काठमाडौँ-ओसाका उडान शुरु, यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते बिहीबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गर्दैछ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गर्न लागेको हो । जापान उडानको बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए। विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज बुधबार नै राति २ः३० बजे ओसाका गन्तब्य उडान गरेर ६ घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा ध्वजाबाहक जहाज अवतरण भएको छ । त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिने कार्यक्रम रहेको छ । ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् । ओसाका उडानका लागि सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन् । निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुई तर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ । विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्ने छ । उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ । जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ । मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ । राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ । डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो । निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो । निगमले जापान उडान १३ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो । रासस

नेपाल भ्रमण वर्ष सफल पार्न क्रियाशील छौं, २० लाख पर्यटक भित्र्याउनेछाैं-नवराज दाहाल

लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न छन् नवराज दाहाल । उनी हाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का अध्यक्ष समेत हुन् । टानको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ । नेपालमा पर्यटन व्यवसायतर्फ लगानी थपिंदै गएको छ । अर्कोवर्ष सरकारले नेपाल भ्रमणवर्ष मनाउन लागेको छ र २० लाख पर्यटन भित्र्याउने भनेको छ । पर्यटन व्यवसायको क्षेत्रमा ट्रेकिङ एजेन्सीजको भूमिका पनि महत्वपूर्ण छ । टानका अध्यक्ष दाहालको २ वर्षे कार्यकाल र नेपालमा पदयात्राको अवस्था के-कस्तो ? लगायत समग्र पर्यटन व्यवसायको सेरोफेरोमा रहेर विकासन्युज लागि सन्तोष रोकायाले गरेको विकास बहस । पदायात्रा व्यवसायको पछिल्लो अवस्था कस्तो छ ? अहिले नेपालका थुप्रै स्थापित पदयात्राहरुमा मोटर बाटोको बिस्तार भएको छ । भूकम्पले कतिपय पदयात्राहरु भत्काएको छ । हामीले त्यसको विकल्पमा वैकल्पिक पदमार्गहरुको निर्माण गर्न सकि रहेको छैनौं । नयाँ–नयाँ गन्तव्यहरुको खोजी गरी स्थापित गर्न सकेका छैनौं । त्यसकारणले विगतको तुलनामा हालका पदमार्गकै कुरा गर्दा त्यति राम्रो छैन । मोटर बाटोले गर्दा हिँड्ने कि मोटर बाटोमा जाने भन्ने छ । मोटर बाटोमा जाँदा पनि त्यो कालापत्रे नभएको कारण दुर्घटना निम्त्याउने खालका छन् । हिडौं भनेपनि धुलोधुवाँ र हिलो हुने अवस्था छ । त्यति हुँदाहुँदै पनि नेपालको सबै क्षेत्रमा पदयात्राकोे सम्भावना छ । अझै पनि थुप्रै ठाउँमा पदयात्रा सहज ढंगले गर्न सकिने अवस्था छ । विकासले ट्रेकिङको विनाश भयो भनेर व्यवसायी कराइरहने, तर सरकार चुप लागिरहने अवस्था देखिएको छ नि ? त्यहि त अचम्मको कुरा छ । हामी आवाजहरु उठाईरहने, सुझावहरु दिइरहने, तर सुन्नु पर्ने कार्यान्वयन गर्ने निकाय मौन छ । सुनेर पनि वेवास्था गरेको जस्तो अवस्था भएको छ । नेपालको पर्यटनको कुरा गर्दा सिङ्गो नेपालको पर्यटनको आधार भनेको पदयात्रा हो । अहिले जति पनि नेपालमा पर्यटकहरु भित्र्याइन्छ पदयात्रा व्यवसायीहरुको मिहेनत, अक्कल र क्षमताले पर्यटकहरु आइरहेको देखिन्छ । जति पर्यटकहरु लामो समय बसे त्यति नै पर्यटकहरुले बढी खर्च गर्छन् । गुणस्तरको कुरा गर्दा बढी खर्च गर्ने पर्यटकहरु बढी गुणस्तर हुन्छन् । बढी रोजगारी सिर्जना गर्छन्, त्यो सबै पदयात्राले नै गरेको हो । पदयात्राले मुलुकलाई धेरै फाइदा हुन्छ । राज्यले यसको सुधारका बारेमा त्यति पहल गरेको देखिदैन । विकल्प खोज्न र केही रुट बचाउने विषयमा सरकारी निकायसँग समन्वय किन भएन् ? विगतमा त राज्यले पर्यटनलाई त्यति बुझेको पनि थिएन । निजी क्षेत्र सँग पनि त्यति सहकार्य हुन्थेन । योजनाहरु पनि बन्थेनन् । त्यसकारण विकासको नाममा मोटर बाटोहरु त गए । मोटर बाटो पुग्नु पनि पर्छ, तर स्थापित पदमार्गहरु नबिगारिकन मोटर बाटोको विस्तार गरिदिएको भए हुन्थ्यो, त्यतातर्फ ध्यान दिएकै छैन । पछिल्लो अवस्थामा निजी क्षेत्रले आवाज उठाउँदै गर्दा अहिले चाँही अलकति सचेत भएको हो की भन्ने जस्तो लागि रहेको छ । तर, तपाईँले भने जस्ते ठ्याक्कै अब योजना बनाएर जानु पर्छ भन्ने खालको वातावरण चाहीँ अझै बन्न सकेको छैन । अब आशा गरौं, आउने दिनहरुमा जहाँ–जहाँ मोटर बाटोहरुको बिस्तार भइरहेको छ, जहाँ पदमार्गहरु बिग्रेका छन्, बैकल्पिक पदमार्गहरु बनाउन राज्य पक्ष र निजी पर्यटन व्यवसायी बसेर राम्रो योजना बनाएर अघि बढ्नु पर्छ । यो अवश्य नै हुनु पर्छ । एक पर्यटक एक गाईडको माग पूरा गर्न व्यवसायीको लबिङ नपुगेको कि सरकारी निकायले वेवास्था गरेको ? हिजोका दिनमा सरकार फेरिन्थ्यो । मन्त्रीहरु फेरिन्थे । अन्य कर्मचारीहरु फेरिने अवस्था थियो । निजी क्षेत्रहरुले जति लविङ गरेपनि त्यो कार्यान्वयन गर्न सम्ममा त्यहाँ फेरी अप्ठेरो अवस्था सिर्जना हुन्थ्यो । कसले गर्ने हुन्थ्यो । अहिले स्थायी सरकार छ । अहिले पनि म हेरिरहेको छु । मेरो दुई वर्षे कार्यकालमा झण्डै चारवटा सचिवहरु फेरिए । अहिले नयाँ मन्त्री आउनु भएको छ । उहाँले निजी क्षेत्रसँग एउटा कबुल गर्नु भएको छ । उहाँले उठाएका विषयहरु कार्यान्वयन गर्छु भन्नु भएको छ । व्यवसायीहरुले लविङ गरेन भन्ने त हुँदै होइन । प्रशस्त लविङ गरेका छौं । म आफैले निरन्तर लविङ गरेको छु । नेपालको उच्च राजनीति नेताहरु देखि लिएर मन्त्रीहरुसम्म सबैसँग लविङ गरेको छु । सबै मन्त्रालयमा हाम्रा विषयवस्तु पुर्याएका छौं । अलि समय त लागि हाल्छ । अब नेपालका ३ हजार भन्दा माथि उचाई भएका पर्यटनमा जान इजाजत प्राप्त दिने कम्पनीबाट तालिम प्राप्त प्रमाणपत्र गाईड