पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन
काठमाडौं । पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन सिरहामा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आयोजित भेलामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पर्यटन वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झा, प्रदेश सदस्य राकेश रोशन गुप्ता, मागैन कामैतले पर्यटन वर्ष २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको बताए । अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो, लक्ष्मण यादव, विष्णुदेव मण्डल, रिक्मा विश्वकर्मा, सागर चौधरी, रामबहादुर यादव, बुद्धराम यादव, जानकीकुमारी चौधरी, अनिल उपाध्याय र आनन्द महतोलाई राखिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन भ्रमण वर्ष २०२० प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको प्रदेश संयोजक झाले जानकारी दिए । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रदेश नं २ मा व्यापक पर्यटकीय क्षेत्र रहे पनि एकीकृत दस्तावेज नहुँदा प्रदेश नं २ कै एक जिल्लाको पर्यटकीयस्थलबारे अर्को जिल्लावासीलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको उनको भनाई छ । प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या नहुँदा त्यस्ता पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रसमेत ओझेलमा परेको छ, संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल उपयुक्त हुन्छ र त्यस्ता पर्यटक क्षेत्र कतिको सङ्ख्यामा छन् भन्ने कुरा पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेजहरु प्रदेश नं २ का आठवटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उहाँको भनाइ छ । रासस
सत्ता-सम्बन्धमा दरारसँगै यति ग्रुप संकटमा: हिमालयको सेयर बेच्यो, बुटिक होटल खुलेन
काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी र उनको परिवार सदस्यहरुले एक दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालन गरिरहेका छन् । एति एयरलाईन्स, तारा एयरलाईन्स, थामर्सेकु ट्रेकिङ, यति माउन्टेन होम उनको ठूला कम्पनी हुन् । पर्यटकीय क्षेत्र पोखरा, चितवन, सगरमाथा, अन्नपूर्णसहित हिमाली क्षेत्रमा थुप्रै पर्यटकीय होटल तथा लजहरु चलाउन्छन् । कसरा, केर एण्ड डोउनी लगायत रिसोर्टहरुमा पनि चलाएका छन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्ट यहि ग्रुपले लिजमा लिएको हो । घरजग्गादेखि होटलसेवा क्षेत्रमा समेत यति ग्रुपको ठूलो लगानी छ । विभिन्न क्षेत्रमा ठूलो लगानीका साथसाथै सेवा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय पर्यटकीय सेवा क्षेत्रबाहेक घरजग्गा व्यवसायमा पनि यति ग्रुपको ठूलो लगानी रहेको छ । थामसेर्कु डेभलपर्सको नाममा राजधानीको ठमेल, दरवार मार्गमा ठूला ठूला विजनेश कम्प्लेक्स बनाएका छन् । एउटै पुस्ताले विस्तार गरेको यति ठूलो विजनेश हुँदा हुँदै पनि सोनाम र उनको परिवार सन्तुष्टि छैनन्, बढो तनाव बोकेर हिडिरहेका छन् । फ्लाई यतिमार्फत अन्तराष्ट्रिय उडानमा उनीहरु असफल भए र अन्तराष्ट्रिय उडान बन्द गरे । ठूलै लगानीमा फ्लाई यति सञ्चालनमा आएको थियो । तर अन्तराष्ट्रिय उडानमा अन्य व्यवसाय जति फस्टाउन नसकेपछि त्यो व्यवसायबाट उनले हात धुनु पर्यो । बरु त्यसको सट्टामा अन्य व्यापार व्यवसाय सुरु गरे । फलाई यति बन्द भएपछि चिनियाँ लगानीकर्तासँगको साझेदारीमा हिमालय एयरलाइन्स चलाए । यसमा पनि यति एयरलाइन्सले ठूलो घाटा खायो । निरन्तर तीन वर्षसम्म कम्पनी घाटामा गएपछि र बजार विस्तारमा पनि असफलता भोगेपछि उसले आफ्नो १६ प्रतिशत सेयर बेचेर बहुमत सेयरसहित व्यवस्थापनकी जिम्मेवारी चिनियाँ लगानीकर्तालाई सुम्पिएको छ । हिमालय एयरलाइन्सकाे नयाँ सञ्चालक समिति शुरुमा यति एयर कम्पनी अन्तरगतको यति वल्र्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । हिमालयमा यतिको ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । अहिले