै कुरा गरौं, त्यो भन्दा पहिला किङफिसर पनि बन्द भयो । अहिले एयर ईण्डियालाई पनि भारत सरकारले बिक्रीमा राखेको छ । त्यो दुई पटक प्रयास गर्दा पनि बिक्री हुन सकेको छैन । जति अन्तर्राष्ट्रिय कनेक्टीभिटी राम्रो भएको हवाई कम्पनीहरु पनि बन्द भएका छन् । नेपाल वायुसेवा निगमको जम्मा चारवटा जहाज छ । हिमाल एयरलाइन्सको तीन वटा छ । उहाँहरुको विदेशी कम्पनीहरुसँग व्यापारीक साझेदारी छैन । त्यसैले उहाँहरुको लागि पनि बजार विस्तार गर्न सजिलो छैन । नेपाली एयरलाइन्सहरुलाई गाह्रो छ । हाम्रो इन्धनको मूल्य बढी छ । अरु देशको तुलनामा हाम्रो देशको इन्धनको मूल्य ४० प्रतिशतले बढी छ । ३० प्रतिशतभन्दा बढी सञ्चालन खर्च इन्धनले ओगटेको हुन्छ । यी सबै कारणले हाम्रा एयरलाइन्सहरुलाई गाह्रो छ । तर पनि उनीहरु सञ्चालनमा छन् । नेपालमा स्थापना गरिएका धेरै एयरलाइन्सहरु चल्न नसकेर बन्द भएको अवस्था छ । एयरलाइन्स खोल्ने तर फेरी बन्द हुने अवस्था किन आयो ? एयरलाइन्सलाई कसरी दिगो गर्ने भन्ने कुरामा हामी कहाँ समस्या पक्कै छ । सरकारको तर्फबाट कतिपय सुविधाहरु दिन पनि सकिएको छैन । विदेशमा एयरलान्सहरुलाई करमा छुट, कस्टम ड्यूटीमा छुट दिएको पाइन्छ, त्यो हामी कहाँ छैन । त्यो सँगै हाम्रोमा सञ्चालन खर्च धेरै महँगो छ । हवाईका पाटपूर्जादेखि मर्मत सम्भारका कामहरु पनि विदेश मै गर्नुपर्छ । यी विविध कारणले वायुसेवा कम्पनीलाई महँगो लागतमा सेवा सञ्चालन गर्नु पर्ने अवस्था छ । त्यहि भएर पनि उनीहरु घाटामा जाने गरेका छन् । अन्तराष्ट्रिय ख्याती प्राप्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अर्को समस्या छ । विश्वका धेरै देशमा मार्केटिङ साझेदारी भएको, कनेक्टीभिटी व्यापक भएको कम्पनीहरुसँग नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नुपर्ने कारणले पनि यो अवस्था आएको हो । पछिल्ला वर्षहरुमा नेपाली हवाई क्षेत्रको बजार विस्तार कतिको छ ? पछिल्लो अवस्थामा हवाई कम्पनीहरुले विभिन्न ठाउँमा उडान पनि थपिरहेका छन् । सबैले धेरै राम्रा जहाज भित्र्याएका छन् । यसले पनि हवाई क्षेत्रका विविध गतिविधिहरु बढिरहेको देखाउँछ । हामीले सन् २०१७/०१८ को तथ्याङ्क हेर्ने हो भने डोमेस्टिकतर्फ करिब १५ प्रतिशत ट्राफिक ग्रोथ छ, प्यासेन्जर ग्रोथ छ । अन्तराष्ट्रियतर्फ १२ प्रतिशत ग्रोथ छ । यो उच्च वृद्धिदर हो । विश्वव्यापी रुपमा ७/८ प्रतिशतको बीचमा ग्रोथ भएको पाईन्छ । त्यसले गर्दा हाम्रो बजार विस्तार उल्लेखनिय रुपमा छ । यो वृद्धिलाई धान्नका लागि हामीले समयमै केही निर्णय गर्नु पर्ने हुन्छ । गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईतर्फी ७२ लाख यात्रुले यात्रा गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता भनेको ९० लाख हो । २०२१ भित्रै यहि वृद्धिदर कायम रह्यो भने ९० लाख नाघ्छ । तपाईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९० लाख क्षमता हो, ७२ लाखले यात्रा गरे भन्नुभयो । थप १८ लाख मानिस ओहोरदोहोर गर्ने ठाउँ बाँकी नै रहेछ तर आकाशमा हवाई जाम किन हुन्छ ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसमको कारणले गर्दाखेरि विमान उडानमा ढिला भईराखेको हुन्छ । बिहान ७ बजे उड्नु पर्ने जहाज ९ बजे उड्नु पर्ने अवस्था आएपछि दिनभर नै ट्राफिक पक्कै हुन्छ । दोस्रो कुरा, हाम्रोमा रनवे ट्याक्सीवेको मर्मत सम्भारको काम भइरहेको थियो । ट्याक्सीवेबाट रनवेमा जानुपर्ने जहाज रनवेभित्रै छिरेर रनवेमै गुडिराख्नु पर्ने भएका कारणले उसले धेरै समय ओगट्यो । बढीमा २ मिनेट ओगट्नु पर्ने रनवे ४ मिनेट लाग्न गयो । यसले गर्दा जहाज होल्ड हुनु पर्ने अवस्था आयो । अहिले ट्राफिक ग्रोथ हाई छ । पार्किङको काम भइरहेको छ । समयमै जहाजले पार्किङमा आउन पाएन । यसले गर्दा जहाज आकाशमै होल्ड गर्नु पर्ने अवस्था रह्यो । विस्तार कार्य सकिएपछि यस्तो समस्या रहदैन । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । हामीमा हवाई ट्राफिकको समस्या छ । त्यो समयमा यो समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यतिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भार भइरहेका संरचनाहरुको निर्माण गरी सकिन्छ । यसले केही हदसम्म सजिलो बनाउन मद्दत गर्छ तर पुरा समाधान यो चाहिँ होइन । पुरा समाधान भनेकोे हाम्रो निजगढ बनाउनु पर्छ, जुन धेरै ढिलो भइसकेको छ । हामी दुई दशकदेखि कुरा गरिरहेका छौं । यद्यपी यसतर्फ उल्लेखनिय काम हुन सकिरहेको छैन । भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकहरु नेपाल भित्र्याउन हवाईको क्षेत्रमा उनीहरुलाई केही छुट तथा स्किमहरु प्रदान गरिएका छन् की छैनन् ? हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छुट दिनु पर्ने जस्तो अवस्था लाग्दैन । हामीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको बेलामा खास अवधिसम्म केही छुट दिने केही स्किमहरु नेपाल सरकार समक्ष प्रस्ताव गरेका छौं । नेपाल सरकारले एउटा कार्यदल गठन गरेर एयरलाइन्सबाट केही छुट दिन सकिन्छ की भनेर कुरा भइरहेको छ । त्यसबारे उहाँहरुले अध्ययन गरिरहनु भएको छ । तर मेरो विचारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षित गर्नको लागि भन्दा पनि भैरहवामा आकर्षित गर्न आवश्यक छ जस्तो लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त हामी ट्राफिक बढी भएर आजित छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने भनिएको छ, यसको प्रक्रिया के भइरहेको छ ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जुन भवन छ त्यो आफैमा बुटिक खालको छ । त्यसभित्र अलिकति नेपालीपन, नेपालको मौलिकता झल्किने गरी बनाउने काम भइरहेको छ । अहिले विभिन्न मूर्ति राख्ने, पेन्टिङ गर्ने काम भइरहेको छ । केही काम मात्र बाँकी छ, यसको धेरै काम भइसकेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिइएका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण प्रक्रिया के कस्तो भइरहेको छ ? गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशत पुगिसकेको अवस्था छ । अब दुई तीन महिनाभित्रै सबै इक्विमेन्ट इन्स्टल हुन्छ । यदि यहि गतिमा काकम भयो भने मार्चसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल तयार भइसकेपछि त्यसको प्रमाणिकरण गर्नुपर्ने हुन्छ । अपरेसन टेष्ट गर्नु पर्ने हुन्छ । ती सबै काम सम्पन्न गरिसकेपछि हामी टेष्ट ल्याण्डिङ गर्छौं । दोस्रो, पोखरा विमानस्थलको २०२१ को जुनमा सम्पन्न हुने लक्ष्य हो । २०२० को डिसेम्बरमै सम्पन्न हुने हिसावले काम भइरहेको छ । निजगढ विमानस्थल बनाउन जर्मनको ज्युरिक विमानस्थलले इच्छा व्यक्त गरेको छ । त्यसतर्फ लगानी बोर्डले काम गरिरहेको छ ।
१० रुपैयाँ लिएर काठमाडौं छिरेकी निमी, जो अर्बौं सम्पतिकाे मालिक्नी बनिन्
काठमाडाैं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ उद्देश्य र संघर्ष विनाको मान्छेले सफलता प्राप्त गर्न सक्दैन भन्ने आशय यो वाक्यांशले प्रष्ट झल्काएको छ । यो वाक्यांश आफैमा गहन र वजनी छ । बुझ्नेहरुका लागि यसले नै जीवनको संघर्ष सिकाउँछ । मान्छेलाई उत्प्रेरणा जगाउँछ यो वाक्यांशले । पसिना कर्मसँग सम्बन्धित विषय हो, मान्छेको सफलता वा असफलतालाई निर्धारण गर्ने कर्मको महिमालाई उत्तिबेलै कवितामार्फत सबैमा प्रेरणा प्रदान गरेका देवकोटाकै वाक्यांशसँग सम्बन्धित छ सोलुखुम्बुकी निमी शेर्पाको जीवन कहानी । सोलुखुम्बुको जुनवेशीमा वि.स २०१६ सालमा जन्मिएकी निमी एक सफल पर्यटन व्यवसायीका नामले परिचित छन् । उनी सफल पर्यटन व्यवसायीमात्र होइनन् महिलाको पक्षमा दह्रो वकालत गर्ने एक सक्षम नारी पनि हुन् । जो अहिले नेपाल शेर्पा महिला संघको प्रमुखको रुपमा काम गरि रहेकी छन् । गरिबलाई सहयोग गर्ने, आवाजविहीनहरुको आवाज बन्ने र उत्पीडित महिलाहरुलाई सकेसम्म सहयोग गर्ने भावनाकी उनी एक प्रखर वक्ता पनि हुन् । समाजको अगाडि केही गरेर देखाउनु पर्छ भन्ने मानसिकता उनले सानैदेखि बोकिन् । शैक्षिक योग्यतामा उनले औपचारिक शिक्षा भने लिन सकिनन् तर उनलाई अंग्रेजी बोल्न भने त्यति गाह्रो लाग्दैन । उनी सजिलै अंग्रेजी फरर बोल्न सक्छिन् । ‘त्यो समयमा छोरीलाई पढाउनु हुन्न भन्ने थियो’ उनले भनिन्, महिलाले केही गर्न सक्दैनन् भन्ने पितृसत्तात्मक समाज सहन नसकेर १३ वर्षको उमेरमा काठमाडौं आएँ । १० रुपैयाँ लिएर काठमाडौंमा निमी शेर्पा १३ वर्षकी थिइन् । अहिलेको समयमा १३ वर्षको छोरी घरबाट बाहिर लगाउन सायद जो कोहीले पनि मान्दैन । १३ वर्षको बालिकाले पनि त्यति आँट गर्दैन । तर निमीलाई भने उनको १३ वर्षले छेकेन । उनी १३ वर्षकै उमेरमा घर छोडेर काठमाडौं आइन् । उनी वि.स २०२९ सालमा १० रुपैयाँ लिएर गाँउबाट काठमाडौंमा भागेर आएको बताउँछिन् । ‘त्यो समयमा १० रुपैयाँ पनि धेरै मानिन्थ्यो’ उनी भन्छिन्, १० रुपैयाँ लिएर काठमाडौं आएँ, काठमाडौंमा आफन्तको डेरामा बसेँ ।’ आफ्नै बुबाले छोरा नभएको भन्दै आमालाई गरेका ती व्यवहारले सानै उमेरदेखि आफुलाई केही बुझ्न उत्प्रेरित गरेको उनी सुनाउँछिन् । गाइडकै काम गरेर जिविकाेपार्जन गर्ने संस्कारमा हुर्केकी निमीले विद्यालय भने जाने अवसर प्राप्त गर्न सकिनन् । १०/१२ वर्षके उमेरमा नै छोरी घरमा राख्ने जात होइन अब विवाह गर्नुपर्छ भन्ने कुरा घरमा सुनेपछि उनले घर छाडेर काठमाडौं आइन् । मध्यवर्गीय परिवारमा जन्मेकी निमी शेर्पाको बुवा सगरमाथा चढ्ने पर्वतारोहीहरुको सहयोगीको रुपमा काम गर्थे । पितृसतात्मक समाजमा हुर्किएकी उनलाई समाजले गर्दै आएको व्यवहार भने कत्ति पनि मन पर्दैनथ्यो । निमीका बुवाले दुई विवाह गरेका थिए । उनी भने जेठी आमाबाटकी छोरी । सानै उमेरदेखि आफ्नै घरमा घरेलु हिंसा देख्दै आएकी निमीले प्रतिकारको माध्यम प्रयोग गरिन् । त्यो थियो उनको काठमाडौं भागेर आउने योजना । काठमाडाैंमा आफन्तको घरमा बस्दै गर्दा उनलाई केही नराम्रो व्यबहार गरेको महसुस भयो । त्यसले पनि उनको मनस्थितीलाई कमजोर बनायो । त्यो व्यवहारले उनलाई केही गर्न उत्प्रेरित बनायो । यो सँगै उनले एउटा कार्पेट फ्याट्रीमा काम गर्न थालिन् । कार्पेट फ्याक्ट्रीले जुराएको प्रेम १३ वर्षकै उमेरमा उनले काठमाडौंमै एक कार्पेट फ्याक्ट्रीमा काम गर्न सुरु गरिन् । काम सुरु गरेसँगै उनी एक्लै बस्न थालिन् । ‘ती दिनहरु क्या दिक्दार लाग्थे, उनले विकास न्युजसँग भनिन्’, एक्लै भएपछि साथीको पनि आवश्यकता पर्दो रहेछ, कार्पेट फ्याक्ट्रीमै काम गर्दा सोलुखुम्बुकै लाक्पालुर्गु शेर्पासँग भेट भयो । जो पर्यटकहरुको गाइडको रुपमा काम गर्थे । उनै लाक्पालुर्गुसँग मेरो उठबस् बढ्यो । ‘उनीसँग भेट भएको एक वर्षपछि उनले मसँग विवाहको प्रस्ताव राखे, मलाई पनि काठमाडौं जस्तो ठाउँमा एक्लै बस्न गाह्रो भएपछि १४ वर्षकै उमेरमा उनीसँग विवाह गरेँ ।’ उनले भनिन् । श्रीमानको ट्रेकिङ्ग गाइडको काम, उनको भने कार्पेट फ्याक्ट्री उनले त्यो काम छोड्ने योजना बनाइन् । निमीले एक वर्षदेखि कार्पेट फ्याक्ट्रीमा गर्दै आएको काम पनि छोडिन् । उनका श्रीमान ट्रेकिङ्ग गाइड रहेकै कारण उनले पनि आफ्नो श्रीमानसँगै जानका लागि गाइडलाई चिया नास्ता बनाउने काम सुरु गरिन् । अब सुरु भयो उनको पर्यटन क्षेत्रको यात्रा । पर्यटन क्षेत्रको यात्रा निमी शेर्पा हिमालकी छोरी हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि सोलुखुम्बुमै पर्छ । घरको अगाडी ठडिएको सेताम्य हिमालहरुमा चिप्लेटी खेल्नु उनको सानैदेखिको रहर हो । आफ्नै जिल्लामा बसेर केही गर्ने सोच भएकी उनी समाजको व्यवहार र साँघुरो सोचका कारण काठमाडौं छिरेको बताउँछिन् । श्रीमानसँगै हिडडुल भएपछि उनले पनि पर्यटन क्षेत्रको समग्र विषयहरु बुझ्ने मौका पाइन् । उनकाे पर्यटकहरुलाई बाटो देखाउने, हिमाल चढ्ने काम पनि तिब्र रुपमा अघि बढ्यो । निमीसँग सगरमाथामा चढ्ने नेपालकै पहिलो महिला पासाङ्ग ल्हामु शेर्पासँग यात्रा गरेका अनुभवहरु पनि धेरै छन् । त्यो दौरानमा उनले पर्यटन क्षेत्रको धेरै ज्ञान हाँसिल गरिन् । पर्यटन क्षेत्रको ज्ञान पाएसँगै उनले आफ्नै पर्यटन व्यवसाय सुरु गर्ने योजना बनाइन् । उनले वि.स २०५३ मा ट्रेकिङ्ग व्यवसाय सुरु गरिन् । यो अवधिसम्म आइपुग्दा उनका दुख.सुख हाँसो रोदनका क्षणहरु अनगिन्ती छन् । ‘परिश्रम गर फलको आश नगर’ वाक्यांश निमीले कहिल्यै भुलिनन् । यो वाक्यांशलाई आत्मसाथ गर्दै उनी अगाडि बढि रहिन् । संघर्षविना फलको आशा गर्नेले पवृतिको कारण धनी धनी नै र गरिब गरिबीमा नै रुमल्लिएको उनले बताइन् । नेपालको अर्थतन्त्रमा पर्यटनले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनी बताउँछिन् । हाल उनी महिला हिंसामा परेका महिलाको लागि सीप तथा तालिम प्रदान गर्दै आएकी छन् । १२ वर्ष अगाडि शेर्पा महिला संघको शुरुवात गरी आपत विपतमा परेका महिलाका लागि उनी काम गर्दै आएकी छन् । जब मानव जीवनमा केही गर्ने इच्छा शक्ति हुन्छ उसले काम गर्दै जाँदा सफल बन्छ भन्ने उदाहरण निमीको जीवन कहानीबाट छर्लङ्ग हुन्छ । पर्यटन क्षेत्रबाट उनले उल्लेख्य कमाएकी छन् । पर्यटन क्षेत्रले नै उनको श्रीसम्पती जोडिएको छ । अहिले उनको काठमाडौंमै दुइवटा घर छन् । आफ्नै ट्रेकिङ एजेन्सी छ । ‘पर्यटनबाट पनि धेरै कमाउन सकिन्छ’, उनी भन्छिन् मानिसले धैर्य गर्न सक्नुपर्छ, मैले त्यो समयमा धैर्य नगरेको भए हालको अवस्था हुने थिएन, पर्यटनबाटै अर्बौंको सम्पती बटुलेकीछु ।’ उनले भनिन् । हाल उनका छोरा पनि टुरिजम पढ्दै गरेका छन् । उनी भन्छिन्, गर्न सके पर्यटनमा धेरै अवसरहरु छन् ।
भ्रमण वर्ष २०२० मा सरकारको खर्च ६२ करोड, कुन शीर्षकमा कति हुँदैछ खर्च
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ आयोजना गर्न लागेको यो कार्यक्रमका लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्चिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको संघारमै पुग्दा सरकारबाट नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई २५ करोड रुपैयाँमात्रै उपलब्ध गराएको छ । नेपाल सरकार र पर्यटन बोर्डबाट प्राप्त भएको १०/१० करोड गत आवको वाँकी भएको ५ करोड गरी अहिले सचिवालयले २५ करोड रुपैयाँमा भ्रमण वर्षको तयारी शुरुवाती गरेको हो । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयमा माग गरी पठाएको छ । स्वदेश तथा विदेशमा भ्रमण वर्ष २०२० लागि प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्न २६ करोड २५ लाख खर्च गर्ने तयारी सचिवालयले गरेको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी सचिवालयले गरेको छ । भारत, चीन, युरोप, मध्यपूर्व, दक्षिण पूर्व, अस्ट्रेलिया, तथा अमेरिकामा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा पर्यटन मेलामा सहभागी भएर नेपालको पर्यटन प्रवद्र्धन गर्न चार करोड रुपैयाँ खर्च गर्न लागेको छ । विभिन्न नेपाली नियोग, दुताबास तथा गैरआवासीय नेपाली संघसँगको संयुक्त सहकार्यमा हुने कार्यक्रमलाई साढे दुई करोड रुपैयाँ छुट्टयाइएको छ । त्यस्तै सरकारी, गैर सरकारी, निजी क्षेत्र तथा वायुसेवाको माध्यमबाट भ्रमण वर्षलाई प्रमोशन र ब्रान्डिङ गर्न साढे तीन करोड रुपैयाँ छुट्याएको छ । भ्रमण वर्षको प्रचार प्रसार गर्न विभिन्न २८ देशमा नेपाली दुतावास तथा नियोगमार्फत पत्र पठाइसकेको छ । भारत, बेलायत, इटली, थाइल्याण्डलगायतका देशमा यस सम्बन्धि कार्यक्रम समेत गरिसकेको छ । यस्ता कार्यक्रममा खेल पर्यटन प्रवद्र्धन, डिजिटल मार्केट, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धनात्मक गतिविधि, नेपालमा हुने विभिन्न सभा समारोहसहितका गतिविधि गर्ने तयारी सचिवालयले गरेको छ । वर्षभरी गरी विभिन्न पर्यटन प्रडक्ट स्तरोन्नति तथा विकासका लागि सचिवालयले १० करोड ९० लाख रुपैयाँ खर्च गर्ने गरी बजेटका कार्यक्रम तय गरेको छ । यस्तो कार्यक्रममा नयाँ कार्यक्रमका रूपमा विभिन्न २५ वटा नयाँ पर्यटकीय उपजको विकास गर्न १ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ । हिन्दु तथा बुद्ध धर्मसम्बन्धि मन्दिर गुम्बासहितको कार्यक्रम प्रवद्र्धन गर्न ‘टेम्पल स्टे प्याकेज’ बनाइने भएको छ । शिवशक्ति सर्किटको अध्ययन तथा अनुसन्धान भइरहेको छ भने कालिगण्डकी गर्जमा माउन्टेन बाइक ट्रेलसहितको कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक रोहिनी खनालले जानकारी दिए । नेपालमा भएका र चलेका सीमित गन्तव्यको विकल्पमा धार्मिक, साहसिक, नयाँ गन्तव्यका विकाससहितका प्रडक्ट विकास गर्दै योजना सचिवालयले बनाएको छ । भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यकाअनुसार सन् २०२० को हरेक महिना फरक–फरक कार्यक्रम गर्ने तयारीका साथ सचिवालयले बजेट तय गरेको छ । नौ वटा शीर्षकअन्तर्गत विभिन्न उपशीर्षक बनाएर उक्त खर्च गर्ने कार्यक्रम तालिका बनेको छ । आगामी पुस १ गते दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।