अथवा सहयोगी लिएर जाने नै हुन्छ । यसमा मन्त्रालय पनि सकारात्मक छ । अब हामीले आशा गर्नु पर्छ, हामी निजी क्षेत्रले उठाएका मुद्दाहरु छिट्टै विभिन्न तरिकाबाट कार्यान्वयन हुन्छन् । विशेष गरी तपाईँले उठाएका विषयवस्तु चाहिँ गाईड अथवा सहयोगी लिएर पदयात्रामा जाने कुरामा विश्वस्त हुनुपर्छ । यसमा व्यवसायीको स्वार्थको कुरा छैन । यो त राज्यको स्वार्थसँग जोडिएको कुरासँग सम्वन्धि रह्यो । यदि यो लागू भएन भने सबैको लागि दु.खको कुरा हुनेछ । पदयात्रामा नयाँ रुटको खोजी भइरहेको छ भनेर टानले वर्सेनी नयाँ नक्सा सार्वजनिक गर्ने गर्छ । तर, पर्यटक पठाउने मामलामा भने उही सगरमाथा, अन्नपूर्ण र लाङटाङको सीमित गन्तव्यमा किन ? सरकारले केही क्षेत्रलाई निषेधित क्षेत्र भनेको छ । केही क्षेत्रहरुलाई निर्देशित क्षेत्रहरु भनेको छ भने केही क्षेत्रहरु खुल्ला गरेको छ । यसमा सरकारको कमि कमजोरी छैन । पर्यटनको कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पूर्वाधारको विकास, नीति नियमका कुरा, पर्यटन प्रवद्र्धनका कुराहरु हुन्छन् । हामीले पूर्वाधारको विकास भएको, नीति नियमले पनि प्रभाव नपार्ने ठाउँमा पनि पर्यटकहरुलाई पु¥याउन सकेका छैनौं । अब सगरमाथा, अन्नपूर्ण र लाङटाङमा मात्र पर्यटकलाई सिमीत गरेका छौं किन गरेका छौं भने तिनीहरुको बढी प्रचारप्रसार भयो । पूर्वाधारको विकास बढी भयो । त्यहाँ जाँदा खेरि अन्य झमेलाहरु नवेहोर्नु पर्ने छ । यी इत्यादी कारणले पनि धेरै गएको होलान जस्तो लाग्छ । यी सेवा ससुविधाहरु अन्य ठाउँमा पनि हुनु पर्यो । पश्चिमतिर पनि थुप्रै पर्यटनका सम्भावनाहरु छन् । त्यहाँ पूर्वाधारको विकास भएन । राम्रो सँग प्रवद्र्धन गर्न सकिएन । विश्वका सम्पूर्ण ठाउँहरुमा हामीले के–के डकुमेण्टहरु बनाएर लैजानु पर्ने हो । तिनीहरुलाई कसरी आकर्षित गर्ने, कसरी प्रचार–प्रसार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कतिपय ठाउँहरुमा महँगो शुल्क छ । त्यो नीतिले अप्ठेरो बनाई दियो । हवाई भाडा त्यतिकै महँगो छ । यी विविध कारणले पर्यटकहरु त्यहाँ पुग्न सक्दैनन् । मैले राज्यलाई मात्र दोष दिनुहुन्न । हामी सबै लाग्यौं भने सगरमाथा, अन्नपूर्ण र लाङटाङमा सिमित भएका पर्यटकहरु सबै ठाउँमा पुगाउन सक्छौं । रुबी भ्यालीसहितको नयाँ गन्तव्यमा तपाईँहरुले नै सम्भावना औल्याउनु भएको थियो । तर, व्यवसायी आफैँ पर्यटक पठाउन भने तयार देखिएका छैनन् नि ? हामीले रुवि भ्यालीको बारेमा धेरै प्रयास गर्यौं । त्यहाँको पूर्वाधार विकास पनि ग¥यौं । प्रचार–प्रसार गर्ने कोशिसपनि गयौं । त्यहाँ सम्भावना पनि छ । जति हामीले प्रचारमा ल्याएका थियौं त्यो अनुसारको त्यहाँ पर्यटकहरु जान सकेनन् अथवा पु¥याउन सकिएन । यसमा हामी व्यवसायीहरु पनि चुक्यौं । व्यवसायीहरु कहिँ कतै व्यवसाय गर्दा स्वार्थी हुने समस्या पनि छ । फाइदा कति हुन्छ भन्ने सोच्दा रहेछन् । अर्को कुरा रुविभ्यालीलाई नेस्नल पार्क भनौं । त्यहाँ अत्यन्तै महत्वपूर्ण बोटविरुवाहरु छन् । त्यस्तो ठाउँमा पर्यटकहरुलाई पनि जानुपर्छ भन्ने मनाशाय हुन्थ्यो । त्यसले प्रचार–प्रसारमा पनि सहयोग पुग्थ्यो । रुविभ्याली क्षेत्रलाई गणेश हिमाल हिमालको नाममा वा कुनै नाममा कन्जरभेसन नेशनल पार्क घोषणा गरियो भने व्यवसायीहरुको अलि उत्सुकता बढ्छ जस्तो मलाई लाग्छ । त्यहाँ जनावर, बोटविरुवा बचाउनु पर्ने अवस्था छ । रुबिकै कुराहरु छ । रुबिभ्याली नाम त दियौं, तर साँच्च्किै रुबि देख्न पाइन्छ र ? यो त छाडा भयो । अराजकता भयो । यसलाई एउटा खालको उत्सुकता जोगाइदिनु पर्यो पर्यटकहरुलाई । त्यो हाम्रो अनुरोध छ । रुवि भ्यालीको फाइल फोटो तपाईँले टानमा दुई वर्षे कार्यकाल पूरा गर्दै हुनुहुन्छ । आफ्नो दुई वर्षे कामको उपलब्धीको सूची त लामै बनाउनु भएकै होला ? नयाँ-नयाँ पदमार्गको खोजी गनुपर्छ त्यसलाई निर्माण तथा विकास गर्नुपर्छ भन्ने कुराहरुमा सम्बन्धित निकायहरु सँग सहकार्य गर्ने कोशिस गरियो । हामीले मात्र गर्न सक्ने वैकल्पिक पदमार्गहरुको निर्माण पनि हामीले ग¥यौं । हामीले नीतिगत कुराहरुमा लविङ ग¥यौं । अपर मुस्ताङ, अपर डोल्पा लगायतका विभिन्न निषेधित क्षेत्रको ट्रेकिङ परमिट शुल्क घटाइ दियौं । त्यसलाई परमिटको हिसावले शुल्क लागु गर्ने,एक जना पर्यटकलाईत्यहाँ जान निषेध गएिको छ, त्यसलाई पनि खुल्ला गराई दियौं । रुविभ्यालीमा केही पूर्वाधारहरुको विकास हामीले ग¥यौं । केहि संस्थाहरु सँग सहकार्यहरु गरेर प्रोजेक्ट ह्याण्डलिङ ग¥यौं । दुई सय भन्दा बढी मजदुरले ज्याला पाई राखेका थिएनन्, तिनीहरुको ज्याला पाउने अवस्था सिर्जना ग¥यौं । यी विविध कामहरु सँगै हामीले हाइकिङको आयोजना गर्यौ । पचासौं देशको प्रतिनिधित्व गर्ने वाणिज्य दुतहरुलाई बोलाएर नेपालको पर्यटनको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा छलफल गर्यौँ ।  ६-६ वर्ष देखि टान, नाथम र नेपाल माउण्टेन एकेडेमी सँग सहकार्य गरेर तालिम आयोजना गर्नु पथ्र्यौ त्यो बेला देखि रोकिएको थियो । त्यसलाई हामीले सुचारु ग¥यौं । टान मैले नेतृत्व लिदै गर्दा खेरि साढे चार करोड भन्दा बढी ऋण डुवेको रहेछ । कार्यक्रम गर्ने तर पैसा नतिर्ने स्थिति रहेछ । पैसाकै कारणले टान निकम्मा भएको अवस्था थियो । टान अहिले आफ्नो खुट्टामा उभिन सक्ने अवस्था छ । अहिले सबैले पत्याउन सक्ने खालको बनाएको छु । मेरै कार्यकालमा ऋणमुक्त संस्था बनाएँ । कर्मचारीको अस्तव्यस्त थियो तिनीहरुको व्यवस्थित बन्ने कोशिस गरिएको छ । अहिले धेरै कुरामा सुधार आएको छ । विषौं वर्षदेखि काम गरि रहेका कर्मचारीहरु न काम गर्ने न कसैले भन्ने नटेर्ने अवस्था थियो । अहिले पनि केहि समस्याहरु त छन् तर धेरै सुधार भइसकेका छन् । मुख्यतः टानले पर्यटनका व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकाय सम्म पु¥याउने हो । विगतका नेतृत्व भन्दा मैले बढि काम गरेको जस्तो मलाई लाग्छ । विगतका नेतृत्वले उठाएका एजेन्डा पूरा गर्न नसकेकै कारण टान कमजोर भएको भन्ने बुझाई छ नि ? कति पनि सुनुवाई भएनन् भन्नु गलत हो । टानको सदस्यता संख्या पनि ठूलो छ । टिम्सको रकमको बारेमा विगत चार पाँच वर्षदेखि वहस छलफल हुँदै आएको छ । यसै कारणले पनि टान अलि विवादित हुन पुगेको हो । अर्को कुरा अलि बढि राजनीति पनि हुने, व्यवसायिक ढंगले नेतृत्व लिने भन्ने राजनीतिक ढंगले अगाडि बढ्ने थियो । कसैको दवावमा परेर काम गर्ने लगायतका कारणले टान अलि विवादित बन्यो । तर मैले हस्तातरण गर्दै जाँदा टानलाई फेरि मान्छेहरुले सकरात्मक ढंगले बुझ्ने खालको बनाएको छु । नेपालको सबैभन्दा सम्बृद्ध र शसक्त संस्था हो भनेर चिन्ने वातावरण हामीले सिर्जना गरेका छौं । व्यवसायिक हितमा आएका टिम्सका एजेन्डामा अझै बहसै मात्र गर्ने की समस्याको समाधान पनि खोज्ने ? समाधान गर्ने भनेर म आए देखि नै लागि रहें । बल्लबल्ल पाँच जनाको एउटा कार्यदल बनेको छ । पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ । यो कार्यदलले अब आफ्नो प्रतिवेदन बनाउँदै छ । एक डेढ हप्ता भित्र यो प्रतिवेदन तयार भएर सबैको लागि समस्या समाधान हुने र आउने दिनहरुको टिम विवादरहित ढंगले कार्यान्वय हुने खालको प्रतिवेदन तयार गरेर सचिवलाई बुझाउनेछांैं । मन्त्रालयमा सर-सल्लाह गरेर त्यो समस्या समाधान गर्नका लागि कार्यान्वयनमा जाने वातावरण बन्छ । टिम्सलाई अझ शसक्त रुपमा कार्यान्वयन गर्नु पर्छ । अब टानमा नयाँ नेतृत्व आउँदैछ । कस्तो नेतृत्व आउनु पर्छ ? तपाईँ कसलाई अगाडि बढाउँदै हुनुहुन्छ ? व्यवसायीको मर्म भावना बुझेको, टानलाई पनि अझ निरन्तरता दिन सक्ने खालको नेतृत्व नै आउँछ भन्ने मैले विश्वास लिएको छु । राम्रो नेतृत्व आउनु हुन्छ । राम्रो नेतृत्व ल्याउनका लागि मेरो पनि केहि जिम्मेवारी हुने गर्दछ । त्यसमा म पनि गृहकार्य गरी रहेको छु । आशा गरौं आउने टानको नेतृत्व एकदमै शसक्त,टानलाई बुझेको, नेपाली पदयात्रा राम्रो सँग बुझेको, मार्गनिर्देशन राम्रो गर्न सक्ने, सबैसँग समन्वय गर्न सक्ने, व्यवसायिकहरुलाई एकतावद्ध बनाउने खालको व्यक्ति आउनुहुन्छ । टानमा वर्सेनि व्यवसायिक भन्दापनि राजनीतिक नेतृत्व हाबी हुन थाल्यो भन्ने आरोप पनि छ नि ? हुन त संसारमा सबै चिजको कुरा छिनोफानो राजनीतिले नै गर्छ । स्वस्थ राजनीति हुनु राम्रो कुरा हो । केहिदिन अगाडि टानका पूर्व अध्यक्षहरुलाई बोलाएर प्रस्ताव राखेको छु । अब सर्वसम्मत नेतृत्व चयन गर्नको लागि तपाईहरुले भूमिका खेलि दिनु पर्यो । सहयोग गरिदिनु पर्यो, चुनावमा नजाऔं, जाने भए समुह बनाएर गए भयो । राजनीतिक आस्था र विचारका भरमा अगाडि नवढौं । यसले बढी तिक्तता ल्यायो । व्यवसायिक मान्छेले आउन सकेनन् भन्ने पनि साथीहरुलाई चिन्ता भएको हुनाले मैले आब्हान गरेको छु । अहिले पनि म वार्ता सम्वादमा छु । हेरौं यो वार्ता सम्वादले कतिको सार्थकता पाउँछ । मेरो प्रयास चाहिँ सर्वसम्मत व्यवसायिक नेतृत्व ल्याउनका लागि नै हुन्छ । हामी नेपाल भ्रमण वर्ष २०२० मा छौं । पर्यटन व्यवसायीहरु भ्रमण वर्षको कार्यान्वयन उप–समितिप्रति असन्तुष्ट छन् भन्ने कुरा सुनिन्छ । तपाईँहरु असन्तुष्ट किन ? त्यस्तो छैन । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरियो त्यसमा हामी सबै उत्साहित थियौं । सही समयमा भयो भन्ने पनि लागि रहेको थियो । यसमा मूल समिति र अर्को कार्यक्रम कार्यान्वयन उपसमिति पनि छ । तिनीहरुमा पर्यटन व्यवसायीका निजी संस्थाहरु सामेल छन्, केहि छुटेका थिए उनीहरु पनि फेरि थपिएका छन् । एक समय उपसमितिले केहि गति नलिन सकेपनि पुनः नयाँ मन्त्री आउनु भएको छ । बैठक छलफलहरु भइरहेका छन् । जति बाहिर हल्ला भइरहेको छ, व्यवसायीहरु त्यस्तो असन्तुष्ट छैनन् । हामी सहयोग गर्न तयार छौं भनेर सबै पर्यटन व्यवसायीहरु भन्नुहुन्छ । नेपाल सरकारले २०२० मा २० लाख पर्यटकहरु भित्र्याउने भनेको छ, २० लाख कस्ता खालका पर्यटक हुन् । हामी गुणस्तरमा ध्यान दिन्छौं कि संख्यामा ? हामी यी दुवैमा ध्यान दिन्छौं । संख्याको मात्रै कुरा गरेर मात्रै हुँदैन । हामीले पर्यटक खोजेको हो । जसले खर्च गर्छ, रोजगारी सिर्जना गर्छ, जसले हामीबाट सेवा सुविधा लिन्छ त्यस्तो पर्यटक हामीले खोजेको हो । संख्याले मात्र हुँदैन । संख्याको साथ–साथै पर्यटकहरुको गुणस्तर कुरा पनि हो । हामीले १९९८ र २०११ मा पनि भ्रमण वर्ष मनायौं । तर, ती त्यति सोचेअनुरुप जस्ता भएनन् । अब नेपाल भ्रमण वर्ष २०२० सफल होला र ? ती भ्रमण वर्ष आशिंक सफल भए । त्यतिखेरको राजनीतिक अवस्था अस्थिर थियो । सरकार परिवर्तन हुन्थ्यो । राज्यले निजी क्षेत्रलाई हेर्ने नजर फरक थियो । त्यस्तो बेलामा आशिंक सफल भयो भने अहिले त्यो अवस्था बदलिएको छ । देश स्थायी ढंगले अगाडि बढिरहेको छ । राज्यले पनि पर्यटनलाई अलि महत्व दिएको जस्तो छ । त्यो बेलाको भन्दा अहिले सफल हुन्छ । मान्छेको भ्रम के छ भने भ्रमण वर्ष २०२० भन्ने वितिकै सबै यसले नै पुर्याई दिन्छ भन्ने छ । हामी २०१९ मा तयारी गछौं । २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं भने २०२१ मा ३० लाख पर्यटक भित्र्याउँछौं । तपाईँ एक जिम्मेवार व्यक्ति हो । अबको नेतृत्व चयन गर्ने तपाईँको पनि मुख्य भूमिका हुन्छ । टानमा अब कस्तो व्यक्ति आउँछ ? यसमा हामी सबै इमान्दार हुनुपर्छ । सबै राजनीतिक विचारसँग त आवद्ध हुन्छन् नै त्यस सँगसगै बढी अनुभवि व्यवसायी र व्यवसायिक धर्म, मुल्य मान्यतालाई आत्मसाथ गर्ने खालको नेतृत्व आउछ भन्नेमा म विश्वस्त छु ।

नाटाको मागः ‘भ्रमण वर्ष सफल पार्न विमानस्थल चौबिसै घण्टा खुलाऊ’

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ । नाटाले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो । भेटमा नाटाका अध्यक्ष सीएन पाण्डेले विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख थलो विमानस्थल भएकाले छिटो, छरितो, सरल र सहज हिसावले सुविधा दिनुपर्ने बताएका ुहन् । नाटाले पर्यटन क्षेत्रलाई सबल बनाउन बाराको निजगढ विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने तथा निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्ने मागसमेत गरेको छ । विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नतिसमेत गर्नुपर्ने बताएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ । भेटपछि सचिव अधिकारीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नाटाले राखेको माग सकारात्मक रहेको भन्दै उक्त मागलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । रासस