यतिको ३५ प्रतिशत छ भने ६५ प्रतिशत शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लिएको छ । शुरुमा हिमालय एयरलाइन्सको सम्पूर्ण व्यवस्थापन यति इन्भेष्टमेन्टले समालेको थियो । अध्यक्ष आङछिरिङ शेर्पा थिए भने कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठ थिए । अहिले हिमालयको सम्पूर्ण व्यवस्थापन चिनियाँ लगानीकर्ताले लिएका छन् । ज्यु एनयोङ्ग अध्यक्ष र क्याप्टेन हाओ डी उपाध्यक्ष रहेको कम्पनी सञ्चालक समितिमा यति एयरका तर्फबाट विजय श्रेष्ठ मात्र रहेका छन् । हिमालयमा मात्र होइन, पछिल्लो समय यति ग्रुपले लगानी गरेको यति एयरलाइन्स, होटल, विजनेश कम्प्लेक्स, मिडिया लगायतको विजनेश संकटतर्फ धकेलिएको छ । यति ग्रुपले काठमाडौंको लैनचौरमा सात तारेस्तरको ‘बुटिक होटल’ गर्ने भनेर ठूलो भवन बनायो । तर होटल सञ्चालन गर्न असफल भयो । सँगै देखिएको विल्डिङ बुटिक होटल खोल्न भनेर बनाइएको हो । बीचमा यो भवन एनसेलले भाडामा लिने सहमति भएको थियो । उक्त सहमति एकाएक भाँडिएपछि एनसेल नयाँ भवनको खोजीमा गएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्मित यो भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । तीन दशकको सफलता गत फागुन महिनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा यति ग्रुपका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको समेत दुःखद निधन भयो । आङछिरिङको निधनपछि लाक्पा सोनामले यति ग्रुपको नेतृत्व गरेका छन् । आङछिरिङका छोरा नोर्बु शेपाले सोनामलाई व्यवसायमा सघाउँदै आएका छन् । थामशेर्खु ट्रेकिङ कम्पनीबाट शेर्पा परिवार विजनेशमा माथि आएको हो, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । शक्ति केन्द्रसँग दरार करिब तीन दशकको अवधिमा २० औं अर्बका मालिक बनेको शेर्पा परिवार सधैं शक्ति केन्द्रको नजिक हुन्थ्यो । राजाको पालामा पनि निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन हात पार्न सफल यो परिवारले गणतन्त्र आएपछि पनि नेपाल ट्रष्टसँग दरबार मार्गको जग्गा लिजमा लिन सफल भयो । शक्ति केन्द्रहरुको सहयोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नेपालका धेरै डोमोस्टीएक एयरपोर्टको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका छन् । ठूलो होटल वा रिर्सोटमा आङछिरिङ शेर्पा प्राय शक्तिकेन्द्रका पात्रहरुसँगै भेटिन्थे । पर्यटन मन्त्रीदेखि यस क्षेत्रको प्रमुख राजनीतिक नियुक्तीमा बारम्बार शेर्पाको नाम जोडिएर आउने गरेको थियो । धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पा परिवारले दिएकोले सत्ता र शेर्पा परिवारबीचको लेनदेन खुला आँखाले देखिने लेवलमा आएको थियो । तर पछिल्लो समय शेर्पा परिवार र सत्ताबीचको सम्बन्धमा दरार आएको छ । दरबारमार्गस्थित नेपाल ट्रष्टकाे जग्गामा थामसेर्कुले बनाएको भवन विवादमा आउनुलाई यहि दरारको रुपमा हेरिएको छ ।
इयुहोफा सम्मेलन आजबाट, विश्वभरिका ७० पर्यटन शिक्षासम्बद्ध विज्ञ नेपालमा
होटल स्कुल एसोसिएसन (इयुहोफा)को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखिदेखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपालले गर्न लागेको यस कार्यक्रम एसियामै पहिलोपटक हुन लागेको हो। यस भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । उक्त कार्यक्रम सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको थियो । यसरी, काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन्। पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन शुरु भएको केही दशक मात्र भएको छ। तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो। यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन्। नेपालको आयोजना किन महत्त्वपूर्ण छ ? अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मिक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो। युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो।